PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

५० रुपैयाँ भाडा विवादले हत्या, निलो रङको अटो क्लुले यसरी पुर्‍यायो आरोपितसम्म



पहिलोपोस्ट

५० रुपैयाँ भाडा विवादले हत्या, निलो रङको अटो क्लुले यसरी पुर्‍यायो आरोपितसम्म

कैलाली : चार दिनदेखि जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी टोली एउटा अटो (इलेक्ट्रिक रिक्सा) खोजीमा जुट्यो।

प्रहरी जुन अटोको खोजी गरिरहेको थियो त्यसको नम्बर प्लेट खुलेको थिएन। कैलालीका सात हजार अटोबाट एउटा अटो पहिल्याउनु सहज थिएन प्रहरीका लागि। अटोको कनेक्सन प्रहरीले एउटा हत्यासँग गर्न खोजेको थियो। प्रहरीले अटो फेला पारे पनि अपराधको 'क्लु' र अपराधीसँग पुग्न सकिन्छ कि भन्ने झिनो आशा थियो।

खोज्न सुरु गरेको चार दिनपछि प्रहरीले खोजेको अटो फेला पर्‍यो।

सोमवार बिहान धनगढी उपमहानगरपालिका वडा नम्बर–५ स्थित केराबारीको सडक नालीमा एक युवकको शव फेला परेको थियो। घटनाको अनुसन्धानका क्रममा शव भारतको उत्तर प्रदेश शाहजापुरका ४२ वर्षीय कुलदीप गुप्ताको रहेको पुष्टि भयो। घटना हत्या नै भएको खुल्यो। तर, प्रश्न कसले र किन गर्‍यो? उत्तर सहज थिएन।

हत्याको कारण खोज्‍नेक्रममा अनुसन्धान थाल्दा कुनै क्लु फेला पार्न सकेन। धनगढी बजारका सीसी टिभी भिडियो फुटेज खोतल्दा गुप्ता अन्तिम पटक निलो रङको अटोमा आइतवार राति सवार रहेको देखेपछि प्रहरी त्यही अटोको खोजीमा लागेको थियो।

शुक्रवार बिहान से १ ह २८६६ नम्बरको उक्त अटो भेटियो। बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ बस्ने २४ वर्षका राजेन्द्र बुढाले चलाउने गरेका थिए उक्त सवारी। अब प्रहरीको लागि अनुसन्धानको लिड मिलेको थियो। तर, प्रहरीले अरू थप अनुसन्धान नै गर्नु परेन। अटो चालकसम्म प्रहरी पुग्‍नासाथ राजेन्द्रले घटना आफैँले गरेको स्वीकार गरे।

५० रुपैयाँ अटो भाडाका लागि हत्या !

राजेन्द्र बुढा र उनका साथी २० वर्षीय भूपेन्द्र बुढाले ५० रुपैयाँ भाडाका विषयमा विवाद हुँदा गुप्ताको हत्या गरेको स्वीकारेका छन्। कुलदीप गुप्ता झन्डै दुई दशकदेखि धनगढीमै बसोबास गर्दै आएका थिए। यहाँ आइसक्रिमको घुम्ती ठेलामा काम गर्ने गरेका गुप्ता आइतवार बेलुका मदिरा सेवन गरी धनगढी–१ स्थित दाजु प्रदीप गुप्ताको घरमा गएका थिए। केही बेर त्यहाँ बसेर जालीतिर जान्छु भनेर निस्किएका थिए। उनी राजेन्द्र बुढाले चलाउने अटोमा बसे। धनगढी पार्क मोडबाट राति साढे ९ बजे बुढाको अटोमा सवार रहेको दृश्य प्रहरीले फेला परेको थियो।

‘अटोमा ५० रुपैयाँ भाडा माग्दा विवाद भएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीले भने, ‘त्यसपछि गुप्ताले ‘‘तुम नेपाली लोग’’ भनेर हिन्दीमा गाली गरेपछि उनीहरू बिच हात हालाहाल हुँदा गुप्ता नालीमा खसेका थिए। भूपेन्द्रले अटोबाट काठको टुक्रा निकालेर गुप्तालाई प्रहार गरेको देखिन्छ ।’

प्रहरीले घटनास्थलबाट रगत लागेको अवस्थामा उक्त काठको टुक्रा समेत फेला पारेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell