PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

रोनाल्डोको ह्याट्रिकमा टोटेनहममाथि म्यानचेस्टर युनाइटेडको जित



पहिलोपोस्ट

रोनाल्डोको ह्याट्रिकमा टोटेनहममाथि म्यानचेस्टर युनाइटेडको जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले टोटेनहम हट्सपरमाथि जित निकालेको छ। ओल्ड ट्राफोर्ड मैदानमा सम्पन्न खेलमा घरेलु टोली युनाइटेडले टोटेनहममाथि ३-२ गोलअन्तरले जित निकालेको हो।

युनाइटेडको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक पुरा गरे। खेलको १२ औं मिनेटमा फ्रेडको पासमा गोल गर्दै उनले घरेल टोलीलाई अग्रता दिलाएका थिए। अर्कोतर्फ ३५ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै टोटेनहमका ह्यारी केनले खेल बराबरीमा ल्याए। तर, ३८ औं मिनेटमा फेरि रोनाल्डोले जडोन साञ्चोको पासमा गोल गरेपछि पहिलो हाफमा युनाइटेड २-१ गोलले अघि रह्यो।

दोस्रो हाफमा युनाइटेडका ह्यारी म्यागुएरले आत्मघाती गोल गर्न पुग्दा फेरि खेल बराबरीमा आयो। ७२ औं मिनेटमा बराबरीमा आएको खेललाई आफ्नो पक्षमा पार्न रोनाल्डोले ८१ औं मिनेटमा अर्को गोल थप्दै ह्याट्रिक पुरा गरे। र, घरेलु टोलीको जित सुनिश्चित गरे।

जितसँगै युनाइटेड २९ खेलबाट ५० अंक जोडेर चौथो स्थानमा उक्लिएको छ। अर्कोतर्फ टोटेनहम २७ खेलबाट ४५ अंक जोडेर तालिकाको सातौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell