
काठमाडौं : सरकारले नेपाल आउने विदेशी नागरिकको लागि दुई वर्षअघि लागू गरेको अध्यागमन सम्बन्धी मापदण्ड खारेज गरेको छ। त्योसँगै नयाँ मापदण्ड लागू भएको अध्यागमन विभागले जानकारी दिएको छ।
फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार कोभिड-१९ नयाँ भेरियन्टको संक्रमण रोकथामका लागि हवाइ मार्ग तथा स्थल मार्ग भई नेपाल प्रवेश गर्ने यात्रुहरुको लागि बनेको यसअघिको मापदण्ड राखेज गरिएको छ।
अब विदेशबाट आउने नागरिकले कोभिड-१९ विरुद्धको खोप कार्डको प्रमाणपत्र वा पीसीआर परीक्षणको रिपोर्ट मात्र देखाए पनि प्रवेश दिइनेछ। यसअघि विदेशबाट आउने नागरिकलाई क्वारेन्टाइनको व्यवस्था समेत गरिएको थियो।
अध्यागमनको नयाँ व्यवस्था
१. हवाइ मार्ग वा स्थल मार्ग भई विदेशबाट नेपाल प्रवेश गर्ने यात्रीले कोभिड-१९ विरुद्धको पूर्ण खोप लगाएको प्रमाणपत्र पेस गर्नुपर्नेछ। त्यस्तो प्रमाणपत्र पेस गर्न नसक्ने यात्रुले यात्रा सुरु गरेको ७२ घण्टाभित्रको कोभिड-१९ परीक्षणको नेगेटिभ रिपोर्ट भएको प्रमाणपत्र पेस गर्नुपर्नेछ।
२. नेपालबाट हवाइ मार्ग भई अन्य मुलुक जाने यात्रुहरुको लागि गन्तव्य मुलुकको कोभिड-१९ सम्बन्धी स्वास्थ्य प्रोटोकल सम्बन्धमा सम्बन्धित एयरलाइन्सले आफ्ना यात्रुहरुलाई जानकारी गराउनुपर्ने छ। नेपालबाट प्रस्थान गर्ने यात्रुहरुले पेश गर्नुपर्ने स्वास्थ्य सम्बन्धी कागजातहरु गन्तव्य मुलुकको स्वास्थ्य सम्बन्धी मापदण्ड अनुसार हुने गरी सम्बन्धित एयरलाइन्सले तोके बमोजिम हुनेछ।
३. कोभिड-१९ सम्बन्धमा यसअघि जारी भएका विभागका सूचनाहरु खारेज गरिएको छ।