PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रियल भूमिका बिर्संदा 'हिरो'बाट 'जिरो' बनेका कलाकार : कोही अपराधबोधमा, कोही कमब्याकको प्रयासमा



सविन ढकाल

रियल भूमिका बिर्संदा 'हिरो'बाट 'जिरो' बनेका कलाकार : कोही अपराधबोधमा, कोही कमब्याकको प्रयासमा

काठमाडौ : कलाकार पल शाह यतिबेला प्रहरी हिरासतमा छन्। १२ दिनदेखि उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ, त्यो पनि एक किशोरीलाई प्रेम जालमा पारेर जबर्जस्ती करणी गरेको गम्भीर आरोपमा।

आरोप अदालतमा पुष्टि भए १० देखि १२ वर्ष उनी जेल जानेछन्। कानुनले नै १८ वर्ष नपुगी सहमतिमै पनि महिलासँग यौन सम्पर्क राख्नुलाई जबर्जस्ती करणी मानेको छ। आरोप लगाउने किशोरी १८ वर्ष पुगेकी छैनन्।

केही कलाकार र कानुनलाई 'चुनौती' दिनेहरु भने पलको पक्षमा वकालत गरिरहेका छन्। जे भए पनि फिल्म दुनियाँका 'रोल मोडल' पलमाथि अभियोग लागिसकेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँमा जबर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरी परेको छ भने फागुन १५ गते पूर्वीनवलपरासीमा सोही प्रकृतिको उजुरी दर्ता छ। पललाई अहिले तनहुँ हिरासतबाट हतकडीमै गैँडाकोट पुर्‍याइएको छ।

कुनै पनि कलाकार दर्शकका लागि आदर्शका पात्र बन्ने गर्छन्। समाजमा सकारात्मक सन्देश फैलाउन कलाकारको समेत भूमिका रहन्छ। तर कला क्षेत्रमा 'स्क्यान्डल' नौलो होइन। तर जब यस्ता गम्भीर घटनामा उनीहरु फस्न पुग्छन्, उनीहरु 'हिरो'बाट जिरोमा पुग्छन्।

पल मात्र होइन एक दर्जनभन्दा बढी कलाकार जघन्य प्रकृतिका अपराधमा मुछिएका छन्। कतिको मुद्दा अझै विचाराधीन छ भने कति अदालतबाट सजाय भुक्तान गरेर निस्किइसकेका पनि छन्।

'अपराध गर्न कसैलाई पनि छुट हुँदैन। कलाकारले गरेको अपराध व्यक्तिको मात्र हो। कुनै कला क्षेत्रको होइन। तर पब्लिक प्रोपर्टी भएका व्यक्तिहरूले हरेक कुरा सोच्नुपर्छ,' वरिष्ठ कलाकार हरिहर शर्मा भन्छन्।

पलको झैँ आरोप लागेका र पछि अदालतबाट दोषी प्रमाणित भएका अर्का कलाकार हुन्- प्रकाश ओझा।

२०५९ सालमा डरत्रासमा पारी तीन नाबालिकासँग अनुचित सम्बन्ध राखेको प्रमाणित भएपछि अदालतले उनलाई थुनामा पठाएको थियो। सर्वोच्च अदालतले २०७३ माघ ४ गते १० वर्ष कैद सजाय सुनायो। सुनसरीको इटहरी नगरपालिका घर भएका प्रकाशलाई दुई अभियोगमा पाँच/ पाँच वर्ष गरेर १० वर्ष कैद सजाय तोकेको थियो।

केन्द्रीय कारागार सुन्धारामा १० वर्षको कारागार सजाय भोगेर अहिले बाहिर निस्किएका छन्। त्यसपछि उनले पुरानै लयमा फर्किने गरी गीत पनि सार्वजनिक गरे। तर उनी अहिले गुमनाम छन्।

एक दशकअघि ओझाका गीत हिटकै सूचीमा पर्थे। हास्य गायकको रूपमा उनले आफूलाई स्थापित गरेका थिए। तर आफ्नै गल्तीले गरेको अपराधले प्रकाशको प्रकाश कलाक्षेत्रबाट लुप्त छ।

प्रकाशमात्र नभएर अपराधको सजाय भुक्तान गरेर केही ग्याप भएपछि कमब्याक गर्न समय लाग्ने कलाकार शर्मा बताउँछन्। 'त्यो कालान्तरमा धेरै ग्याप हुन्छ। घाउ भएपछि खत त बस्छ नै त्यो खत पुरिन समय लागे जस्तै हो,' उनले भने।

यौन मामिलामा मात्र होइन कलाकारहरु लागुऔषधदेखि बैङ्किङ कसुरसम्म मुछिएका छन्। मानव तस्करी र ठगीजस्ता अपराधमा फस्ने कलाकारको सूची पनि लामै छ।

'फर्स्ट लभ' फिल्मबाट निर्माणमा होमिएका थिए माधव वाग्ले। एउटै लाइनमा फिल्म बनिरहेका बेला उनले नयाँ धारबाट चलचित्र निर्माणमा लगानी गर्न हिम्मत देखाए। त्यसपछि छड्के, मिसन पैसा रिलोडेड, रेसम फिलिली, लभ शाशा, लुट २ जस्ता फिल्ममा उनले लगानी हाले। एकपछि अर्को फिल्मको सफलताले निर्माता वाग्लेलाई हौसाइरहेको थियो। त्यसै क्रममा 'चंगा चेट' फिल्मको निर्माणमा जुटेका थिए।

यही बेला २०७५ जेठ २ गते २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँ प्रहरीले बरामद गर्‍यो। काठमाडौँका विभिन्न ठाउँबाट ६ जना समातिए। त्यही ६ जनाको सूचीमा वाग्लेको नाम पनि पर्‍यो।

पर्दा पछाडिका पात्र भएकाले पल शाहको झैँ चर्चा भएन वाग्लेको। आम दर्शकले खासै चासो दिएनन्। तर चलचित्र वृत्तभित्र भने पक्ष र विपक्षमा बहस चली नै रहे।

उनलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठायो। तर उनी उच्च अदालत पाटन पुगे। त्यहाँबाट २५ लाख रुपैयाँ धरौटी बुझाएर छुटे। उनी अहिले पनि चलचित्र क्षेत्रमा नै छन्। तर पहिले झैँ उनका चलचित्रले खासै दर्शक र दाम कमाएका छैनन्।

गत असारमा कलाकार शिशिर शमशेर जबरा पक्राउ परे। एक सयभन्दा बढी चलचित्र तथा टेलिचलचित्रमा देखिइसकेका छन् उनी। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले शिशिरलाई बुकिङ कसुर गरेको अभियोगमा पक्राउ गरेको थियो।

कलाकार जबराविरुद्ध उच्च अदालत पाटनले २०७७ पुस २६ गते १० दिन कैद र ४५ लाख रुपैयाँ जरिवाना सुनाएको थियो। फैसला भए पनि कलाकार जबरा फरार रहेकाले प्रहरीको खोजीसूचीमा थिए।

२०७६ सालमा उनले घरव्यवहार चलाउन तथा व्यवसायमा लगानी गर्न रकम लिएका थिए। तर रकम फिर्ता गर्दा चेक अनुसारको बैङ्क खातामा पर्याप्त रकम नभएपछि उनीविरुद्ध उजुरी परेको थियो। उनले त्यतिखेर ४५ लाख रुपैयाँको चेक काटेका थिए।

राजेन्द्र खड्गी नेपाली सिने क्षेत्रमा स्थापित नाम हो। २०७४ माघमा ठमेलबाट सिआईबी टोलीले उनलाई पक्राउ गर्‍यो। दक्षिण कोरियामा विभिन्न फिल्म बनाउने भन्दै कलाकारको नाममा अवैध रूपमा दक्षिण कोरिया पठाएको आरोप थियो उनीमाथि। पछि उनलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठायो। तर उच्च अदालत पाटनले पाँच लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दियो।

अहिले खड्गी पहिलेजस्तो द्वन्द्व निर्देशकका रूपमा जमेका छैनन्। सायद उमेरले पनि साथ दिएन कि! बरु उनी युट्युबतिरै अन्तर्वार्तामा रमाएका छन्।

लागुऔषध केसमा पक्राउ परेका र्‍यापर आशिष राना मगर 'लाहुरे' हिरासत मुक्त भएको महिना दिन बितेको छैन। जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई पक्राउ गरेको थियो। केही दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेपछि यो केस अदालतमा पुगेको थियो। उनी पनि अदालतबाट धरौटीमा रिहा भएका छन्। मुद्दा अझै अदालतमा विचाराधीन नै छ।

गायक दुर्गेश थापा र भिटेन उर्फ समीर घिसिङले पनि केही घटनामा केही दिन हिरासत भोगिसकेका छन्। गायिका सिर्जना विरही, गायिका रेखा शाह पनि ठगी केसमा मुछिएका छन्।

यी घटनाले देखाउँछ कलाकारले आफ्नो 'स्टारडम' जोगाउन पाइला-पाइलामा सोच्नुपर्छ। नत्र हिरोबाट जिरोमा झर्न कत्तिबेर पनि लाग्दैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell