काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई 'नक्कली मुला'को संज्ञा दिएका छन्। शेरबहादुर देउवा नेतृत्वको सरकार पनि बालुवामा राखिएको 'नक्कली मुला' भएको ओलीले बताएका छन्।
शनिवार नेपाल निजामती कर्मचारी संगठनको ११ औं राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै ओलीले सरकार जरा बिनाको मुला भएको बताएका हुन्।
'यो केही होइन, मुलाको पनि अलिकति सानोतिनो भए पनि जरा हुन्छ, यसको त, जरा न फरा पाँच जनाले नियुक्त गरेको छ। जरा न फराको सरकार। केही पनि छैन, टपक्क टिप्यो भने उखेलिन्छ। बालुवामा लगेर राखेको नक्कली मुला यसो एकछिन बालुवामा राखेजस्तो हो यो,' ओलीको टिप्पणी थियो। उनले एमाले निकट कर्मचारीलाई सरकारलाई सहयोग गर्न निर्देशन दिए।
ओलीले मन्त्रीहरु परमादेशबाट झुक्किएर 'पावर'मा पुगेको समेत बताए। मन्त्रीहरु 'पावर'को आडमा अहंकारी बनिरहेको ओलीको आरोप छ।
'कहिले कहिले टेलिभिजनमा मन्त्रीका भाषण देख्दा अचम्म लाग्दैन? हुम् हुम् हुम् गर्छन्। तपाईंहरुलाई अचम्म लाग्दैन? क्या मन्त्री? कहाँबाट आयो यस्तो मन्त्री? कसरी आयो? कस्तो कस्तो मान्छे? अखडामा कुस्ती खेल्न पस्दैछ कि? रेस्लिङको रिङमा पस्दैछ कि? साधारण मान्छेहरु पनि अचम्म मान्छन्। त्यो के हो भने उन्माद हो,'ओलीले एकीकृत समाजवादीका मन्त्रीहरुलाई लक्षित गर्दै भने।
एमालेले चुनावमा सबै दललाई 'स्विप आउट'गर्ने ओलीले दाबी गरे। उनले ५ वर्ष कुर्न नसक्दा एमालेको सरकार हटाउने बाटोमा आफू विरोधी नेता लागेको बताए।
भने,'कुनै पनि ठाउँमा हिजोको जस्तै परिणाममा एमालेको सन्दर्भमा हिजोको जस्तो परिणाको कसैले कल्पना नगरे हुन्छ। एमालेले स्वीप आउट गर्दैछ। एमालेलाई ५ वर्ष सत्ता संचालन गर्न दिएको भए ८० प्रतिशत भन्दा बढी भोट एक्लै एमालेले ल्याएर बढारिदिन्थ्यो। त्यसैले कसैले ५ वर्ष कुर्न सकेनन्। यिनीहरुले सोचेका होलान् बिचमै परामादेशबाट एमालेलाई हटाइयो अब रोकिन्छ होला भनेर तर एमाले एउटा भेल हो।'