PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

बिहेको लुगा किन्न जाने भन्दै युवतीलाई भारतमा बेच्‍ने तयारी, सीमा पार गर्नै लाग्दा समातिए अभियुक्त



पहिलोपोस्ट

बिहेको लुगा किन्न जाने भन्दै युवतीलाई भारतमा बेच्‍ने तयारी, सीमा पार गर्नै लाग्दा समातिए अभियुक्त
प्रतिकात्मक फोटो

काठमाडौं : जनचेतना र प्रहरी प्रशासन लगायतको सक्रियता बढ्दै गए पनि नेपालबाट महिला बेचबिखन भने रोकिएको छैन। अहिले पनि मानव तस्करहरू विभिन्न बहानामा महिलालाई भारतदेखि तेस्रो विश्वसम्म पुर्‍याएर बिक्री गर्ने गरेको पाइन्छ।

केही दिनअघि मात्र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले भारतीय बजारमा लैजान लागेकी एक युवतीको उद्धार गरेको छ।

काठमाडौँ शंखरापुरा नगरपालिका बडा नम्बर  ४ लप्सेफेदीकी २० वर्षीय युवतीलाई प्रेम जालमा पारेर भारतीय बजार लैजादै गरेको अवस्थामा प्रहरीले सुनसरीको सीमा प्रहरी चौकी भाण्टावारीबाट उद्धार गरेको हो। प्रहरीले मानव बेचबिखन गरेको अभियोगमा भारत बिहार राज्य सुपौल छिटही हनुमाननगर गोपालपुर वडा नम्बर ५ बस्ने ३२ वर्षीय मोहम्मद फिरोजलाई नियन्त्रणमा लिएको छ।

उनीविरुद्ध मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन २०६४ मा जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

कसरी परिन् युवती मानव तस्करीको जालमा?

भारत बिक्री गर्न लगिएको युवतीको घर भने काठमाडौं हो। प्रहरीले नियन्त्रणमा लिएका फिरोज केही समयदेखि काठमाडौंमा नै बस्दै आएका थिए। त्यही क्रममा उनीहरू बिच चिनजान भएको प्रहरी अनुसन्धानमा खुल्छ। फिरोजले काठमाडौंमा घर बनाउने ठेक्का लिई काम गर्ने गरेका थिए। घर ठेक्कामा बनाउँदा उनीहरू बिच चिनजान भएको हो। त्यसपछि दोहोरो बोलचाल देखि सम्बन्ध बाक्लिँदै गएको प्रहरीले जानकारी दिएको छ।

युवती र फिरोज बिच प्रेम सम्बन्ध कायम भएको देखिन्छ। उनीहरू विवाह गर्नेसम्म पुगेका थिए। विवाहका लागि लुगा किन्ने भन्दै फिरोजले ती युवतीलाई भारत लैजाने योजना बनाए। युवती भारतमा लुगा किन्न जानेमा सहमत भइन्।

फागुन २५ गते उनीहरू काठमाडौँबाट सुनसरी पुगे। सुनसरीको भान्टावारी नारायणी होटेलमा सँगै बसे। फागुन २६ गते बिहान, नेपालबाट भारत तर्फ जान लागेका थिए। त्यही क्रममा उनीहरू प्रहरीको शङ्काको घेरामा परे। प्रहरीको अनुसन्धान र दुई जनालाई सोधपुछ गरेपछि फिरोजले भारत बिक्री गर्न लागेको सजिलै खुल्यो।

२० वर्षे युवती मानव तस्करबाट बेचिनबाट जोगिइन्। पछिल्लो समय देशभर मानव बेचबिखन तथा ओसारपसारको केस बढेर गएको छ। चालु आर्थिक वर्षको पाँच महिनामा मात्र ७६ वटा यस्ता केस प्रहरीमा दर्ता भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell