![वीरगंज महानगर प्रमुख सरावगी नेकपा एमालेमा प्रवेश, ओलीले गरे स्वागत](https://pahilopost.com/assets/upload/contentthumb/275386084_534881441252424_6410867637041316193_n.jpg)
वीरगंज : वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी नेकपा एमाले प्रवेश गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) त्यागेर सरावगी नेकपा एमाले प्रवेश गरेका हुन्।
वीरगंजमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरावगीलाई पार्टी प्रवेश गराएका हुन्। सरावगीले पार्टी प्रवेशबारे ओलीसँग गत मंगलवार छलफल गरेको थिए। ओलीसँग काठमाडौंमा भेट गरेर उनले पार्टी प्रवेश र आगामी स्थानीय तहको निर्वाचनमा एमालेबाट वीरगंज महानगरका मेयर लड्ने विषयमा छलफल गरेको स्रोतको दाबी छ।
सरावगीसँगै महानगरपालिका दुई वडा अध्यक्ष पनि एमाले प्रवेश गरेका छन्। वडा नं १४ का वडा अध्यक्ष भरत कुर्मी, वडा नं २५ का वडा अध्यक्ष बिसराज राउत कुर्मी, माओवादीका केन्द्रीय सदस्य बाबुराम दकौसिक लगायत २० जना भन्दा बढी पनि एमाले प्रवेश गरेका छन्।
चैत ८ गते भने वीरगंजमा औपचारिक रुपमा पार्टी प्रवेश कार्यक्रम आयोजना हुने बताइएको छ।
तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित मेयर सरावगी यसअघि नेपाली कांग्रेसमा प्रवेश गरेर वीरगंजको मयेरमा फेरि लड्ने चर्चा चलेको थियो। तर कांग्रेसको १४ औं अधिवेशनमा संस्थापन पक्ष विजयी भएपछि उनको कांग्रेस प्रवेश गर्ने बाटो बन्द भएको हो।
सरावगी कांग्रेसको संस्थापन इतर पक्षसँग पार्टी प्रवेश गर्ने बारे छलफलमा थिए। तर, संस्थापन पक्षबाट निर्वाचित जिल्ला सभापति जनार्दन सिंहले सरावगीलाई कांग्रेसबाट टिकट नदिने अडान राखेको स्रोतको भनाई छ। कांग्रेस पर्साका अन्य प्रभावशाली नेता पनि सरावगीलाई कांग्रेसमा ल्याउने पक्षमा थिएनन्।
जसपामा स्थानीय नेता र कार्यकर्ताहरुले असहयोग गरेको कारण सरावगीले यस पटक अन्य पार्टीबाट स्थानीय तहको निर्वाचन लड्ने सोच बनाएको बुझिएको छ। समय-समयमा उनले यो कुरा सार्वाजनिक रुपमै भन्ने गरेका थिए।
यता, टिकट पाउने आश्वासनमा वीरगंज महानगरपालिकाको मेयरका अर्का प्रत्यासी राजेशमान सिंह यसअघि नै लोकतान्त्री समाजवादी पार्टी (लोसपा) परित्याग गर्दै एमाले प्रवेश गरिसकेका छन्। सरावगी पनि एमाले गएपछि मेयरको टिकट कसले पाउने भन्ने कुरा चासोको विषय बनेको छ।