
हेटौँडाः प्रदेश खेलकुद विकास परिषद् वाग्मती प्रदेशको आयोजनामा प्रथम खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको छ। मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रतियोगिताको उद्घाटन गरेका हुन्।
पाण्डेले ओलम्पिक टर्च बालेर ओलम्पियन धावक बैकुण्ठ मानन्धरलाई हस्तान्तरण गर्दै प्रतियोगिता उद्घाटन गरेका थिए। हेटौँडाको क्याम्पा चौरमा भएको उद्घाटन कार्यक्रममा नेपाल आर्मी, नेपाल प्रहरीको व्याण्डसहितको प्रस्तुति, विद्यार्थीहरुद्धारा ड्रिल प्रदर्शन, अतिसबाजी, मार्सल आर्टस् डेमो, विभिन्न तामाङ, नेवाः, थारु समुदायले आफ्नो झाँकी तथा खैजेडी र पञ्चेबाजाको साँस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरिएको थियो।
उद्घाटन कार्यक्रममा हेटौँडामा मिनी रंगशाला निर्माणमा योगदान गरेकोमा पूर्व राष्ट्रिय बक्सिङ खेलाडी तथा पिप्ले युवा क्बलका अध्यक्ष सुशील घिमिरेलाई सम्मान गरिएको थियो।
प्रतियोगिता अन्तर्गत मकवानपुरमा आइतबार पुरुष तर्फको फुटबल हुनेछ। पहिलो खेल समूह (ख) चितवन र ललितपुरबीच हुने परिषदले जनाएको छ। खेल नकआउट चरणमा हुनेछ।
प्रतियोगितामा ८ वटा खेल हुनेछन। मकवानपुरमा आइतबारबाट पुरुष फुटबल, व्याडमिन्टन र चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ।
त्यस्तै, चितवनमा ३० गतेदेखि भलिबल र क्रिकेट खेल खेलाइने परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले बताए।
त्यस्तै, सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेक्टिस प्रतियोगिता हुने परिषदले जनाएको छ।
त्यस्तै, काभ्रेमा चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखि बक्सिङ प्रतियोगिता हुने सदस्य सचिव भण्डारीले बताए।
प्रतियोगितामा आठ करोड ४ लाख रकम खर्च हुने अनुमान गरिएको छ। विभिन्न खेलमा करिब २ हजारभन्दा बढी खेलाडीले सहभागिता जनाउने छन्। खेलको समापन चैत १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ।