PahiloPost

Jun 24, 2024 | ११ असार २०८१

कांग्रेसको चुनावी अभियान आजदेखि : नेकपा सरकारका काण्ड प्रस्ट पार्ने र एमसीसी भ्रम चिर्नेसम्म यस्ता छन् ८ उद्देश्य



पहिलोपोस्ट

कांग्रेसको चुनावी अभियान आजदेखि : नेकपा सरकारका काण्ड प्रस्ट पार्ने र एमसीसी भ्रम चिर्नेसम्म यस्ता छन् ८ उद्देश्य

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय निर्वाचन केन्द्रित एक महिने अभियान आजदेखि सुरु गर्दै छ। अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरु खटिइसकेका छन्।

'घरघर जाऔं, कांग्रेस जिताऔं' नारा राखिएको अभियानमा कांग्रेसले स्थानीय निर्वाचन आफ्नो पक्षमा पार्न नेकपा सरकारको तीन वर्षे कार्यकालमा भएका अनियमितता जनता समक्ष व्यापक बनाउने कार्यक्रम अभियानमा राखेको छ। मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीबारे जनतामा रहेका भ्रमलाई समेत चिर्ने कांग्रेसले जनाएको छ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अभियानमा मतदानमा सबैलाई सहभागी हुन अपील गर्ने, आचारसंहिता पालना गर्दै स्वस्थ प्रतिस्पर्धामा जोड दिने, स्थानीय पार्टी संरचनालाई पूर्णता दिने, समृद्धि संवाद र जनतासँग सम्बन्ध प्रगाढ बनाउने उल्लेख गरेका छन्। यस्तै, अभियानमा सत्यतथ्य प्रचार, अनेक भ्रमको चिरफार गरिने उनको भनाइ छ।

अभियानका ८ उद्देश्य
१ . वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्दै निर्वाचनको माहोल बनाउने ।

२. स्थानीय निर्वाचनमा नेपाली काग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र उर्जा अभिवृद्धि गर्ने। कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन मतदातालाई अपील गर्ने।

३. 'हरेक काँधलाई भारी,  हरेक हातलाई जिम्मेवारी'को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बॉडफॉड, गरेर पार्टी पङ्क्तिलाई स्थानीय निर्वाचनमा वृहत्तर परिचालनतर्फ उन्मुख गराउने।

४. नेपाली कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने।

५. नेकपाको सरकारको गत ३ वर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनता समक्ष व्यापक रूपमा राख्ने।

६. प्रतिपक्षमा रहनु पर्ने जिम्मेवारीका वावजुद संविधान रक्षाका लागि वाध्यात्मक रुपमा सरकारमा जानु परेको यथार्थ जनसमक्ष राख्ने।

७. नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि जनताको जीवन रक्षालाई प्रधान कार्यभार बनाएर सरकारले छोटो समयमा ७०% नागरिकलाई खोप लगाइसकेको र निर्वाचनसम्म पुग्दा प्रायलाई लगाइसक्ने योजना थप स्मरण गराउँदै जनतालाई कोरोना महामारीसंग अझै सतर्कताका लागि अपील गर्ने।

८. करिब-करिब राष्ट्रिय सहमतिको स्थिति निर्माण गरेर हालसम्मकै सबैभन्दा ठूलो सहयोग। परियोजना एमसीसी कांग्रेस नेतृत्वको वर्तमान सरकारको नेतृत्वमा संसदबाट पारित भएको हुँदा त्यसबारेमा जनस्तरमा छरिएका अम बुँदागत रुपमा चिर्दै वास्तविकता प्रष्टसँग राख्ने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell