विरगंज : स्रोत नखुलेको १८ लाख ७३ हजार रुपैयाँ बरामद भएपछि प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको मोतीहारीका ४५ वर्षीय दीपनारायण प्रसाद छन्। प्रहरी अपरेसनका क्रममा प्रसादको मोटरसाइकलबाट रकम बरामद भएपछि सशस्त्र प्रहरीले शुक्रवार उनलाई पक्राउ गरेको हो। ११ नम्बर गण रौतहटको सशस्त्रका सई पंकजकुमार सिंहको कमान्डमा रहेको टोलीले रौतहटको बौधिमाई-९ सरमुझवाबाट दीपनारायणको बीआर ०५ वाई २९६९ को मोटरसाइकलमा लुकाइरहेको अवस्थामा उक्त रकम बरामद गरेको हो।
प्रहरीले चेकजाँच गर्दा टुल बक्स, हेलमेट तथा सिटमुनि १८ लाख ७३ हजार फेला परेको हो। पैसाको यकिन स्रोत उनले खुलाउन सकेनन्।
सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीका डीआइजी गणेश ठाडा मगरले उनलाई कारबाहीका लागि बरामद रकम र मोटरसाइकलसहित गौर भन्सारको जिम्मा लगाएको बताए।