PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

काठमाडौं महानगरपालिकामा कांग्रेसबाट को बन्ला मेयरका उम्मेद्‍वार?



पहिलोपोस्ट

काठमाडौं महानगरपालिकामा कांग्रेसबाट को बन्ला मेयरका उम्मेद्‍वार?

काठमाडौं : स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै प्रमुख दलहरुमा कसलाई उम्मेद्‍वार बनाउने भन्नेबारेमा रस्साकस्सी सुरु भएको छ। सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले प्रमुख दल बन्ने दाउका साथ 'घरघर जाऔं, कांग्रेस जिताऔं' अभियान आइतवारबाट सुरु गरेको छ।

यही सन्दर्भमा काठमाडौं महानगरमा कसलाई मेयरको टिकट दिने भन्ने विषयमा पनि चर्चा सुरु भएको छ। अघिल्लो निर्वाचनमा मेयर गुमाएको कांग्रेसको दाउ छ - यसपटक कुनै हालतमा काठमाडौं महानगरमा जित निकाल्ने। मतदाता रिझाउन र माहोल आफ्नो पक्षमा पार्न कांग्रेस महानगर समितिले यसपटक नगरका सबै वडासहित मेयर, उपमेयर जिताउन टोलटोल केन्द्रित कार्यक्रमको तयारी गरिरहेको नगर सचिव सुसन वैद्यले बताए।

उनले स्थानीय निर्वाचन लक्षित गर्दै नगर समितिले ५ वटा उपसमिति समेत गठन गरिसकेको जनाए।

'पार्टीले घरघर जाऔं, कांग्रेस जिताऔं अभियान घोषणा गर्नुअघि र्नै हामीले आन्तरिक तयारी थालिसकेका थियौं। केही विभागसमेत गठन भइसकेको छ,' वैद्यले भने, 'कांग्रेसले महानगरमा ठुलठुला कुरालाई चुनावी नारा बनाउँदैन। हामी काठमाडौंलाई बसौं बसौं लाग्ने शहर कसरी बनाउने? त्यसतर्फ यानेजनासहित प्रस्तुत हुन्छौं। सम्पदा संरक्षणसहित काठमाडौंलाई रथ तान्ने र रथ हेर्नेहरु दुवैले आफ्नै महसुस गर्ने नगर बनाउने योजनासहित मतदाताकोमा पुग्छौं।'

मेयरको टिकटमा ककसको दाबी?

महानगरको मेयरमा भिड्न अहिले उप प्रमुख हरिप्रभा खड्गी, कांग्रेस नगर सभापति निलकाजी शाक्य र नगर सचिव सुसन वैद्यको चर्चा छ। महिला पनि भएको र उपमेयर भइसकेकाले खड्गीलाई स्वभाविक दाबेदारका रुपमा हेरिएको छ। 'मेयर विद्यासुन्दर शाक्यले रानी पोखरी, टुँडिखेल लगायतका सम्पदा स्थल भूमाफियालाई दिने निर्णय गरेको' भन्दै उपप्रमुख खड्गीले विरोध जनाएकी थिइन्। जसकारण उनी सम्पदा अभियन्ता र स्थानीय बिच चर्चामा छिन्। तर, यसअघि काठमाडौंमा कमजोर दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को उमेदवारसँग प्रतिस्पर्धा हुँदा सहज रुपमा जिते पनि मेयरमा भने उनलाई सहज नहुने दाबी गर्नेहरु कांग्रेसभित्र देखिन्छन्।

मेयरको टिकट दाबी गर्ने अर्का नेता हुन्,काठमाडौं कांग्रेस महानगर समितिका सभापति निलकाजी शाक्य। वडाध्यक्ष रहेका शाक्यको काठमाडौंको पुरानो वस्ती वडा १२ १४, १७ १८ र २५ मा बलियो प्रभाव देखिन्छ। कलाकार समेत रहेका शाक्य सेतो मछिन्द्रनाथका पुजारी समेत हुन्। यस्तै, नगर निर्वाचनमा शाक्यसँग पराजित प्रगतिमान रंजितले पनि मेयरमा दाबी गरिरहेको बुझिन्छ। यसअघिको निर्वाचनमा पनि मेयरमा दाबी गरेका रंजित संस्थापन पक्षका हुन्। अहिलेका प्रदेश सभा सदस्य नरोत्तम वैद्यले पनि मेयरमा गृहकार्य गरिरहेका छन्। प्रदेश सांसद वैद्य सभापति शेरबहादुर देउवा निकट मानिन्छन्। त्यस्तै, कांग्रेस काठमाडौंका पुराना नेता पूर्व मन्त्री तीर्थराम डँगोलले पनि मेयरमा रुची देखाएका छन्।

युवा अनुहारमा २०७४ को स्थानीय निर्वाचनमा पनि मेयरमा दाबी गरेका सुसन वैद्यको नामसमेत मेयरको लागि चर्चामा छ। सम्पदा संरक्षण अभियानमा सक्रिय सुसन इन्जिनियर हुन्। अस्तव्यस्त काठमाडौं व्यवस्थापन गर्नसक्ने योजना रहेको दावी गर्दै आएका छन्।

मेयर विद्यासुन्दर शाक्य जोडिएका सम्पदा पुनर्निर्माणको काम मौलिक शैलीमा नभएको भन्दै उनले विरोध जनाउँदै आएका थिए। यसो त सुसन भीमसेनदान प्रधान निकट नेता हुन्। पार्टी नेता कृष्णप्रसाद सिटौला निकट प्रधानले पछिल्लो महाधिवेशनमा प्रधानले सभापतिमा शेरबहादुर देउवालाई सघाएका थिए।  पेशाले आर्किटेक्ट इन्जिनियर वैद्यका ठमाडौंकै रैथाने हुन्। उनी रानीपोखरी र टुँडिखेल बचाउ अभियानमा नेतृत्व गरेका कारणले पनि चर्चामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell