PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कांग्रेस सिन्धुपाल्चोकको सभापति को बन्ला : वंशलाल, डा प्रेमध्वज कि जंगबहादुर?



पहिलोपोस्ट

कांग्रेस सिन्धुपाल्चोकको सभापति को बन्ला : वंशलाल, डा प्रेमध्वज कि जंगबहादुर?

  • फूलमान तामाङ 

सिन्धुपाल्चोक: सिन्धुपाल्चोक कांग्रेसलाई यतिबेला अधिवेशनको रन्को लागेको छ। जिल्ला नेतृत्व हत्याउने दाउमा लागेका छन् वंशलाल तामाङ, डा प्रेमध्वज लामा र जंगबहादुर लामा। सिन्धु कांग्रेसवृत्तमा चर्चा छ - यो अधिवेशन अमेरिका छाडी आएका वंशलाल र त्रिभुवन विश्वविद्यालय छाडी आएका प्रेमध्वजबिच हुन लागेको हो।

यद्यपि, सभापतिमा जंगबहादुर लामाको उम्मेद्वारी घोषणाले अधिवेशन थप रोचक हुने देखिएको छ।

जिल्ला सदरमुकाम चौतारास्थित कांग्रेस पार्टी कार्यालयमा शुक्रवार मनोनयन दर्ता हुने र शनिवार बिहान ८ बजेबाट मतदान हुने निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरिसकेको छ।

को बन्ला कांग्रेस जिल्ला सभापति ?

कांग्रेस सिन्धुपाल्चोक यसअघि संस्थापनइतरको पकडको भएको जिल्ला हो। हालका जिल्ला सभापति विकास लामा डा शेखर कोइराला टिमबाट केन्द्रको सहमहामन्त्रीमा भिडिसकेका छन्।

तर, १४ औं महाधिवेशनमा निर्वाचित क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संख्या हेर्ने हो भने संस्थापन पक्षले जिल्लामा पकड जमायो। केन्द्रीय सदस्यसमेत रहेका मोहनबहादुर बस्नेत हाबी हुँदा पूर्व सभापति भूपेन्द्र थापादेखि नेविसंघका बहालवाला महामन्त्रीसम्म क्षेत्रीय प्रतिनिधिमा पराजित भए।

महाधिवेशन प्रतिनिधिमा बस्नेतले पकड जमाएपछि जिल्लाका कांग्रेस नेताहरुको आँकलन थियो – अबको अधिवेशनमा बस्नेतले लौरो उभ्याए पनि संस्थापन पक्षले जित्छ। तर पछिल्लो राजनीतिक ‘सिनारियो’ बदलिएको छ।

केन्द्रीय सदस्य बस्नेत खुट्टामा समस्या देखिएसँगै अधिवेशनमा त्यति सक्रिय देखिदैनन्। लामो समयदेखि बस्नेतकै लाइनमा राजनीति गरेका डा प्रेमध्वजले त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक पदबाट राजीनामा दिएर नेतृत्व दाबीका लागि होमिएका छन्। आफू बस्नेतकै प्रेरणाले राजनीतिमा लागेको भन्दै प्रेमध्वजले प्रचार थालेको लामो समय भयो। तर पनि बस्नेतले अहिलेसम्म उनको आधिकारिक उम्मेद्वार भनेर बोलिदिएका छैनन्। बरु बस्नेतले आफू निकट नेता जंगबहादुरलाई सभापति पदमा अघि बढाएका छन्। यतिमात्र हैन बस्नेतले आफू पक्षका नेताहरु पासाङ दोङ र टंक कार्कीलाई जंगबहादुरकै टिममा राखेका छन्। यता प्रेमध्वजले भने अहिलेसम्म आफ्नो टिम बनाएका छैनन्।

वंशलालको सम्भावना बलियो बन्दै

संस्थापनइतरका जिल्ला सभापतिका एक्ला उम्मेद्वार हुन् इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ। गाउँपालिका महासंघका महासचिवसमेत रहेका तामाङले संस्थापनइतरका नेताहरुलाई मनाउँदै एकल उम्मेद्वार बन्न सफल भएका हुन्। टिममा एकल उम्मेद्वार भएसँगै संस्थापनइतरले काठमाडौंको स्मार्ट प्यालेसमा अधिवेशन लक्षित कार्यक्रम राख्यो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री गगन थापाले वंशलाललाई आडभरोसायुक्त अभिव्यक्ति दिए। 'वंशलाल दाइ सिन्धुपाल्चोकमा सान्दारसँग जित्नुहुन्छ,  उहाँले मात्र जिल्ला हाँक्न सक्नुहुन्छ,' थापाले भनेका थिए, 'वंशलाल दाइको विजयले समग्र सिन्धुपाल्चोकलाई स्थानीय चुनावमा कांग्रेसलाई विजय गराउन सफल हुनेछ। वंशलाल तामाङको नेतृत्व विजय भएको खण्डमा जिल्ला हाँक्न सक्छ। स्थानीय चुनावमा कांग्रेस पहिलो हुन्छ।' गगनको साथ पाएसँगै वंशलाल अहिले टिमसहित चुनावी मैदानमा छन्। प्रतिनिधि सभा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति आइतमान तामाङको साथ पाएका उनलाई जिल्ला सभापति विकास लामा र जिल्ला सचिव बिलबहादुर तामाङको पनि साथ रहेको बताइएको छ।

उनको टिममा दुई जिल्ला उपसभापतिका लागि तरुण दलका अध्यक्ष दोर्जे लामा र सोमबहादुर तामाङ, सचिवमा सीके चौलागाई र अनुप न्यौपाने प्यानलसहित चुनावी मैदानमा उत्रने देखिन्छ। महाधिवेशन प्रतिनिधिको निर्वाचनमा सबैलाई रुष्ट पारेका वंशलाल जिल्ला अधिवेशन नजिकिँदा पनि सबैलाई मिलाएर आफ्नो पक्षमा ल्याउन सफल देखिन्छन्।

अधिवेशनलाई प्रभाव पार्ने अर्को ‘फ्याक्टर’

जिल्ला अधिवेशनलाई प्रभाव पार्ने अर्को ‘फ्याक्टर’ हो केन्द्रीय सदस्य मोहन बस्नेत। जिल्ला सभापतिसमेत बनिसकेका बस्नेतले जिल्लाको क्षेत्र नम्बर १ मा एकछत्र राज गर्दै आएका छन्। बस्नेत आफ्नो क्षेत्रमा हतपती अरुलाई नेतृत्व हस्तान्तरण गर्न नरुचाउने नेता भएको कांग्रेसका एक नेताले आरोप लगाए। 'हरिशरण श्रेष्ठ यसपटक सभापति बन्नुहुन्थ्यो। तर उहाँलाई वाग्मती प्रदेश कमिटीको सहमहामन्त्रीमा उठाइदिए,' नाम उल्लेख नगर्ने शर्तमा ती नेताले भने, 'बस्नेत आफ्नो एकछत्र राज चाहनुहुन्छ। नेतृत्वमा अरु उदाउने डर उहाँमा देखिन्छ।'

बस्नेतले आफ्नो क्षेत्रका नेताहरु भुपेन्द्र थापा र भोला बोहरालाई पनि राजनीतिक तिकडम साँधेर ‘कर्नर’मा पुर्‍याइदिएको अर्का नेता बताउँछन्। 'भुपेन्द्र थापा र भोला बोहरा कर्नरमा पुगिसके। त्यसैले पनि मोहन दाइको छत्रछायामा क्षेत्र नम्बर एकबाट नेता बन्ने आशा राख्नु बेकार हो,' ती नेताले भने।

क्षेत्र नम्बर २ बाट विकास लामासहित, वंशलाल, राजेन्द्रमान ताल्चाभँडेल, तारानाथ दाहाललगायत नेताहरु जन्मिदाँ बस्नेतको क्षेत्रमा नेतृत्व विकास नहुनु बिडम्बना भएको ती नेताको गुनासो रह्यो। यसले पनि वंशलालले सजिलै सभापति हत्याउन सक्ने दाबी ती नेताको रह्यो।

के होला परिणाम?

केन्द्रीय महाधिवेशनपछि भएका जिल्लाहरुको अधिवेशनमा अधिकांश स्थानमा संस्थापन पक्षको चर्को लडाई भएको देखिन्छ। जसले गर्दा डा शेखर कोइराला समूहबाट सभापति पद जित्दै आएको छ। सिन्धुपाल्चोकमा पनि सोही प्रकरण दोहोरिने देखिन्छ।

खुल्ला रुपमा आफूलाई बस्नेतले नसघाए पनि त्रिविको जागिर छाडेर डा प्रेमध्वज चुनावी अभियानमा होमिसकेका छन्। जिल्लामा राम्रो राजनीतिक प्रभाव बोकेका उनले आफ्नो पक्षमा राम्रै मत बटुल्ने आँकलन गरिएको छ। यसैगरी सार्वजनिक रुपमा बस्नेतले नखुलाए पनि उनी पक्षका उम्मेद्वार जंगबहादुरले पनि राम्रै मत पाउने बताइएको छ। यता संस्थापनइतरबाट प्यानलसहित सभापतिमा एकल दाबेदार रहेका वंशलाल तामाङले पनि राम्रो मत पाउने देखिन्छ।

महाधिवेशनपछि भएका जिल्ला अधिवेशनमा जिल्ला सभापतिको पदको निर्वाचन दोस्रो चरणसम्म धकेलिएको प्रशस्तै उदाहरण छन्। सिन्धुपाल्चोकमा पनि संस्थापन पक्षमा मत बाँडिएमा निर्वाचन दोस्रो चरणमा पुग्ने देखिन्छ। यद्यपि तीनै पक्षकले पहिलो चरणमै ५१ प्रतिशत मत पुग्ने दाबी गरिरहेको छ। दोस्रो चरणमा पुग्दा संस्थापन पक्ष मिल्न सक्ने भन्दै संस्थापनइतर पहिलो चरणमै चुनाव जित्ने दाउमा लागेको बताइएको छ। भित्री सहमतिहरु सतहमा नआउँदासम्म यसबारे भने आँकलन गर्न अप्ठेरो नै हुने वंशलाल पक्षका एक नेताले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell