
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्यु पश्चात अंगदान गर्न आग्रह गरेका छन्। बिहीवार विश्व मिर्गौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी कार्यक्रममा सहभागी भएका खतिवडाले मृत्युपश्चातको अंग दान गरेमा मिर्गौला पीडितहरुले पनि धेरै सुविधा पाउने बताएका हुन्।
‘हामीले मृत्युपश्चातको अंग दान पनि गर्न सक्छौँ। मृत्युपश्चातको अंग दान गर्न सक्यौँ भने अझ मिर्गौला पीडितहरुले धेरै सुविधा पाउन सक्नुहुन्छ,’ उनले भने।
उनले नाता पर्नेजति सबैले मिर्गौला दान गर्न सक्ने उनले बताए।
‘अहिलेसम्म हामीले नेपाल सरकारको तर्फबाट मिर्गौला खोजेर गरिदिने भन्ने परिस्थितिमा हामी छैनौँ। पहिला कानून साँघुरो थियो, फेरी यसलाई दुरुपयोग पनि भएको हुनाले हामीले कानून बनाउनु परेको हो। अहिले दान गर्न पाउने सर्कललाई हामीले ठुलो बनाएका छौँ। नाता पर्नेजति सबैले पाउँछ,’ उनले भने।
मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरुले चिन्तित भएर आफुलाई कमजोर बनाउनु नहुने उनको भनाई छ।
‘मिर्गौला दान गर्दा पनि समस्या हुँदैन। मिर्गौला फेरेको मान्छे पनि स्वस्थ हुन्छन्। त्यसकारण हामी मनबाट, अनेक हिसाबबाट आत्तिनु पर्दैन,’ उनले भने।