काठमाडौं : विदेशबाट फर्किँदा सरकारले तोकेको परिमाणमा राजस्व तिरेर सुनका गहना तथा काँचो सुन ल्याउन पाइन्छ। हरेक दिन विदेशबाट फर्किने नेपालीको संख्या सरदर ४ हजार हुन्छ। यसरी आउनेमध्ये केहीले सुनचाहिँ अनिवार्यजस्तै गरी ल्याउँछन्।
गएको आइतबार विदेशबाट फर्किएका नेपालीहरूले १ किलो ६ सय ८६ ग्राम सुन भित्र्याए, कानुनी बाटोबाटै। सरकारले तोकेको राजस्व तिरेरै उनीहरुले सुन ल्याएका हुन्। उक्त परिमाणमा भित्रिएको सुनबाहेक ५० ग्रामभन्दा कम तौलका गहना लगाउनेको तथ्यांक यसमा जोडिएको छैन।
गएको आइतबार नै सुन आयातका लागि मुलुकमा मौज्दात विदेशी मुद्रा बाहिरिएपछि राष्ट्र बैङ्कले सुन आयात गर्ने कोटा घटाएको हो। आइतबार सूचना जारी गर्दै राष्ट्र बैंकले दैनिक कोटा आधाले घटाएको जानकारी दियो। यसअघि व्यवसायीले दैनिक २० किलो सुन ल्याउन पाउँथे। आइतबारबाट भने १० किलोमात्र आयात गर्न कोटा तोकिएको हो।
२०७७ चैतसम्म पनि सुन १० किलोमात्रै ल्याउन पाइन्थ्यो। त्यही दिनबाट २० किलोसम्म ल्याउन पाउने व्यवस्था गरियो। जुन दिन राष्ट्र बैंकको निर्देशनअनुसार कोटा घट्यो त्यसैदिन करको दायराभित्र रहेर एक किलोभन्दा धेरै सुन भित्रियो।
सोमबार त्यसरी नै विदेशबाट आउने सुनको परिमाण बढ्यो। नेपाल आएकाहरुले झन्डै दुई किलो सुन भित्र्याएको विमानस्थल भन्सारको तथ्याङ्कले देखाउँछ। सोमबार काँचो सुन र गहना गरेर १ किलो ९ सय २२ ग्राम सुन विमानस्थलबाट भित्रिएको छ।
भन्सार ऐनअनुसार नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोगका लागि ५० ग्रामसम्म सुनका गहना ल्याउन पाउँछन्। यस्तै, उक्त ऐन अनुसार ५० ग्राम भन्दा थप २ सय ग्रामसम्मको सुनका गहनालाई भन्सार शुल्क बुझाएर जाँचपास गर्न सकिने व्यवस्था छ। त्यसभन्दा धेरै ल्याएमा भने जफत हुने व्यवस्था हुन्छ।
व्यक्तिगत प्रयोगका गहनाबाहेक अन्य जुनसुकै स्वरूपको सुन अधिकतम १ सय ग्रामसम्मलाई भन्सार महसुल लिई जाँच पास गर्न सकिने व्यवस्था छ। त्यसभन्दा धेरै ल्याएमा बढी परिमाणजति जफत हुन्छ।
यही नियमलाई टेकेर अहिले नेपालमा औसत दुई किलोभन्दा धेरै सुन भित्रिने गरेको छ। मङ्गलबार पनि करिब २ किलो सुन नै आएको देखिन्छ। १ किलो ८ सय ४० ग्राम सुन राजस्व तिरेर नेपाल भित्रिएको छ त्यस दिन।
सरकारले विमानस्थलको बाटो प्रयोग गरेर हुने सुनको तस्करी नियन्त्रण गरेपछि तस्करहरूले वैदेशिक रोजगारमा गएका युवालाई प्रयोग गरेर दुईखाले बाटोबाट सुन भित्र्याइरहेका छन्। एकथरीले राजश्व तिरेर सरकारी कोटाको अधिकतम मापदण्डअनुसार ल्याइरहेका छन्। अर्को भने, तस्करीका वैकल्पिक उपायबाट भित्र्याइरहेका छन्।
नेपालमा अवैध र वैधबाटो भित्रने सुनको मात्र बढेको आँकलन गर्न सकिन्छ। राजस्व तिरेर ल्याइएको सुन तस्करको भरियामार्फत आएको त होइन? त्यही बुझ्न केही कडाइ गरिएपछि यात्रुसँगै विमानस्थलबाट नेपाल भित्रिने सुनको परिमाणमा कमी आएको थियो।
दैनिक २ किलोभन्दा धेरै सुन आएकामा केही समय अगाडि एक किलोभन्दा कम भइसकेको थियो। तर, राष्ट्र बैंकको नयाँ निर्देशन आएपछि त्यसको मात्रा बढेको देखिन्छ।
'दैनिक एक किलोभन्दा कम पनि सुन आउन थालेको थियो। अहिले विदेशबाट आउने सुनको परिमाण केही बढेर गएको छ,' त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले भने।
सरकारले बैङ्किङ च्यानलमार्फत ल्याउने सुनको परिमाणमा कटौती गरेपछि विदेशबाट भित्रिने सुनको मात्रा अझै बढ्ने आँकलन छ। बजारको माग धान्न सुन कारोबारीले तस्कर र राजस्व तिरेरै भए पनि विदेशबाट सुन ल्याउने सम्भावना बढेको छ। सुन व्यवसायीले २० किलो कोटा हुँदा पनि माग धान्न नसकेको भन्दै ३० किलो चाहिने भन्दै आएका थिए।
बैङ्किङ च्यानल 'बाइपास' गरेर सुन भित्रिने क्रम यसरी बढ्ने हो भने सरकारले जुन उद्देश्यले कोटा निर्धारण गरेको हो, पूरा हुने सम्भावना छैन।
'यसबारे अनौपचारिक छलफल भइरहेको छ। सुन त्यसरी नै भित्रिने देखिएमा केही सोच्नुपर्ने देखिन्छ,' अर्थ मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाले भने।
नेपालको विमानस्थलबाट भित्रिँदै सुन भारततिर पनि तस्करी हुँदै आएको छ। भारतमा सुनको माग बढी छ। केही महँगो पनि। त्यसैले तेस्रो मुलुकबाट वैध र अवैध बाटो हुँदै भित्रिने सुन सडकमार्ग हुँदै भारततिर तस्करी हुने गर्छ।
सुन तस्करहरूले तस्करीमा नयाँनयाँ उपाय पहिचान गर्दै आएका छन्। पछिल्लो समय वैदेशिक रोजगारीमा गएकालाई सुन पठाउँदै भरिया बनाइरहेका छन्। यसरी ल्याएबापत केही रकम उनीहरुले तिनै भरियालाई दिने गर्छन्।