PahiloPost

Jul 3, 2024 | २० असार २०८१

ताप्लेजुङ सदरमुकाममा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा : एक जनाको मृत्यु, एउटा घर नष्ट



पहिलोपोस्ट

ताप्लेजुङ सदरमुकाममा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा : एक जनाको मृत्यु, एउटा घर नष्ट

काठमाडौंः ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा  भएको आगलागीमा परी घाइते  एक जनाको मृत्यु भएको छ। कोप्चेमा डेरा गरी बस्ने ६७ वर्षीय चुलिमाया लिम्बुको उपचारको क्रममा मृत्यु भएको हो। उनलाई घरभित्रको ग्यास फड्किएर लागेको थियो।

'एउटा घर पूर्ण र अर्कोमा आंकिक क्षति भएको छ। एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ,' ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले भने।

आज बिहान कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको थियो। दुई घण्टापछि आगो नियन्त्रणमा आएको पोखरेलले बताए।

आगलागी नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मी खटिएका थिए। आगलागी नियन्त्रणका लागि फुङलिङ नगरपालिकाको दमकल पुगेको थियो। जस्ताले छाएको घरमा आगलागी भएका कारण आसपासका घरसमेत जोखिममा थिए।

प्रायः बर्सेनि आगलागीको चपेटामा पर्दै आएको सदरमुकाममा यस वर्ष सुक्खायाम लागेसँगै बजार क्षेत्रमा यो नै पहिलोपटक आगलागीको घटना भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell