PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

चार ए डिभिजन क्लबको दाबी : हाम्रो अस्तित्व समाप्त पार्ने षड्यन्त्रको आभास भयो



पहिलोपोस्ट

चार ए डिभिजन क्लबको दाबी : हाम्रो अस्तित्व समाप्त पार्ने षड्यन्त्रको आभास भयो

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग खेल्ने चार वटा क्लबले आफ्नो अस्तित्व समाप्त पार्ने षडयन्त्रको आभास भएको बताएका छन्। लिग सकिएर नेपाल सुपर लिग (एनएसएल) को तयारी चलेदेखिनै असन्तुष्ट रहेका क्लबहरूले वर्तमान अवस्था नेपाली फुटबल र खेलाडीको हितमा नरहेको दाबी गरेका छन्। असन्तुष्ट क्लबहरूमा मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब, न्युरोड टिम र संकटा क्लब रहेका छन्।

'ए डिभिजन लिगका क्लबहरूले संयुक्त वक्तव्यमार्फत र एन्फालाई फिफाको नियमानुसार आफूसँग खेलाडीको अनुबन्धन बाँकी नै रहेको अवस्थामा खेलाडी बोलकबोल नगर्न र कसैलाई गर्न नदिनु भनेर सचेत गराएका थियौँ,' क्लबहरूको विज्ञप्तिमा भनिएको छ, 'एन्फाको क्यालेन्डरमा नसमेटिएको प्रतियोगिताबाट गरेको गैरकानुनी कार्यलाई एन्फाको आकस्मिक बैठकबाट रोकुन् भन्ने निर्णय गरी एन्फाका महासचिवको हस्ताक्षरबाट गरेको आधिकारिक हस्ताक्षरलाई अटेरी गर्ने आयोजकको वर्तावले समग्र फुटबल क्लब अहिले त्रसित बनेको अवस्था छ।'

विज्ञप्तिमा एन्फाले समन्वयकारी भूमिका नखेलेको र क्लबलाई जानकारी नगराई अन्य क्लबमा खेलाडी अनुबन्धित गरिएको भन्दै असन्तुष्टि पोखिएको छ। त्यस्तै क्लब र खेलाडीबीचको सम्बन्धमा फाटो ल्याउने प्रयास गरिएको आरोप पनि क्लबहरूको छ।

'विभिन्न उमेर समूहका खेलाडी र आधिकारिक ए डिभिजन क्लबहरूलगायत बी र सी डिभिजनका क्लब र जिल्ला फुटबल संघहरुको भविष्य पनि समाप्त हुन सक्ने आशंक रहेकोले यथाशीघ्र पदाधिकारीहरूको बैठक बसी क्लबहरूलाई आश्वस्त पार्न एन्फालाई सचेत पार्न चाहन्छौँ।' क्लबहरूले भनेका छन्।

ए डिभिजन सकिए लगत्तै सुपर लिगका क्लब मार्की खेलाडी र प्रशिक्षक अनुबन्धनमा आक्रामक देखिएका छन्। त्यस्तै सुपर लिगले खेलाडीको ग्रेडिङ छुट्याउँदै अक्सनको समेत घोषणा गरिएको छ।

यता विज्ञप्ति निकालेर अनुमतिबिना आफूले अनुबन्धन गरेका खेलाडीलाई सुपर लिगका क्लबले धमाधम मार्की खेलाडी घोषणा गर्दा विरोध गरे। तर, मार्की खेलाडी घोषणा गर्ने क्रम रोकिएन।

ए डिभिजन लिगका ८ क्लबले एन्फा अध्यक्षलाई पत्र लेख्दै अक्सन रोक्न माग गरे। र, एन्फाको पत्र अनुरूप शुक्रबार हुने अक्सन रोक्न भनिएको जनाइएको छ। यद्यपि निर्धारित मितिमै एनएसएलले अक्सन सम्पन्न गर्‍यो।

यसबाट असन्तुष्ट बनेका क्लबहरूले छलफलमार्फत समस्याको समाधान गर्न माग गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell