
काठमाडौं: क्रिकेट विश्वकप लिग २ को तयारीमा श्रीलंकामा रहेको नेपाली टोली चौथो अभ्यास खेलमा पराजित भएको छ। आज सम्पन्न खेलमा श्रीलंकाका विभिन्न टिमबाट खेल्ने खेलाडी र अन्तर्राष्ट्रिय खेल खेलिसका खेलाडीको मिश्रित टिमसँग नेपाली टोली ९२ रनले पराजित भएको हो।
टस जितेर ब्याटिङमा उत्रिएको श्रीलंकन टोलीले ४८.२ ओभरमा अलआउट हुँदै २३२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल १४० रनमा समेटियो।
सुरुवाती ब्याटिङ गरेको श्रीलङ्कन टोलीका लागि असिस्था फर्नान्डोले सर्वाधिक ५६ रन बनाउँदा सन्दुन विरकोडीले ४९ रन बनाए। त्यस्तै एस कुमारास्वामीले ३० तथा दिलसन मुनवीरा र दिलरुवन परेराले समान १४ रन बनाए।
बलिङतर्फ नेपालका सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले समान ३ विकेट लिँदा सोमपाल कामीले २ तथा आरिफ शेख र सन्दीप लामिछानेले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको नेपालको सुरुवात राम्रै भएपनि मिडल अर्डर र लोअर अर्डरमा ब्याट्सम्यान टिक्न नसक्दा १४० रनमा समेटियो। नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाउँदा कुशल भुर्तेलले ३२, रोहित कुमार पौडेलले २१ र आरिफ शेखले १३ रन बनाए।
श्रीलंकामा ४ वटा खेल खेलेको नेपालको यो पहिलो हार हो। यस अघिका खेलमा नेपाली टोलीले श्रीलंका नेभीविरुद्ध दुई खेल जितेको थियो भने श्रीलंक पुलिसलाई हराएको थियो।
नेपाली टोली श्रीलंकाबाटै एकदिवसीय सिरिजका लागि यूएई प्रस्थान गर्नेछ।