PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

निर्वाचनमा गठबन्धनसँग तालमेल गर्ने देउवाको संकेत : सत्तारुढ दलका नेतालाई नचिढ्याउनु, एक्लै चुनाव लड्दा के भएको थियो, थाहै होला 



पहिलोपोस्ट

निर्वाचनमा गठबन्धनसँग तालमेल गर्ने देउवाको संकेत : सत्तारुढ दलका नेतालाई नचिढ्याउनु, एक्लै चुनाव लड्दा के भएको थियो, थाहै होला 
फाइल फोटो।

वीरगंज : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी स्थानीय निर्वाचनमा गठबन्धन दलसँग तालमेल गर्ने संकेत गरेका छन्। आज पर्सा कांग्रेसको नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई प्रमाणपत्र वितरणपछि वीरगंजमा सम्बोधन गर्दै देउवाले निर्वाचनमा तालमेलको संकेत गरेका हुन्।

आफू गठबन्धनकै कारण प्रधानमन्त्री बनेको उदाहरण पटकपटक दोहोर्‍याँदै देउवाले गठबन्धन दलका नेताहरुलाई अनावश्यक रुपमा नचिढ्याउन समेत आग्रह गरे।

'म प्रधानमन्त्री हुने नै थिइन यसपाली। गठबन्धनका साथीहरुले माधव नेपालजी भयो, मधेशका साथीहरुले सहयोग गरेर प्रधानमन्त्री भएको हुँ,' देउवाले भने।

प्रधानमन्त्री देउवाले आफ्नो सरकार आएपछि डरत्रास हटेको तर्क समेत प्रस्तुत गरे।

'अहिले परिस्थिति बदलिएको छ। डर त्रास हटेको छ,' देउवाले थपे, 'कांग्रेसको उद्देश्य नै नेपालमा प्रजातन्त्र स्थायी गराउने कुरा हो। सम्पूर्ण मौलिक अधिकारलाई ग्यारेन्टी गर्ने सिस्टम बनाउने हो। यसैका लागि मलाई गठबन्धनले प्रधानमन्त्री बनाएको हो।'

आउँदो निर्वाचनका लागि कसरी जाने भन्नेबारेमा सबै पार्टीमा छलफल हुने उल्लेख गर्दै सबैको सहयोग लिन जरुरी हुने भनाई उनले राखे।

'गठबन्धनका साथीहरुको सहयोगमा म प्रधानमन्त्री भएको हुँ। गठबन्धनसित आउँदो चुनाव हुँदा हाम्रोभित्र छलफल हुन्छ। सबै पार्टीभित्र छलफल हुन्छ,' देउवाले भने, 'हामीले सबैको सहयोग लिएर जानुपर्छ।'

अघिल्लो निर्वाचनमा कांग्रेस नराम्ररी पराजित बनेको सुनाउँदै देउवाले अब पहिलो पार्टी बनाउन नेताहरु लाग्नुपर्ने निर्देशनसमेत दिए।

'तपाईँहरुलाई थाह छ, एक्लै चुनाव लड्दा हाम्रो अवस्था के थियो?  हारेका थियौं। अहिले गठबन्धनको सरकार भएको कारणले स्थानीय, प्रदेश र केन्द्रमा पनि हामी पहिलो पार्टी बनाउन लाग्नुपर्छ,' देउवाले भने।

सभापति देउवाले गठबन्धन दलका नेताहरुलाई नचिढ्याउनसमेत नेताहरुलाई आग्रह गरे।

'गठबन्धनका साथीहरुको सहयोगले प्रधानमन्त्री बेनकोले उहाँहरुको सहयोगले पनि प्रजातन्त्रका लागि पनि गठबन्धनका साथीहरुलाई अननेसेसरी चिढ्याउने काम गर्नुहुन्न। अर्कोतिर विपक्षी पार्टी एमाले ओलीको पार्टी छ। सशक्तै छ। उनीहरुलाई थाहै छ हाम्रो पार्टी पनि सशक्त छ,' देउवाले भने।

स्थानीय निर्वाचन नजिकिएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कांग्रेस जित्ने गरी भित्री तयारी गर्नसमेत आग्रह गरे।

'स्थानीय चुनाव आइसकेको छ। कहाँकहाँ जित्न सकिन्छ छलफल गरौं। बाहिर बोलेर काम छैन,' देउवाले भने।

देउवाले सबै पार्टीको सहयोगले एमसीसी पास भएको उल्लेख गर्दै थपे, 'यो राष्ट्रिय आवश्यकता हो। सबै देशको सहयोग लिनुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell