PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

श्रीलंकामा रहेको नेपाली टिमलाई ब्याटिङको चुनौती, प्रशिक्षक पुबुदु भन्छन् : हाम्रा खेलाडी जितका लागि भोका छन्



मुकुन्द घिमिरे

श्रीलंकामा रहेको नेपाली टिमलाई ब्याटिङको चुनौती, प्रशिक्षक पुबुदु भन्छन् : हाम्रा खेलाडी जितका लागि भोका छन्

काठमाडौं : यूएईमा हुने क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी लिग २) तयारीमा रहेको नेपाल यतिबेला श्रीलंकामा अभ्यास खेल खेलिरहेको छ। त्यहाँ फस्ट क्लास क्रिकेट खेल्ने श्रीलंकन नेभीसँगको दुवै अभ्यास खेलमा नेपालले जित त निकाल्यो तर ब्याटिङ भने निराशाजनक रह्यो।

नेपालले नेभीसँगको पहिलो खेलमा ३७.१ ओभरमा सबै विकेट गुमाउँदै २१४ रन बनाएको थियो, भलै बलिङमा राम्रो प्रदर्शन गर्दै १०३ रनमा नेभीलाई समेट्न सफल भयो। दोस्रो खेलमा पनि नेपालको ब्याटिङ उत्साहजनक देखिएन। ४३.४ ओभरमा १९७ रनमा समेटिएको नेपाली टोलीले यो खेलमा पनि बलिङमा राम्रो प्रदर्शन गर्दै जित निकाल्यो।

दुवै खेलमा नेपाल ब्याटिङमा दीपेन्द्रसिंह ऐरीमाथि निर्भर रह्यो। ऐरीले पहिलो खेलमा ४३ रन जोड्दा दोस्रो खेलमा ६५ रन बनाए। त्यसबाहेक मुख्य ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, रोहित कुमार पौडेल, विनोद भण्डारीले ब्याटिङमा भरपर्दो प्रदर्शन गरेनन्। त्यसो त अझै दुई अभ्यास खेल बाँकी नै छ।

विश्वकप छनोटको ढोकैमा पुगेर ओमानबाट फर्किएको नेपाली टोलीले एकदिवसीय फर्म्याटको सिरिजका लागि तयारी थालेको थियो। तर टी २० मा जसरी ब्याटिङमा सीमित खेलाडीमा निर्भर भइदिँदा हातमा आएको प्रतियोगिताबाट पछि हट्नुपर्‍यो। यो समस्याले अझै सहजै छाड्ने अवस्था देखिँदैन।

'भर्खरै टी २० खेलेर आयौं। अब फर्म्याट नयाँ भए पनि टीम एकदमै राम्रै बनेको छ, पहिला जो टिममा हुनुहुन्थेन वहाँहरु पनि हुनुहुन्छ,' श्रीलंका जानुअघि नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले भनेका थिए, 'राम्रो तयारी गरेका छौं। श्रीलंकामा चार खेल खेल्नेछौं। मुख्य खेल खेल्नुअघि त्यहाँको खेलले राम्रो एक्सपोजर दिनेछ।'

सन्दीप ओमनमा यूएईसँगको हारलाई 'एउटा खराब दिन' का रुपमा लिन्छन्। प्रशिक्षक पुबुदु दासानायके पनि टी २० बाट एकैपटक एकदिवसीयमा जान सहज नहुने बताउँछन्।

'धेरै टी २० खेलबाट एकदिवसीयमा फर्किएका छौं। श्रीलंकामा अभ्यास खेल खेलाउनुको तात्पर्य खेलाडीलाई एकदिवसीय फर्म्याटमा फर्काउने हो। वर्ल्ड क्रिकेट लिग भनेको आफैमा लामो प्रक्रिया हो,' प्रशिक्षक पुबुदु भन्छन्, 'हामीलाई एकदिवसीय स्टाटस जोगाउनुछ। श्रीलंकामा हुने अभ्यास टी २० बाट एकदिवसीयमा जाने प्रयास हो। तर यो केही चुनौतीपूर्ण काम हो।'

विश्वकपको लक्ष्य बनाएको टोलीले स्थानीय टोलीसँग खेल्दा माथिल्लो स्तरको एक्सपोजर पाऊला भने प्रश्न नेपाल क्रिकेट संघ (क्यान) माथि उठ्ने गरेका छन्। यद्यपि पुबुदु भने नेपालले श्रीलंकामा उपलब्ध राम्रो टीमसँग खेल्ने बताउँछन्।

'श्रीलंका राष्ट्रिय टोलीबाट खेलेका केही खेलाडी पनि त्यहाँ हुन सक्छन्। श्रीलंकामा फस्ट क्लास क्रिकेटको माहोल सुरु भएको छ। राष्ट्रिय टोली भारतमा रहँदा अर्को महिना स्थानीय प्रतियोगिता सुरु हुँदैछ। ७० देखि ८० क्रिकेटरहरु बबलमा छन्,' उनी भन्छन्, 'त्यसैले श्रीलंकामा अहिले उपलब्ध हुन सक्ने राम्रो टिम भनेको फस्ट क्लास टिम नै हो। ओमान टुरमा कन्सल्टेन्ट कोच रहिसकेका धम्मिका प्रसादले यो खेलका लागि सहजीकरण गरेका थिए। मलाई ती टिमका खेलाडीको नाम त अहिले थाहा छैन तर त्यहाँ उत्कृष्ट खेलाडी छन्।'

+++

श्रीलंका जानुअघि कप्तान सन्दीपको विश्वास थियो, टिम सन्तुलित भएकाले नतिजा आफ्नो पक्षमा हुनेछ। तर अभ्यास खेल हेर्दा संघर्ष फेरि पनि ब्याटिङमै आएर रोकिएको देखिन्छ।

'टिम सन्तुलित छ। सोम दाइ र करण दाइ दुवै फिर्ता आउनुभएको छ। विक्रम सोब दाइको उपस्थितिले थप ऊर्जा दिनेछ,' उनले भनेका थिए, 'ब्याटिङको कुरा गर्दा रोहित टिममा आएका छन्। भीम जस्ता युवा खेलाडी पनि छन्। स्पिनमा घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका सागर ढकाल छन्। म पनि हुनेछु। स्पिन राम्रो छ।'

ओमानको प्रतियोगितामा ब्याटिङमा संघर्ष गर्नुपरे पनि अहिले मिडल अर्डर राम्रो भएको उनको तर्क थियो।

'त्यो हाम्रो लागि एउटा खराब प्रतियोगिता थियो। ब्याटिङमा संघर्ष गरेका थियौं। एकदिवसीयमा मिडल अर्डरमा बलियो लाइनअप पनि छ। ब्याटर जुन सेपमा हुनुहुन्छ, विश्वस्त छु कि सबैले राम्रो गर्नुहुनेछ,' उनले भने, 'टी २० बाट एकदिवसीयमा जाँदा अलिकति चुनौती त भइहाल्छ। भोलि टेस्ट क्रिकेट खेल्नुपर्ने अवस्था आयो भने पनि हामी चुनौती लिन तयार हुनुपर्छ। म धेरै ठूलो चुनौती मान्दिन किनभने हामीले एकदिसवसीय र टी २० खेल्दै आएको धेरै वर्ष भइसक्यो।'

औसतबाट माथि उठ्ने अवसर
क्रिकेट विश्वकप लिग २ मा ७ वटा टिम सहभागी छन्। जसमा २५ खेलबाट ३४ अंक जोडेको ओमान शीर्षस्थानमा छ भने १२ खेलबाट १६ अंक जोडेको स्कटल्याण्ड दोस्रोमा छ। १२ खेलबाट १४ अंक जोडेको यूएई तेस्रो, १६ खेलबाट १४ अंक जोडेको यूएसए चौथो, ११ खेलबाट १२ अंक जोडेको नामिबिया पाँचौ, ८ खेलबाट ८ अंक जोडेको नेपाल छैटौं र १२ खेलमा जित निकाल्न नसकेको पपुवा न्युगिनी अंकविहीन रहँदै तालिकाको पुछारमा छ।

नेपालले धेरै खेल नखेलेका कारण अंकतालिकामा पछाडि देखिए पनि प्रदर्शन औसत छ। अर्थात्, ८ खेल खेल्दा ४ जित र ४ वटामा हार। नेपालले ओमानमाथि एक जित र तीन पराजय बेहोर्दा अमेरिकासँग तीन जित र एक हार बेहोरेको छ।

विश्वकप लिग २ को शीर्ष तीनमा रहन सके विश्वकप छनोट २०२३ मा स्थान सुरक्षित हुनेछ। त्यसपछिका चार टोलीका लागि पनि समीकरण भने रहनेछ।

विश्वकपको छनोट खेलमा नेपालले १६ मार्चमा पपुवा न्युगिनी, १८ मार्चमा यूएई, २१ मार्चमा यूएई र २२ मार्चमा पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्नेछ।

नेपालका लागि यूएई कठिन प्रतिस्पर्धी हुन सक्ने आकलन छ नेपाली टोलीका प्रशिक्षक पुबुदुको। 'अहिले यूएई एसोसिएटमा एक उत्कृष्ट टोली हो। हामी उनीहरुकै मैदानमा गएर खेल्दै छौं। हामीसँग युवा र फिट खेलाडी छन्, जो जितका लागि भोका छन्,' उनी भन्छन्, 'एकदिवसीय प्रदर्शनका आधारमा पनि नेपाल आईसीसीको पूर्ण सदस्य बनोस् भन्ने चाहन्छु, म टेस्ट क्रिकेटको कुरा गरिरहेको छैन।'

नेपाली टिमको सम्भावना राम्रो भए पनि त्यसको प्रस्फुटन गर्न नसक्दा कमजोरी रहेको उनले बताए। 'विश्वकपको क्वालिफायर्ससम्म जानु र एउटा खेलमा पराजय बेहोर्दै बाहिरिनुपर्दाको अवस्था पीडादायी रह्यो। नेपालमा क्रिकेटको अवस्था र यसको पपुलरिटी हेर्दा हामी पूर्ण सदस्य हुन योग्य छौं। हामीले आईसीसी र विश्वसामु प्रमाणित गर्नुपर्छ। यसका लागि टिमको प्रदर्शन राम्रो चाहिन्छ,' उनले भने।

नेपाली टोलीका कप्तान सन्दीप यूएई एसोसिएट क्रिकेटको बलियोमध्येको टिम रहे पनि पीएनजीलाई कमजोर नमान्ने बताए। 'यो प्रतियोगितामा आएपछि सबै टिम बराबर छन्। पीएनजीले यो साइकलमा अहिलेसम्म खेल नजिते पनि हल्का रुपमा लिन सक्ने अवस्था छैन,' उनले भने, 'यो हामी सबैका लागि एउटा राम्रो चुनौती हुनेछ। तर अगाडिको खेलमा पहिलो बलबाटै सुरु गर्नुपर्नेछ। पहिलाको खेलमा सहजै पीएनजीलाई हराएका छौं। त्यसैले अहिले पनि हराउँछौं भन्ने अवस्था रहँदैन।'

कोभिड महामारीका कारण क्रिकेटमा सबैभन्दा बढी प्रभावित हुने मध्येमा लिग २ को साइकल पनि एक हो। निर्धारित समयभित्र सबै खेल सकिनेमा सन्दीप विश्वस्त छैनन्।

'ओडीआई साइकलमा सबै खेल महत्वपूर्ण छन्। हामी सबै ३६ खेल खेल्न पाउँछौ भन्नेमा समेत विश्वस्त छैनौं। यी खेल निर्धारित समयमा सकिन्छन् कि सकिन्नन्,' उनले भने।

नेपाली टोली
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell