PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

व्यापार र लगानीका अवसर विस्तार गर्न नेपाल र टर्की सहमत,परराष्ट्र मन्त्रीले गरे बहराइनको सराहना



पहिलोपोस्ट

व्यापार र लगानीका अवसर विस्तार गर्न नेपाल र टर्की सहमत,परराष्ट्र मन्त्रीले गरे बहराइनको सराहना

काठमाडौं : परराष्ट्रमन्त्री डा नारायण खड्का र गणतन्त्र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुबिच द्विपक्षीय भेटवार्ता भएको छ। अन्तालिया कूटनीतिक मञ्चमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल टर्कीको अन्तालियामा रहेका खड्का र काभुसोग्लुबिच द्विपक्षीय सम्बन्ध र आपसी सहयोगका बारेमा छलफल भएको थियो।

उक्त अवसरमा दुई मुलुकबिच व्यापार र लगानीका अवसरलाई थप विस्तार गर्न दुवै पक्ष सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री खड्काले युक्रेन र रसियाका विदेशमन्त्रीलाई वार्ताको टेबुलमा ल्याउन टर्कीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै कूटनीति र वार्ताको माध्यमबाट नै जारी द्वन्द्वलाई दिगोरुपमा समाधान गर्न सकिने विश्वास व्यक्त गरेका थिए। विदेशमन्त्री काभुसोग्लुले नेपाल र टर्कीबिच पारस्परिक लाभका क्षेत्रमा परिणाममुखी साझेदारी अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

बिहीवार नै परराष्ट्रमन्त्री डा खड्काले बहराइन अधिराज्यका विदेशमन्त्री डा अब्दुललातिफ बिन रसिद अल जायनीसँग भेटवार्ता गरेका थिए। त्यस अवसरमा उनले बहराइनमा रहेका नेपाली आप्रवासी कामदारको रक्षा गरेकामा बहराइन सरकारको सराहना गरे। उनीहरूबिच आर्थिक सहयोग विस्तार तथा जनता–जनताबिचको सम्पर्क र पर्यटन प्रवर्द्धन, विशेषगरी पर्वतारोहण क्षेत्रलगायत विषयमा विचार आदानप्रदान भएको पनि उक्त मन्त्रालयले जनाएको छ।

फागुन २९ गतेसम्म आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चलाई भोलि सम्बोधन गर्ने कार्यक्रम छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell