PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

झलनाथ खनालको कार्यकर्तालाई निर्देशन : चुनावमा कसैले पैसा लिएर आए समात्नु



पहिलोपोस्ट

झलनाथ खनालको कार्यकर्तालाई निर्देशन : चुनावमा कसैले पैसा लिएर आए समात्नु

काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नैतिकताको कुरा अगाडि सारेर चुनावमा जाने बताएका छन्। इलाम काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले अरु पार्टीले पैसा लिएर चुनाव प्रभावित गर्न खोज्न सक्ने बताएका हुन्। त्यसरी पैसा लिएर जानेहरु बारेमा सूचना पाए पक्राउ गर्न उनले नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन्।

'लडाकु साथीहरु तयार हुनुस। आचारसंहिता उल्लंघन भयो भने ठाउँका ठाउँ समात्ने आयोगमा उजुरी दिने। पैसाका विरुद्ध पैसाले लड्न सकिदैन्,'उनले भने।

उनले जनमुखी कार्यक्रमबाट पार्टीले धेरै भन्दा धेरै सिट जित्न सकिने समेत बताए। कार्यकर्तालाई जनताको परिवारका हरेक सदस्यसम्म पुग्न निर्देशन दिँदै उनले कांग्रेससँग चुनावमा तालमेल भए पनि कम्युनिस्ट विचार लिएर चुनावमा जान आफू स्वतन्त्र भएको बताए।

भने,'हामीले हाम्रो घोषणा पत्रमा भएको विचार सम्पूर्ण जनतामा लानुपर्छ। भोट यसरी हाल्ने भनेर जनतालाई सिकाउनुपर्छ। आफ्नो विचार स्वतन्त्र रुपमा लिने कुरामा हामी सचेत हुनुपर्छ। अहिले हाम्रो उद्देश्य बढी भन्दा बढी सिट जित्ने हो।' 

उनले एकीकृत समाजवादीको संगठन विस्तार असाधारण रुपमा भइरहेको समेत बताए। ६ महिनामा धेरै काम सकिसकेको भन्दै उनले मनाङमा बाहेक सबै ठाउँमा संगठन बनिसकेको दाबी गरे।

'तपाईं हामी भर्खर ६ महिनामा पुग्दै छौं। यो त कलिलो पार्टी हो नि। म त २० साल बाट लागेको।अहिले ६ महिनामा कस्तो पार्टी बनाएछौं भने केन्द्रमा सबै सुदृढिकरण गरेका छौं,' खनालले भने, 'सबै ठाउँमा संगठन बनाएका छौं। मनाङमा छैन। मनाङका मान्छेहरु सबै बाहिर बस्ने भएकाले बाहिर बनाउँदा त अहिले पनि बनाउन सक्छौ। यो पार्टी बढ्दो अवस्थामा छ। ६ महिनामा यस्तो पार्टी बन्ने भनेको असाधारण कुरा हो,' खनालले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell