
काठमाडौं : संखुवासभा प्रहरीले जग्गा ठगी प्रकरणमा ६ जनालाई पक्राउ गरेको छ। वडा अध्यक्षकै योजनामा जग्गा ठगी भएकोसमेत खुलेको छ। प्रहरीले भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष किन्साङ भोटेलाई नियन्त्रणमा लिएको हो। त्यस्तै, मालपोत कार्यलयमा कार्यरत एक नायव सुब्बासमेत रहेका छन्।
प्रहरीले भोटखोला गाउँपालिका बस्ने ३० वर्षीय सुरेन्द्र तामाङ, २१ वर्षीया कल्पना भोटे, २० वर्षीय ङिमा लाजुङ भोटे, खादबारी नगरपालिका १ घर भएका ५१ वर्षीय महेन्द्रकुमार पराजुली, मकालु गाउँपालिका घर भएका ३५ वर्षीय अनिस गुरुङ र चैनपुर नगरपालिका बस्ने ३५ वर्षीय पासाङ शेर्पा रहेका छन्। पराजुली मालपोत कार्यलय खादबारीका नायव सुव्बा हुन्।
उनीहरुले बिममाया तामाङलाई वृद्धभत्ता मिलाइदिन्छौ भन्दै खाँदबारी ल्याई ६ वटा कित्ता जग्गा नामसारी गराएका थिए। कित्ता नमबर २७५ र २८० को जग्गा अरुकै नाममा रजिष्ट्रेसन पास गराएका हुन् उनीहरुले। वडा अध्यक्ष किन्साङ भोटे, सुरेन्द्र तामाङ र मालपोत कर्मचारी महेन्द्रकुमार पराजुलीको योजनामा बिममाया तामाङलाई प्रलोभनमा पारी, झुक्याई तथा कीर्ते कागजसमेत तयार पारी अरुण जलविद्युत आयोजनाबाट ठूलो रकम मुआब्जा लिने प्रयोजनका लागि आफन्तको नाममा जग्गा पास गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।
प्रहरी अनुसन्धानमा यस्तो देखियो
संखुवासभा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिपङ बस्ने दलबहादुर तामाङको नाममा कित्ता नम्बर १००, २७४, २७५, २८०, २९२ र ३४८ को जग्गा रहेको थियो। २०५८ माघ १५ गते दलबहादुर तामाङको मृत्यु भयो। त्यसपछि जग्गाको हकवाला एक मात्र सन्तान बिममाया तामाङ भइन्। ७५ वर्षीय बिममाया तामाङ आँखा कम देख्ने ,कान कम सुन्ने र लेखपढ गर्न नसक्ने छिन्। उनको पहिलाका श्रीमान भोटखोला वडा नं. ४ बस्ने भक्त तामाङ तथा आफ्ना तीन सन्तान छाडी दिलबहादुरसँग विवाह गरेकी थिइन्।
भोटखोला गाउँपालिका को वडा नम्बर २, ४ र ५ का विभिन्न स्थानमा माथिल्लो अरुण जलविद्युत आयोजना निर्माणको लागि अध्ययन, जग्गा सर्भेक्षण तथा जग्गा प्राप्तीको काम भइहरेको थियो। मृत्यु भएका दलबहादुर तामाङको नाममा रहेको जग्गा मध्ये कित्ता नम्बर २७५ र २८० उक्त आयोजनाको सर्भेक्षण गरिएको क्षेत्रभित्रको जग्गा पर्यो।
खाँदबारीमा बसोबास गर्दै आएका सुरेन्द्र तामाङले आयोजनाको मुआव्जा क्षेत्रभित्र पर्ने उक्त जग्गाको सम्बन्धमा वडा अध्यक्ष किन्साङ भोटेसँग भेट गरेपछि जग्गा हत्याउने योजना बनाए। उक्त जग्गाको हकवाला बिममाया तामाङ नातामा फुपू भएको बताउँदै उक्त जग्गा नामसारी गर्ने रणनीति बनाए। जग्गा नामसारी तथा पास गर्न मालपोत कार्यालयका कर्मचारी महेन्द्रकुमार पराजुलीसँग उनीहरू मिले।
सुरेन्द्र तामाङले बिममाया तामाङलाई ललाई फकाई गरे। बृद्ध भत्ताको लोभ देखाउँदै त्यसका लागि कार्ड बनाउनुपर्ने सुनाए। त्यसपछि उनलाई खाँदवारी ल्याई आफू बस्दै आएको स्थानमा तीन दिनसम्म सँगै राखे। पूर्व योजना बमोजिम उक्त जग्गा स्वर्गीय दलबहादुर तामाङबाट छोरी बिममाया तामाङको नाममा नामसारी गर्न आवश्यक पर्ने कागजातहरु वडा अध्यक्षले खाँदवारीमै बसी तयार गरेको प्रहरी अनुसन्धानमा खुल्छ।
उनीहरुले फागुन १ गते जिल्ला प्रशासन कार्यालयवाट बिममाया तामाङको नागरिकताको प्रतिलिपी बनाए। मृतक दलबहादुर तामाङको नाममा रहेको सम्पूर्ण जग्गाहरु बिममाया तामाङको नाममा नामसारी गर्न आवश्यक कागजात तयार गरी मालपोत कार्यालयमा लेखापढी गर्ने अनिस गुरुङ मार्फत् मालपोत कार्यालयमा पेश गरेको देखिन्छ। भोलिपल्ट दलबहादुर तामाङको नामबाट बिम माया तामाङको नाममा नामसारी भएको थियो उक्त जग्गा।
पूर्व योजना बमोजिम बिममाया तामाङको नाममा नामसारी भएको जग्गा मध्ये कित्ता नम्बर २७५ को क्षेत्रफल १८३० वर्ग मिटर र २८० को क्षेत्रफल ११७३५ वर्गमिटर छ। यी जग्गा मध्ये कित्ता नम्बर २७५ को जग्गा मालपोत कर्मचारी महेन्द्रकुमार पराजुलीको सल्लाहअनुसार आफ्नै घरमा कोठा भाडामा बस्ने पासाङ शेर्पाको नाममा रजिष्ट्रेसन पास गरे। कित्ता नम्बर २८० को जग्गा चाहिँ वडा अध्यक्ष किन्साङ भोटेको तर्फबाट कल्पना भोटे र सुरेन्द्र तामाङको तर्फबाट आफ्नै श्रीमती ङिमालाजुङ भोटेको नाममा संयुक्त रजिष्ट्रेसन पास गराएका थिए।
कल्पना भोटेको हकमा रजिष्टेसन पास लेखापढी व्यबसायी अनिस गुरुङको नाममा वारेस पास भएको थियो। सम्पूर्ण कागजात लेखापढी गरेवापत अनिस गुरुङलाई वडा अध्यक्ष किन्साङ भोटेले पारिश्रमिक ९ हजार रुपैयाँ दिएका थिए। काम समाप्त भएपछि सुरेन्द्र तामाङले बिममाया तामाङलाई राती घरमा पुर्याई बृद्धभत्ता बापतको पैसा भनी २० हजार रुपैयाँ र लालपूर्जा समेत दिएका थिए। १६ गते पासाङ शेर्पाको नाममा पास भएको कित्ता नम्बर २७५ को जग्गा मालपोत कार्यालयका कर्मचारी महेन्द्रकुमार पराजुलीको श्रीमती कबिता पराजुलीको नाममा नामसारी भएको थियो।