हेटौंडा : भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आइरहेको विजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कारबाट वरिष्ठ संगीतकार तथा प्राध्यापक दीपक जंगमलाई प्रदान गरेको छ। भीम विरागको १० औं स्मृती दिवसको अवसरमा शनिवार हेटौंडामा प्रतिष्ठानले एक सांगीतिक समारोहका बिच उक्त पुरस्कार प्रदान गरेको हो।
हेटौंडाका व्यवसायी र समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नाममा विजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार स्थापना गरेका हुन्। २०६४ सालदेखि प्रतिष्ठानको व्यवस्थापनमा हरेक वर्ष उक्त पुरस्कार प्रदान गरिँदै आएको छ।
वरिष्ठ संगीतकार जंगमलाई एक लाख नगद सहित पुरस्कृत गरिएको हो। २०१० सालमा भक्तपुरको टौमढीमा जन्मेका जंगमले हालसम्म ४ हजार भन्दा बढी गीतमा संगीत भरेका छन्। यस्तै, २०० भन्दा बढी गीतमा स्वर दिएका छन्। ‘किन किन तिम्रो तस्विर’, ‘गाजलु ती ठूलाठूला आँखा’, ‘एउटा मान्छेको मायाले कति’, ‘सावनको झरि बनी’ लगायत चर्चित गीतमा उनको संगीत छ।
नेपाली सांगीतिक क्षेत्रमा आफ्नो पृथक पहिचान बनाएका संगीतकार जंगमले ‘ब्युउँझाइदेऊ नयन’ गीत रेडियो नेपालमा रेकर्ड गराएका थिए। उनको रचना, संगीत र स्वर रहेको उक्त गीत नै पहिलो रेकर्ड भएको गीत हो।
उक्त पुरस्कारसँगै भीमविराग युवा संगीत पुरस्कार २०७८ बाट गायक शिव परियारलाई नगद २५ हजार सहित पुरस्कृत भएका छन्।