PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

स्थानीय तह निर्वाचन नजिकिएसँगै हेटौंडा उपमहानगरको नेतृत्वको लागि आकांक्षी बढ्दै, कुन दलबाट को को छन् दाबेदार ?



निशा गुरुङ

स्थानीय तह निर्वाचन नजिकिएसँगै हेटौंडा उपमहानगरको नेतृत्वको लागि आकांक्षी बढ्दै, कुन दलबाट को को छन् दाबेदार ?

हेटौंडा : सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेपछि मकवानपुरमा चुनावी सरगर्मी बढेको छ। वैशाख ३० गते हुने तय भएको निर्वाचनमा जिल्लाको विभिन्न स्थानीय तहमा प्रतिस्पर्धाको लागि राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटिसकेका छन्। नेताहरु टिकटको लागि जिल्ला, प्रदेश र केन्द्रसम्मै लभिङ गरिरहेका छन्।

वाग्मती प्रदेशको राजधानी र जिल्लाको सबैभन्दा बढी मतदाता रहेको हेटौंडा उपमहानगरपालिकाको प्रमुअ बन्न अहिले विभिन्न राजनीतिक दलभित्र रस्साकस्सी नै सुरु भइसकेको छ।

कांग्रेसबाट ४ जना आकांक्षी

निर्वाचनको मिति नजिकिएसँगै हेटौंडा उपमहानगरपालिकाको नेतृत्वको लागि कांग्रेसबाट ४ जनाको नाम चर्चामा देखिएको छ। कांग्रेसको संस्थापन र इतर पक्षबाट गरी ४ जनाले आकांक्षा व्यक्त गरी टिकटको लागि लबिङमा रहेका छन्।

२०७४ सालको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट हरिबहादुर महतले जितेका थिए। उपमहानगरपालिकामा कांग्रेसबाट यस अघिको निर्वाचनमा पराजित भएका आनन्दराम पराजुलीका साथै भीमसेन महत, हेटौँडा–५ का वडा अध्यक्ष राजेश बानियाँ र प्रभात कुमार दाहालले आकांक्षा देखाएका छन्। यस्तै, अन्य केही नेताहरूले पनि आकांक्षा देखाएको स्थानीय नेताहरु बताउँछन्।

कांग्रेसबाट हेटौंडा उपमहानगरपालिकाको प्रमुख पदमा आकांक्षा व्यक्त गरेका पराजुली, बानियाँ र दाहाल संस्थापन पक्षका हुन् भने महत संस्थापन इतर पक्षका मानिन्छन्।

१४ औँ जिल्ला अधिवेशन अन्तर्गत गत फागुन १५ गते भएको जिल्ला अधिवेशनमा संस्थापन पक्षबाट सभापति पदमा निर्वाचित भएका बुद्ध लामालाई सहयोग प्रभातकुमार दाहालले  सहयोग गरेका थिए। उनी निकट स्रोतका अनुसार कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ पनि दाहाललाई मेयरको रूपमा अगाडि बढाउने विषयमा सकारात्मक रहेका छन्।

यस्तै, २०७४ सालको स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा एमालेका हरिबहादुर महतसँग ६१५ मतान्तरले पराजित भएका नेपाली कांग्रेसका आनन्दराम पराजुलीले यसपटक पनि पनि मेयरमा आफ्नो दाबी गरेका छन्।

अघिल्लो निर्वाचनमा पराजुलीले प्राप्त गरेको करिब ७ हजार मत बदर भएको थियो। मत बदर भएकै कारण आफू पराजित भएको उनको विश्लेषण छ। पछिल्लो समय मकवानपुर कांग्रेसको राजनीतिमा बलियो पकड बनाउन प्रयासरत पराजुली कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनासँग नजिक मानिन्छन्। तर, गत फागुन १५ मा भएको जिल्ला अधिवेशनबाट भने उनीहरूसँगको सम्बन्ध बिग्रिएको बताइन्छ।

अधिवेशनमा प्रदेश सभापति बानियाँको जिल्ला नेतृत्व सर्वसम्मत गर्ने प्रस्तावलाई सोझै अस्वीकार गर्दै निर्वाचनमा होमिएका कारण उनीहरूबीच तिक्तता आएको कांग्रेस स्रोत बताउँछ। सोही कारण मेयरमा दाबी गरे पनि उनले टिकट पाउने कठिन रहेको नेताहरू बताउँछन्।

यता हालै सम्पन्न भएको कांग्रेस मकवानपुरको जिल्ला अधिवेशनमा सचिव पदमा सर्वाधिक मतसहित निर्वाचित भएका भीमसेन महतले पनि मेयर पदमा आकांक्षा व्यक्त गरेका छन्।

महत २०७४ सालमा भएको निर्वाचनमा पनि हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवार रहेका थिए। उनले तत्कालीन समयमा नेकपा मालेबाट मेयर पदमा उम्मेदवारी दिएका थिए। उक्त निर्वाचनमा उनले ३८१ मत प्राप्त गरेका थिए।

निर्वाचन पछि राजनीतिबाट केही समय टाढा रहेका महत कांग्रेस प्रवेश गरेर आफ्नो छवि विस्तारमा लागेका थिए। मकवानपुरका १०२ वटै वडामा पुगेर कांग्रेसको विचार प्रचारप्रसार गरिरहेका उनी संस्थापन इतर पक्ष निकट मानिन्छन्। उनले पनि आफ्नो पक्षमा टिकट ल्याउन केन्द्रीय स्तरका नेतृत्वसँग छलफल सुरु गरेको बताए।

त्यसैगरी हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि अन्य केही व्यक्तिको नाम पनि चर्चामा रहेको छ। हाल हेटौंडा उपमहानगरपालिका वडा नम्बर-५ का वडा अध्यक्ष राजेश बानियाँको नाम पनि चर्चामा रहको छ। उनी प्रदेश सभापति बानियाँका भाइ हुन्।

विगतको निर्वाचनमा हेटौंडा–५ मा कांग्रेसले चुनाव नजित्ने देखेपछि व्यापार व्यवसाय गरिरहेका बानियाँलाई टिकट दिइएको थियो। एमालेको बलियो क्षेत्रको रूपमा रहेको हेटौंडा–५ को चुनावी नतिजा उनको पक्षमा आयो। पार्टी नेतृत्वले टिकट दिएको खण्डमा आफू मेयर पदमा चुनाव लड्न तयार रहेको उनी बताउँछन्।

एमालेबाट पनि ४ जना आकांक्षी

हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि एमालेका ४ जना नेताले आकांक्षा व्यक्त गरेका छन्। मेयर बन्न अहिले संविधानसभा सदस्यदेखि हालका जिल्ला समन्वय समिति प्रमुखसमेत दाबेदार छन्।

हालका मेयर हरिबहादुर महत, संविधानसभा सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल र एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले हेटौंडाको मेयर पदमा आकांक्षा देखाएका छन्।

सबै आकांक्षीहरु आफनो पक्षमा टिकट ल्याउनका लागि प्रयासरत छन्। उनीहरु टिकटका लागि केन्द्रीय स्तरका नेतृत्वसँग छलफलमा रहेको बुझिएको छ। अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादीबिच तालमेल हुँदा पनि एमाले विजयी भएका कारण यहाँ एमालेबाट मेयरका प्रत्यासी धेरै भएको अनुमान गरिएको छ।

हाल नेकपा एमाले विभाजन भए पनि संगठित कार्यकर्ताको बलमा चुनाव जित्नेमा नेताहरु ढुक्क देखिन्छन्।

एकीकृत समाजवादीबाट पनि दुई आकांक्षी

एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादी पार्टीबाट भने हेटौंडाको मेयरमा श्रीधर पोखरेल र मिना लामाले आकांक्षा देखाएका छन्।

एकीकृत समाजवादी मकवानपुरका अध्यक्षसमेत रहेका पोखरेल र हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा मेयरको लागि आकांक्षी देखिएकी हुन्। स्रोतका अनुसार लामा एक पटक उपमेयर भइसकेकोले अब मेयरको जिम्मेवारी पाउनुपर्ने दावी गरिरहेकी छिन् भने पोखरेल स्थानीय निर्वाचनमा पनि गठबन्धन भएमा मात्रै मेयर दावी गर्ने पक्षमा छन्।

अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादीले नगर प्रमुख तथा उप प्रमुख पदमा चुनावी गठबन्धन गरको थियो। गठबन्धन अनुसार प्रमुखमा कांग्रेसबाट आनन्दराम पराजुली र उप प्रमुखमा माओवादीका बलराम बल उम्मेदवार थिए। त्यस्तै एमालेबाट हरिबहादुर महत प्रमुख र मिना लामा उप प्रमुखको उम्मेदवार थिए। एमालेले गठबन्धनका उम्मेदवारलाई पराजित गरी दुवै पद सुरक्षित गरेको थियो।

हाल एमाले विभाजित भएर एकीकृत समाजवादी पार्टी गठन भएको छ । उप प्रमुख लामा अहिले समाजवादीमा छिन्। गठबन्धनबाट उप प्रमुखको उम्मेदवार बनेका बलराम बल एमालेमा प्रवेश गरेका छन्।

उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट भने मेयरमा आकांक्षीको नाम अहिले चर्चामा छैन। पूर्वमाओवादी नेता बलराम बललाई मेयरका दाबेदारका रूपमा हेरिन्थ्यो। बल केही महिना अघिमात्रै एमाले प्रवेश गरेका थिए। माओवादीभित्र अहिले नै हेटौंडाको मेयरका आकांक्षी देखा नपरेको पार्टी जिल्ला सचिव भीम पाख्रिनले बताए। उनका अनुसार पार्टी निर्देशन आइनसकेकाले सम्भावित उम्मेदवारहरूका बारेमा कुनै छलफल भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell