काठमाडौं : करिब ७० लाख रुपैयाँ बराबरको अवैध औषधि सहित प्रहरीले झापाबाट एक जनालाई पक्राउ गरेको छ।
झापा बुद्ध शान्ति गाउँपालिका वडा नम्बर ४ स्थित इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले इलामबाट झापा तर्फ आउँदै गरेको मे १ च ६८३३ नम्बरको पिकअपबाट अवैध औषधि बरामद गरेको हो। गाडीमा माथिबाट छुर्पी र घ्यू को बोराले छोपेर अवैध औषधिहरू ल्याएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले बताए।
प्रहरीले इलाम सूर्योदय नगरपालिका वडा नम्बर ३ बस्ने ३० वर्षीय सईन्द्र राई नियन्त्रणमा लिएको हो। प्रहरीले बरामद गरेको औषधिको मूल्य ६९ लाख ७७ हजार ९४४ रुपैयाँ रहेको छ।
थप अनुसन्धानको लागी राई र औषधिलाई औषधि व्यवस्था विभाग शाखा कार्यालय कन्चनबारी विराटनगर मोरङ पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।