
काठमाडौं : आउँदो शुक्रवारदेखि 'चिसो एष्ट्रे' प्रदर्शनमा आउँदैछ। यतिखेर फिल्मका निर्माता, निर्देशक देखि कलाकारहरू प्रचारमै व्यस्त छन्। फिल्मको प्रमोशनको लागि आज काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम राखिएको थियो।
कार्यक्रमबिच फिल्म निर्माण टिमप्रति पत्रकारले किन फिल्मको चर्चा हुन नसकेको भन्दै प्रश्न तेर्साए। जवाफमा कलाकार दिव्य देवले फिल्मको प्रचार गर्न विवाद नै आवश्यक नपर्ने बताए।
'हाम्रो तर्फबाट हामीले उत्कृष्ट नै गरिरहेका छौं। एकमहिनादेखि दिनहुँ केही न केही गरिरहेका छौं। हामीसँग कन्सेप्ट र कन्टेन्ट दुवै छ तर कन्ट्रोभर्सी छैन। कन्ट्रोभर्सी गरेर मात्रै प्रचार किन गर्ने? कन्टेन्ट र विचारले पनि त प्रचारप्रचार गर्न सकिन्छ नि' उनले भने।
निर्देशक दिन्श पाल्पालीले आफूले फिल्मको प्रचारप्रसारमा कुनै कसर नछोडेको बताए। सात वर्ष लगाएर बनाएको फिल्ममा 'क्रियटिभिटी' बाहेक केही नहालेको उनको दाबी छ।
भन्छन्, 'फिल्मको प्रचारको लागि सबै गरिसके। रबिन दाई र सबिन दाईलाई गीत गाउन लगाइसके। भूपि शेरचनलाई फोटोमा अगाडि ल्याएर राखिसके। राम्रोसँग फिल्मको प्रचार हुन्छ भने अरू गर्नुपर्छ जस्तो लाग्दैन्।' यो फिल्म भूपि शेरचनको कविताबाट प्रभावित हो।
निर्माता महेशराज तिमल्सिनाले पनि फिल्म चलाउनको लागि विवाद आवश्यक नपर्ने बताए। फिल्म 'चिसो एष्ट्रे' माउथ पब्लिसिटीले चल्ने फिल्म रहेको उनको भनाई छ।