PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

फेसबुकको 'विभेदकारी' नीति : रसियाविरुद्ध हिंसात्मक पोस्टहरूलाई अनुमति दिइने



पहिलोपोस्ट

फेसबुकको 'विभेदकारी' नीति : रसियाविरुद्ध हिंसात्मक पोस्टहरूलाई अनुमति दिइने
File Photo: Dado Ruvic/Illustration/Reuters

आफूलाई ‘न्युट्रल (तटस्थ) टेक फर्म’ भन्दै आएको मेटाले रसिया-युक्रेन द्वन्द्वको सन्दर्भमा 'पूर्वाग्राही' निर्णय गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। फेसबुक र इन्स्टाग्रामको ‘प्यारेन्ट कम्पनी’ मेटाले रसियाको विरुद्धमा हिंसात्मक अभिव्यक्ति पोस्ट गर्न दिने बताएको हो।

युक्रेनमा रसियाको आक्रमणपछि मेटाले हिंसात्मक भाषणमा आफ्नो नीतिलाई अस्थायीरूपमा खुकुलो बनाएको जानकारी दिएको छ। उसले ‘डेथ टू रसियन इन्भेडर्स (रसियाली आक्रमणकारीहरू मरुन्’ जस्ता अभिव्यक्तिहरुलाई अनुमति दिनेछ। तर, नागरिकहरूविरुद्धको धम्कीपूर्ण हिंसात्मक अभिव्यक्तिहरु भने पोस्ट गर्न दिने छैन।

यसअघि कम्पनीले युक्रेनमाथि रसियाको आक्रमणको प्रतिक्रियास्वरुप आफ्ना उत्पादन तथा सेवालाई रसियामा प्रतिबन्ध लगाएको थियो।

मेटाको नीतिगत निर्णय अहिले निकै विवादमा परेको छ। अमेरिकास्थित रसियाली दूतावासले शुक्रवार वासिङ्गटनसँग फेसबुक मालिकको ‘चरमपन्थी गतिविधिहरू’ बन्द गर्न माग गरेको थियो।

‘रसियालीहरूप्रति घृणा र शत्रुता उक्साउने गरी मेटाको आक्रामक र आपराधिक नीति आउनु अपमानजनक छ’, दूतावासले एक विज्ञप्तिमा भनेको छ, ‘कम्पनीका यस्ता कार्यहरू हाम्रो देशविरुद्ध घोषित नियम बिनाको सूचना युद्धको अर्को प्रमाण हो।’

यता, मेटाले भने आफ्नो नीतिगत निर्णयको बचाउ गरेको छ।

‘युक्रेनमा रसियाली आक्रमणको परिणामको रूपमा हामीले केही राजनीतिक अभिव्यक्तिलाई अस्थायी रूपमा पोस्ट गर्न मिल्ने बनाएका छौँ। यसअघि सामान्यतया नियमहरू उल्लङ्घन गर्ने 'डेथ टू रसियन इन्भेडर्स' जस्ता हिंसात्मक अभिव्यक्तिहरु पोस्ट गर्न सकिनेछ,’ एक विज्ञप्तिमा भनिएको छ।

‘हामीले अझै पनि रसियाली नागरिकहरूविरुद्धको हिंसात्मक अभिव्यक्तिहरूलाई भने अनुमति दिनेछैनौँ,’ विज्ञप्तिमा उल्लेख छ।

यो नीति आर्मेनिया, अजरबैजान, इस्टोनिया, जर्जिया, हंगेरी, लातभिया, लिथुआनिया, पोल्याण्ड, रोमानिया, रसिया, स्लोभाकिया र युक्रेनमा लागू हुने कन्टेन्ट मोडेरेटरहरूलाई मेटाले पठाएको इमेललाई उदृत गर्दै रोयटर्सले उल्लेख गरेको छ। तर, कम्पनीले भने यसको पुष्टि गरेको छैन।

मेटाको यो निर्णयपछि विरोधाभासपूर्ण प्रतिकृयाहरु आएको छ।

एट्लान्टिक काउन्सिलको डिजिटल फरेन्सिक रिसर्च ल्याबका डिसइन्फर्मेसन एक्सपर्ट इमर्सन ब्रुकिङ भन्छन्, ‘यो नीतिले रसियाली सैनिकहरूविरुद्ध हिंसाको लागि आह्वान गरेको छ।’

‘हिंसाको लागि आह्वान गर्नु एक प्रकारले प्रतिरोधको लागि आह्वान पनि हो, किनभने युक्रेनीहरूले हिंसात्मक आक्रमणको प्रतिरोध गरिरहेका छन्,’ उनले थपे।

तर, केहीले भने यसप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। लेहाइ युनिभर्सिटीका प्राध्यापक जेरेमी लिटाउ ट्विटरमा लेख्छन्: ‘'हामी निश्चित देशका केही व्यक्तिहरू बाहेक अरुविरुद्ध घृणात्मक अभिव्यक्तिलाई अनुमति दिँदैनौँ' भन्ने कुरा बकवास् हो।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell