PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

एजेण्डा माग्दै एमाले, तालमेलको किचलोमा फस्दै गठबन्धन



प्रकाश भण्डारी

एजेण्डा माग्दै एमाले, तालमेलको किचलोमा फस्दै गठबन्धन

काठमाडौं : सत्ता गठबन्धनसँग एक्लै चुनावमा होमिने तयारीमा छ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)। सत्तारुढ दल र एमालेका नेताहरुबिच घम्साघम्सी सुरु भइसकेको छ। स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर जिल्ला दौडाहदेखि सवाल जवाफमा छन् एमाले र सत्तारुढ दलका नेता।

गठबन्धनले चुनावमा तालमेल गर्ने संकेत गरिरहँदा अर्कोतिर एमाले सरकारको आलोचना गरेर चुनावी माहोललाई 'क्यास' गर्ने दाउमा छ। चुनावी रणनीति कस्तो बनाउने? भन्नेबारे आन्तरिक गृहकार्य भइरहेको एमाल नेता बताउँछन्। स्थानीय तहको निर्वाचन आउन अब दुई महिना मात्रै बाँकी छ। त्यसैको तयारी स्वरुप दलहरुले गतिविधि तीब्र पारेका छन्।

एजेण्डा माग्दै एमाले

स्थानीय सरकारका लागि उम्मेद्वार कसरी तय गर्ने भन्ने मापदण्ड एमालेले बनाइसकेको छैन। कस्तो एजेण्डा बनाएर जाने भन्नेबारेमा तल्ला कमिटीहरुबाट सुझाव मागिएको पार्टी कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिए।

'उम्मेद्वार छान्ने विषय पार्टीमा प्रवेश नै भएको छैन। नीतिगत छलफल भएको छ। कस्तो घोषणा पत्र निकाल्ने भनेर। हामीले गरेका कामहरु कस्ता भए? त्यसलाई प्रचार प्रसार गर्ने र थप एजेण्डाहरु के छन् तलबाट माग गर्ने काम भएको छ,'उनले भने।

कस्तो व्यक्तिलाई उम्मेद्वार बनाउने भन्ने विषयमा अहिले नै टुंगो लाग्ने सम्भावना कम भएको अधिकारीले बताए। तर, निर्वाचन आयोगले दिएको समयसीमा भित्र सबै काम गर्न एमाले तयार भएको उनको दाबी छ।

एमालेबाट निर्वाचित भएका स्थानीय प्रतिनिधिहरुले काम गर्न के कस्ता कठिनाइहरु भए भन्नेबारेमा अहिले पार्टीमा छलफल भइरहेको छ। 'विकासको मोडल कस्तो हुनुपर्छ स्थानीय तहमा? के कति कठिनाइका कारण कामहरु गर्न पाएनौं हामीले? सघन रुपमा कमिटीगत छलफल भइरहेको छ,' अधिकारीले भने।

तालमेलको जिम्मा स्थानीय तहलाई

एमालेको जस्तो छरितो गरि सत्ता गठबन्धनमा चुनावको तयारी भएको छैन। कसरी तालमेल गर्ने? भन्नेमै गठबन्धन रुमल्लिरहेको छ। सबै दलहरुभित्र तालमेलबारे गृहकार्य भइरहेको भए पनि तालमेलको मापदण्ड बनिनसकेको गठबन्धनका नेताहरु बताउँछन्।

नीतिगत विषयलाई केन्द्रमा टुंग्याएर स्थानीय तहलाई नै चुनावी तालमेलको जिम्मा दिने तयारी सत्ता गठबन्धनको छ। उम्मेद्वारबारे मापदण्ड भने गठबन्धनले बनाउन सकेको छैन। अहिले तालमेलकै विषयमा नेताहरुबिच छलफल भइरहेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

'पोलिसि लेभलमा कुरा भइरहेको छ। उम्मेद्वार छान्ने मापदण्ड बनाउने काम सुरु भइसेकेको छैन। गठबन्धन गर्न केन्द्रमा दिने कि तल भन्नेमा छलफल चलिरहेको छ। मुलत: केन्द्रबाट पोलिसि फिक्स गरेर तल आवश्यकता अनुसार मिल्ने कुरामा जोड गर्ने वातावरण बन्छ होला,'उनले भने।

गठबन्धनको घोषणापत्र कस्तो?

गठबन्धनबाट उम्मेद्वार बन्नेहरुका लागि साझा घोषणा पत्र बन्नेछ। गठबन्धनकै एजेण्डा बोकेर चुनावमा जाने सम्भावना रहेको खतिवडाले बताए। भने,'सम्भवत: गठबन्धनकै एजेण्डा बनेर जान्छ सबै कुरा। गठबन्धनवालाले गठबन्धनको एजेण्डा बनाएर घोषणा पत्र बनाएर हिँड्नुपर्ने स्थिति आउला। यो विषयमा पनि फाइनल कुरा भइसकेको छैन।'

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा इतरका नेताहरुले चुनावी तालमेलबारे विरोध गर्न थालेपछि गठबन्धनका विरुद्ध नबोल्न देउवाले सचेत गराएका थिए। चुनावमा कस्तो एजेण्डा बनाउने, घोषणापत्र कस्तो हुने भन्नेमा पनि कांग्रेसभित्र एक मत नभएको बताइन्छ। माओवादी र एकीकृत समाजवादी साझा घोषणापत्र बनाउनुपर्ने पक्षमा भए पनि कांग्रेस भने त्यसका लागि तयार नभएको चर्चा गठबन्धनमा छ।

प्रदेश र जिल्लामा बन्दै समिति

गठबन्धनले चुनावी तालमेलका लागि प्रदेश र जिल्लामा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने तयारी गरेको छ। केन्द्रमा कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा उच्चस्तरीय राजनीतिक समन्वय समिति छ।

प्रदेश र जिल्लमा पनि समिति बनाउने निर्णय भइसकेकाले तत्काल समिति बनाउन लागेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। आइतवार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले चुनावका लागि उच्चस्तरीय समन्वय समिति बन्ने बताए।

माओवादी केन्द्रले एमाले बाहेकका दलहरुसँग आवश्यकता अनुसार तालमेल गर्नेछ। त्यसका लागि माओवादी केन्द्रमा छलफल भएको नेताहरुको भनाइ छ। माओवादी केन्द्रको गत सोमवार सम्पन्न भएको केन्द्रीय कमिटीको बैठकले २ महिने चुनावी अभियान चलाउने निर्णय गरेको थियो। उक्त अभियानमा संगठन विस्तारदेखि तालमेलमा जोड दिने उल्लेख छ।

कार्यकर्ता फकाउदै नेता

पार्टीको चुनावी तयारी तीब्र बनाउने भन्दा नेताहरुको ध्यान अरुका नेता/कार्यकर्ता फकाउनमा केन्द्रित छ। त्यसमा एमाले र माओवादी केन्द्रको प्रतिस्पर्धा नै छ। अरु दलका नेतालाई पार्टी प्रवेश गराउनमा एमाले अरु दलभन्दा आक्रामक देखिएको छ।

माओवादीले पनि आफूलाई कम भने ठानेको छैन। प्रचण्डले माओवादी छाडेर एमालेमा गएजस्तै एमाले र कांग्रेस परित्याग गरेर माओवादीमा आउनेको संख्या बढ्दो भएको बताएका छन्। 'तपाइले हेर्नुभयो भने खुमलटारमा एमाले र कांग्रेसका कार्यकर्ता प्रवेशको क्रम चलेको चल्यै छ। प्रतिस्पर्धाको राजनीतिमा यो चलिरहन्छ,'  प्रचण्डले विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा भने।

एमालेले आफूलाई कार्यकर्ता प्रवेश गराउनमा मात्रै आक्रामक बनाएको छैन् गठबन्धनलाई चुनावमा 'ठेगान' लगाइदिने चेतावनी दिइरहेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले देशव्यापी रुपमा पार्टी प्रवेशको लहर नै चलाएका छन्। त्यसका लागि अरु पार्टीमा असन्तुष्ट रहेका नेता कार्यकर्तालाई चुनावी 'ललिपप' देखाएर तानिरहेका छन् ओलीले। शनिवार ओलीले वीरगंज महानगरका मेयर विजय सरावगीलाई पार्टी प्रवेश गराएका थिए। जनता समाजवादी पार्टी (जसपा)त्यागेर सरावगी एमालेमा प्रवेश गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell