PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

आजदेखि कर्णाली उत्सव, यस्ता छन् १२ सत्रका वक्ता र बहसका विषय



पी बी खड्का

आजदेखि कर्णाली उत्सव, यस्ता छन् १२ सत्रका वक्ता र बहसका विषय

सुर्खेत : कर्णाली उत्सवको तेस्रो संस्करण आजदेखि सुरु हुँदै छ। ‘कुडा कर्नालीका’ मूल नारासहित सञ्चालन हुने तीनदिने उत्सवको उद्घाटन बिहान ११ बजे हुनेछ।

उत्सवमा १२ वटा सत्र सञ्चालन हुने आयोजक ऋति फाउण्डेसनका अध्यक्ष कमलराज लम्सालले जानकारी दिए। उत्सवको हरेक सत्रमा कर्णालीको विषयवस्तु समेटिने उनको भनाइ छ।

उत्सवका सीईओ दिनेश गौतमका अनुसार उत्सवमा कर्णालीको पहिचान झल्काउने विषयवस्तु समेटिएका छन्। लुकेका, चर्चामा आएका र यसअघि उत्सवमा भाग नलिएका वक्ताहरुलाई सहभागी गराउने प्रयास गरिएको उनले बताए।

उद्घाटनसत्रसँगै खस भाषाको लहरो शीर्षकमा प्रा.दिनेशराज पन्तबाट विद्वत् प्रवचन हुनेछ। पहिलो सत्रमा ‘कर्णाली भेरी सुसेल्दो छ’ शीर्षकमा कलाकारहरु गंगा केसी, प्रेमदेव गिरी, नन्दकृष्ण जोशी, विजयाशर्माबीच नवराज लम्सालले बहस गर्नेछन्। त्यसलगत्तै ‘पैकलो’ मा गोरख विष्टले अनुभव साट्नेछन्। 

त्यसैगरी दोस्रो सत्रमा व्यापार, व्यवसायसँग सम्बन्धित ‘बजार विकास हजार निकास’ शीर्षकमा रेवती गुरुङ, बसन्त अधिकारी, जेबी चौधरीसँग सुरथ गिरीले बहस गर्नेछन्। 

कविता साँझमा नवराज लम्साल, विमला तुम्खेवालगायतका कविले रचना प्रस्तुत गर्नेछन्। 

दोस्रो दिन खोज अनुसन्धान र आविष्कारका विषयमा केन्द्रित बहस हुनेछ। ‘आरन, अन्वेषण र आविष्कार’ विषयमा महावीर पुन, सहवीर कामी, डीबी नेपाली, कविता पाण्डे वक्ताका रुपमा रहनेछन् भने विष्णु विवेकले सहजीकरण गर्नेछन्। ‘लगानीमा लगाम’ शीर्षकमा चन्द्र ढकाल, निरक केसी, तारा शाहसँग गणेश कार्कीले बहस चलाउनेछन्। 

कर्णालीको विद्युतीकरण र विद्युतको अवस्थाबारे अर्को सत्र चल्नेछ। जसमा गजेन्द्रबहादुर महत, कुलमान घिसिङ, निशा रानाले ‘झरो–उजेलोको खरो’ शीर्षकमा बहस गर्नेछन्। बहसका सञ्चालक महेश नेपाली छन्। 

‘कर्णाली भेरी तीरैतीर भविष्यको पीर’ मा डा. सुदीप ठकुरी, डा. राधा वाग्ले,  कृष्ण रोकाया, युवराज कार्कीसँग इन्द्र बराल रहनेछन्।  ‘रैबार र रैला’ शीर्षकमा  डा. बैकुण्ठ अर्याल, युवराज घिमिरे, टीकाराम यात्री, दीपा कोइरालाको बहसमा बिनु सुवदी रहनेछिन्। 

सोही दिन साँज गजल महफिल हुनेछ। गजलकार प्रदिप रोदन, महेन्द्र चन्दमहासागर, नवराजआचार्य, नमिता बराल, लक्ष्मण संगम, माया निर्भीक, ऋषिशर्मा सुदामा सहभागी रहनेछन्। 

अन्तिम दिन ‘शून्य समय’ शीर्षकमा देवी वली, सीताकुमारी नेपाली र प्रदेसभा सचिव जीवराज बुढाथोकीको बहसमा रुपमानारायण अधिकारीले सहजीकरण गर्नेछन्।

राजनीतिक दलहरुले अँगालेको सिद्धान्त र औचित्यका विषय खोतल्न ‘वादविवाद र संवाद’ शीर्षकको अर्को सत्र हुने। जसमा कांग्रेस नेता गगन थापा र एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीबीच मनऋषि धितालले बहस गराउनेछन्। 

‘विकासको बाटो’मा विन्दमान विष्ट र मधु मरासिनीले बहस गर्नेछन्। ‘उमेरको उमंग’ शीर्षकमा सुनिता बराल, पञ्चा सिंह, आरती लामा, पुनम भट्ट भट्टराईबीच प्रकृति बस्नेत रहनेछिन्। 

यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले ‘कर्णाली चिन्तन’ शीर्षकमा आफ्नो प्रस्तुति दिनेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell