PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

कोही बुद्धका ओठ चलाउँदै, कोही अनुहार सुमसुम्याउँदै

कोही बुद्धका ओठ चलाउँदै, कोही अनुहार सुमसुम्याउँदै

नेत्र तामाङ/पहिलोपोस्ट


काठमाडौं : रौतहटका विशाल स्याङ्तान बुधबार दिउँसो माटोले बन्दै गरेको बुद्धको मूर्तिमा ओठ मिलाउँदै थिए। स्वयम्भूस्थित होटल च्वाइसको दोस्रो तल्लामा झ्यालबाट पसेको घामले पनि साथ दिँदै थियो विशाललाई। त्यही घामको उज्यालोले छेवैको बुद्धको प्रतिमा टिलिक्क टल्काइरहेको थियो। काँसबाट बनेको तयारी बुद्धको प्रतिमा हेर्दै माटोको उस्तै प्रतिमा उतार्दै थिए उनी।

'नाककान मिलिसके, अब ओठ मिलाउँदै छु,' विशाल काँसको प्रतिमातिर औंल्याउँदै भन्दै थिए, 'गुरुले मिले नमिलेको हेर्नुहुन्छ।अनि केही दिनमा त्यस्तै प्रतिमा बन्छ।'

गाउँमा बच्चाहरुसँग ख्यालख्यालमा माटोबाट हात्तीको मूर्ति बनाउने अनुभव भएको बताउने विशालले बुद्धको प्रतिमा निर्माण तालिम थालेको १५ दिन पुगिसकेछ। केही दिनमै यस्तो प्रतिमा बनाउने काममा आफू पोख्त हुने उनको विश्वास छ। 'अनि गाउँ गएर गुम्बामा बुद्धको मूर्ति बनाउनेछु,' २७ वर्षे विशालले भने, 'स्कुलस्कुल पुगेर सरस्वतीको मूर्ति पनि बनाउँछु।'

संखुवासभा मकालु गाउँपालिकाका दलबहादुर राई भने प्रतिमामा अनुहार बनाउन व्यस्त थिए। 'म यो कक्षामा अलि ढिला ज्वाइन गरेँ,' चित्रकारसमेत रहेका राई भन्दै थिए, 'मलाई सिक्न त्यति समय लागेन। केही दिनमा साथीहरुसँगसँगै पुग्नेछु।'

बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले फागुन १० गतेबाट शुरु गरेको एक महिने तालिममा पहिले मूर्तिको स्केच कोर्न सिकाइएको बताउँछन् संखुवासभाका ५३ वर्षे ज्ञानबहादुर तामाङ। 'शुरुमा कापीमा चित्र कोर्न सिकाउनुभयो। त्यसपछि शरीरका विभिन्न भाग बनाउन। सिक्दैसिक्दै अहिले मूर्ति नै बनाएँ,' ज्ञानबहादुरले भने।

ज्ञानबहादुरले बुद्धको प्रतिमा तयार पारिसकेका छन्। मूर्ति बनाउने ज्ञान लिन पाउँदा मक्ख उनी यो अति सीप उपयोगी हुने बताउँछन्। 'गुम्बा बनाउने ठाउँमा यो निकै उपयोगी हुन्छ। पहिले यस्तो सीप जानिएन। अब धेरै राम्रो हुने भयो,' उनले भने।

गोरखाका विश्वभर बस्नेत पनि मूर्तिकला सिक्न पाउँदा दंग छन्। 'पहिलेबाटै सिक्ने इन्ट्रेस्ट थियो। अहिले अवसर पाएँ,' बस्नेतले भने, 'माटोसँग थप खेल्न सक्ने भएँ।' यसअघि ढुंगा र तारका कन्टेम्पोररी आर्टदेखि फोटोग्राफीसम्म अनुभव लिइसकेका बस्नेत यो सीपले मूर्तिकलामा थप खेल्न सक्ने बताउँछन्।

सर्लाही वाग्मतीका तेर्साङ लामा यसअघि थाङ्का बनाउँथे। बौद्ध दर्शनबारे मूर्ति बनाउने तालिम खुलेको थाहा पाएपछि उनी काठमाडौं आइपुगे।

‘मूर्ति बनाउने सीप सिक्ने अवसर पाएँ। अब गाउँमै थप आम्दानीको मेलो मिल्ने भयो,' तेर्साङले भने। भोजपुर दिङ्लाका सुरज तामाङ भने बुद्धको प्रतिमा बनाइसकेर माटोकै फूलबुट्टा बनाउन व्यस्त देखिन्थे। यहाँ १५ जना मूर्ति निर्माण तालिमममा व्यस्त छन्।

'सिमेन्टदेखि सुनका मूर्ति बनाउन सक्छन्'
मूर्तिको अनुहार मिले नमिलेको सिकाउँदै थिए, प्रशिक्षक भीम श्रेष्ठ। तालिममा सहभागीहरुले छिटोछिटो सीप टिपेको देखेर श्रेष्ठ पनि खुसी देखिए। 'एकै महिनामा पर्फेक्ट त हुन्न। तर सहभागीले रुचिका साथ मूर्ति बनाइराख्नुभएको छ। मैले पनि आफूले जानेको सीप सबै सिकाइरहेको छु,' उनले भने।

अहिले माटोका मूर्ति बनाउन जानेकाहरुले सिमेन्टदेखि सुनका मूर्ति बनाउन सक्ने उनको भनइ छ। 'साँचो निकाल्ने आइडिया दिइसकेको छु। बुद्धको मूर्ति बनाउन सक्ने भएपछि जुनसुकै वस्तुको प्रतिमा बनाउन सक्छन्,' श्रेष्ठले भने।

सहभागीहरु बिहान ८ बजेबाटै प्रशिक्षणमा खटिने तालिमकी इन्चार्ज लक्ष्मी रुम्बाले बताइन्। तालिमभरका लागि सहभागीलाई बस्ने खाने व्यवस्था गुम्बा विकास समितिले नै गरेको छ। 'तालिम नि:शुल्क हो। बस्ने खाने व्यवस्था यही होटलमै हो,' रुम्बाले भनिन्।

समितिले हरेक वर्ष बौद्ध दर्शनसम्बन्धी यसखाले तालिम सञ्चालन गर्दै आएको समितिका कार्यकारी निर्देशक होम दोङले बताए। 'हाम्रो कार्यालय बुद्ध धर्म र दर्शनसँग जोडिएकाले यसमा बुद्धको मूर्ति बनाउन सिकाइएको हो,' उनी भन्छन्, 'थाङ्कादेखि बौद्ध स्वास्थ्य प्रणाली आम्ची तालिम पनि दिँदै आएका छौं।'

पर्यटन मन्त्रालयअन्तर्गतको यो समितिले बौद्ध धर्म प्रवर्द्धनका लागि यसखाले कार्यक्रम सञ्चालन गर्ने उनले बताए। नेपालमा गुम्बा निर्माण कार्य गाउँगाउँ पुगेकाले तालिमपछि मूर्ति बनाउने कलाकार गाउँमै उपलब्ध हुने दोङको विश्वास छ।

देशभरका विभिन्न जिल्लाबाट मूर्ति निर्माणमामा चासो लिएर बौद्ध दर्शनको सम्यकता बुझ्न खोज्नेलाई यो तालिम दिइएको दोङले बताए। ‘तालिमपश्चात् सक्षम भएर प्रशिक्षार्थीहरुको जीविकोपार्जनमा समेत परिवर्तन हुनेछ,’ उनले भने।



ट्रेन्डिङ पोस्ट

Ncell