PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेइमारको 'लफडा'ले आजित पीएसजी!



पहिलोपोस्ट

नेइमारको 'लफडा'ले आजित पीएसजी!
Neymar - PSG-AP

फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा ब्राजिलियन स्ट्राइकर नेइमारका पछिल्ला केही दिन सकसपूर्ण रहे। पहिलो त च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल मड्रिडसँग पराजित भएपछि पीएसजी लिगबाट नै बाहिरिएको छ। रियलसँगको हारसँगै नेइमार र गोलकिपर डोनरुम्मासँग ड्रेसिङ रुममा झगडा परेको चर्चा चलेको छ। यद्यपि नेइमारले डोनुरुम्मासँगको एउटा प्राइभेट ह्वाट्स एप च्याट सार्वजनिक गर्दै यो हल्ला झुटो भएको दाबी गरेका छन्।

'यो पुरै फेक हो। खेलपछि हामीबिच कुनै झगडा भएको थिएन' नेइमारले इन्स्टाग्राममा लेखेका छन्। उनले सार्वजनिक गरेको ह्वाट्सएप च्याटमा डोनुरुम्माले उनलाई विवादबारेको समाचार लेखिएको लिंक पठाउँदै यो 'अस्वीकार्य' रहेको बताउँछन् र जवाफमा नेइमारले फुटबलमा यस्तो हुने भन्दै आफू उनीसँग रहने लेखेका छन्।

नेइमारले डोनरुम्माको गल्तीको कारण पहिलो गोल लागेको र डोनुरुम्माले पनि नेइमारको कमजोरीमा लुका मोड्रिचले बल निकालेको र दोस्रो गोल लागेको बताएपछि ड्रेसिङरुममा भनाभन भएको आरोप लागेको थियो। यद्यपि मड्रिडको पहिलो गोललाई लिएर पीएसजीका प्रशिक्षक माउरसियो पोचेटिनोले पनि असन्तुष्टी जनाएका थिए।

'धेरै अन्याय भएको महसुस भएको छ। बेन्जेमाले त्यतिबेला डोनुरुम्मामाथि स्पस्ट फउल गरेका थिए,' खेलपछि उनले भनेका थिए। यसमा डोनुरुम्माको गल्ती नभएको र त्यो भिडियोलाई ३०/४० पटक दोहोर्‍याएर आफूले हेर्दा त्यो स्पस्ट फउल रहेको उनले दाबि गरे। यहि घटनालाई लिएर पीएसजीका अध्यक्ष नासेर अल खेलाफीले रेफ्रीको ड्रेसिङ रुममा आक्रमण गरेको र सामाग्रीहरु बिगारेका थिए।

पहिलो लेगमा १ गोलले अघि रहेको पीएसजीलाई दोस्रो लेगमा रियल मड्रिडले ३-१ गोलअन्तरले हराउँदा समग्रमा ३-२ गोलले जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो। मड्रिडको जितमा करिम बेन्जेमाले ह्याट्रिक गरेका थिए।

तर, खेल पत्रकार रोमेन मोनिलाको भनाइलाई आधार मान्ने हो भने नेइमारले अहिले जुधिरहेको समस्या यतिमात्र होइन। उनका अनुसार पीएसजीको स्वामित्व लिएका कतारी अमिर पनि उनको व्यवाहारले आजित छन्। यसको शृङखला सन् २०१७ मा स्पेनिस क्लब बार्सिलोनाबाट उनी पीएसजी आएयता सुरु हुन्छ।

मैदानमा चोटका श्रंख्लाहरु र मैदानबाहिरका विवादमा नेइमार परिरहे। नेइमार जस्ता ठूला स्टारलाई लिएयता पाँच वटा च्याम्पियन्स लिग खेल्दा जित्न भने सकेको छैन पीएसजीले।

मड्रिडसँगको खेलमा मेस्सी र नेइमारले आफ्नो उत्कृष्ट खेल कौशल देखाउन सकेनन्। स्पेनिस पत्रिका मार्काले एक रिपोर्टलाई उदृत गर्दै कतारी आमिरले अर्को सिजन नेइमारलाई बेच्ने योजना बनाएको दाबी गरेको छ। च्याम्पियन्स लिग जित्ने लक्ष्यका साथ उनलाई ल्याइएको भए पनि त्यसमा उनी खरो नउत्रिँदा अब ट्रास्फर विन्डोमा 'उच्चतम विडर' लाई बेच्ने योजना बनाएको दाबी गरिएको छ।

अर्का ब्राजिलियन स्टार रोनाल्डिनो र नेइमारबिच धेरै समानताहरु छन्। बार्सिलोना छाड्नु पर्दा दुवै खुशी थिएनन् र उनीहरुको उच्चतम लय बार्सिलोनामा छँदा देखिएको थियो। युरोपका अरु क्लबमा गए पनि नेइमारलाई आफ्नो लय प्रमाणित गर्ने चुनौती भने रहने छ नै। अझ नेटफ्लिक्सको एउटा डकुमेन्ट्रीमा उनले आफ्नो सन्यास अपेक्षा गरिएको भन्दा चाँडो हुने जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell