
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई अपठ्यारो पर्दा जोगाउने र दिशा निर्देश गर्ने पार्टी भनेकै नेकपा माओवादी केन्द्र भएको बताएका छन्। कर्णाली प्रदेशको सुर्खेतमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले बेला बेला परिवर्तनका मुद्दा उल्टाउने र फेरी पुरानै ठाउँमा ल्याएर देशलाई डुबाउन खोज्ने विरुद्ध माओवादी सचेत भएको बताए।
उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति टिप्पणी गर्दै ओली प्रवृत्तिविरुद्ध आफ्नो लडाइँ रहेको बताए। सबै स्वार्थ त्याग गर्न तयार भएर नै वर्तमान अवस्थामा सफलता हासिल भएको उनको भनाइ थियो।
उनले कर्णालीमा निर्वाचनका लागि लाग्न नेता कार्यकर्तालाई निर्देशन समेत दिए। भने, 'कर्णाली भनेको माओवादीको आधार इलाका हो। तपाईंहरु आगामी निर्वाचनमा पहिलो शक्तिका रूपमा स्थापित हुने गरेर मैदानमा होमिनुस्।'
उनले एमसीसीको विषयमा माओवादीले देशलाई ठूलो दुर्घटनाबाट बचाएको बताए। एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको उनको दाबी थियो।
उनले भने, 'यो विषयमा भएका मतभेदलाई एउटा फोरममार्फत निष्कर्ष निकाल्ने भनेर केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरेपछि एमसिसीसम्बन्धी सम्पूर्ण विषयको समाधान भएको छ।'
अहिलेको सत्ता गठबन्धन स्थानीय चुनावसम्म जाने र सकेसम्मा अझै परसम्मा लैजाने योजनासमेत रहेको उनको भनाइ थियो।