PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

चर्कँदै एनएसएल/ए डिभिजनको लफडा : सम्झौतामा यस्तो बुँदा, जसले झस्कायो ए डिभिजन क्लबलाई



मुकुन्द घिमिरे

चर्कँदै एनएसएल/ए डिभिजनको लफडा : सम्झौतामा यस्तो बुँदा, जसले झस्कायो ए डिभिजन क्लबलाई

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग सकिँदा नसकिँदै पहिलो संस्करणमा राम्रो चर्चा पाएको नेपाल सुपर लिगले मार्की खेलाडी र प्रशिक्षक अनुबन्धन गर्ने प्रकृया अघि बढायो। पहिलो संस्करणमा खासै आपत्ति नजनाएका ए डिभिजन क्लबहरु यसपटक बने सुपर लिगसँग तनावकै स्थितिमा रहे। उनीहरुले पहिला त मोफसल खेल्नुपर्ने भन्दै आफ्ना खेलाडीलाई अनुमतिबिना अनुबन्धन नगर्न आग्रह गरेर ८ वटा क्लबले विज्ञप्ति निकाले। तर, सुपरलिगले यसको मतलब नगरी आफ्नो तयारीलाई धमाधम अघि बढायो। अझ बोलकबोल (अक्सन) को मितिसमेत तोकिदियो। यसमा आपत्ति जनाउँदै तीनै ८ क्लबले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्षलाई बोलकबोल रोक्न र लिगका क्लबसँग छलफल गरेरमात्र अघि बढ्न सुझाए। एन्फाले यसबीचमा बैठक पनि बोलायो र एन्फा महासचिव इन्द्रमान तुलाधर र क्लबका प्रतिनिधिको तर्क मान्ने हो भने अक्सन रोक्न एनएसएललाई पत्रसमेत एन्फाले पठायो। तर, अक्सन रोकिएन। अझ ए डिभिजन लिगका संयोजकसमेत रहेका विज्ञानराज शर्मा राजीनामा दिएर फ्रेन्चाइजी काठमाडौं रेजर्समा खुलेर लागे। यसले एउटा गम्भीर अवस्थालाई देखायो।

यसअघि ८ वटा टिम खुल्दै आएकोमा ४ वटा टिमले आइतवार पत्रकार सम्मेलन गर्दै आफ्नो अस्तित्वमाथि नै खतरा भएको भय देखाए।

उनीहरुको तर्क थियो, आफूहरुले जानकारी दिँदादिँदै फ्रेन्चाइजीले आफूसँग अनुबन्धनमा रहेका खेलाडीलाई अनुबन्धन गरे र बोलकबोल पनि गरे, जुन फिफाको नियमबाट हेर्ने हो भने गैह्रकानुनी हो।

'एन्फालाई फिफाको नियमानुसार आफूसँग खेलाडीको अनुबन्धन बाँकी नै रहेको अवस्थामा खेलाडी बोलकबोल नगर्न र कसैलाई गर्न नदिनु भनेर सचेत गराएका थियौँ,' क्लबहरूको विज्ञप्तिमा भनिएको छ, 'एन्फाको क्यालेन्डरमा नसमेटिएको प्रतियोगिताबाट गरेको गैरकानुनी कार्यलाई एन्फाको आकस्मिक बैठकबाट रोकुन् भन्ने निर्णय गरी एन्फाका महासचिवको हस्ताक्षरबाट गरेको आधिकारिक हस्ताक्षरलाई अटेरी गर्ने आयोजकको वर्तावले समग्र फुटबल क्लब अहिले त्रसित बनेको अवस्था छ।'

एन्फा र एनएसएलको सम्झौताले झस्किएका क्लब

क्लबका तर्फबाट कुरा गरिरहँदा थ्री स्टारका महासचिव सञ्जीव सिल्पाकारले पटकपटक दोहोर्‍याए : ढोका हुँदाहुँदै झ्यालबाट पस्न खोज्नु भएन। उनको संकेत थियो एनएसएल गराउने संस्था नेपाल स्पोर्ट्स मेनेजेमेन्ट र एन्फा विचको सम्झौता पत्रलाई लिएर। जसको पाँचौ बुँदामा एन्फाको दायित्व अन्तर्गत तेस्रो बुँदामा लेखिएको छ : एन्फाले एएफसी, फिफालगायतका अन्तर्राष्ट्रिय संस्थाहरुसँग एफिलिएसन लिन र आधिकारिकता लिन सहयोग गर्ने।

यसले क्लबहरुलाई झस्कायो। यसको सदस्यता भन्नाले एएफसी कपमा छनोटको बाटो पनि खुल्ने देखियो। हाल ए डिभिजन लिगको विजेताले एएफसी कपको छनोट खेल्छ। अघिल्लो साल त्रिभुवन आर्मी क्लबले क्वालिफार्यस् खेलेकोमा यसवर्ष च्याम्पियन मछिन्द्र क्लबले छनोट खेल्दैछ।

फेन्चाइज र लिगको लफडाको यो अवस्थाबाट भर्खरै गुज्रिएको मुलुक हो भारत। भारतमा यही विवादविच पुरानो लिग आईलिग दोस्रो तहमा र फ्रेन्चाइज आईएसएल शीर्ष तहको लिग बनिसकेको छ। अर्थात आईएसएलबाट रेलिगेट भएर आईलिगमा पुग्ने र आईलिगबाट प्रोमोसन हुने टिम आईएसएल पुग्ने कार्यदिशा भारतीय फुटबलले अपनाइरहेको छ। यसमा ए डिभिजन क्लब झस्किनु स्वभाविक छ। इतिहास बोकेर फुटबलमा लागेको क्लब कतै दोस्रो टायरमा झर्ने त होइन?

उनले थप स्पस्ट पारे : सी डिभिजन छनोट, सी डिभिजन, बी डिभिजन हुँदै आए रातो कार्पेट ओछ्याएर स्वागत गर्छौं, तर ढोका हुँदाहुँदै झ्यालबाट आउन त खोज्नु त भएन नि।

गोलमा भद्रगोल

'फुटबलमा गोल हुनुपर्ने, भद्रगोल भयो' थ्री स्टारका महासचिव शिल्पाकार भन्दै थिए। तर यसो भनिरहँदा विरोधमै रहेका क्लबका प्रतिनिधि एन्फामा नभएको भने होइन। एन्फा महासचिव इन्द्रमान तुलाधर संकटा क्लबका अध्यक्ष रहिसकेका छन्। मनाङको प्रतिनिधित्व पनि एन्फा कार्यसमितिमा छन्। त्यसो भए उनीहरुले एन्फाले हामीले भनेको सुनेन भनेर बस्न मिल्छ त?

'इन्द्रमान हाम्रो अध्यक्ष हुनुहुन्थ्यो। अब के गर्ने भन्ने उहाँको निर्णय हो। हामीले पहल गरिरहेका छौं। आवश्यकताअनुसार बैठकबाट समाधान होस भन्ने हो,' संकटाका कार्यवाहक अध्यक्ष सुरेन्द्र सिख्रकारले भने। त्यस्तै जवाफ मनाङ मर्स्याङदी क्लबको पनि थियो।

'हाम्रो प्रतिनिधि एन्फामा हुनुहुन्छ। यदि एन्फाले गलत गरे हामी उहाँलाई फिर्ता पनि बोलाउने छौं। तर एन्फामा के निर्णय भयो सदस्यलाई नै थाह नहुने रैछ,' मनाङका प्रतिनिधिले भने।

करारको कुरा

नेपाली फुटबल क्लबमाथि लाग्ने गरेको आरोप हो : खेलाडीमाथि छोटो समयको मात्र करार गर्ने। अर्थात् जति महिना लिग चल्छ त्यति महिनाको करार गर्ने बाँकी समय खेलाडीले तलब नपाउने। यसले खेलाडीको व्यवसायिक विकासमा धक्का पुगेको आरोप लाग्ने पनि गर्छ। हुन पनि तीन महिने लिग र दुई महिना गोल्डकप खेलेर व्यवसायिक रुपमा खेल कसरी अघि बढ्छ?

प्रश्न जायज छ। तर थ्री स्टारका महासचिव सञ्जीव सिल्पाकारले केही खेलाडी २०२४ सम्म पनि केही क्लबहरुले करार गरेको तर्क गरे पनि एन्फालाई नै दोष लगाउँदै तर्किए। र, पछि स्वीकारे पनि।

'खेलाडीको बारेमा सोचेर नै क्लब छ। एन्फाले लामो लिग गर्दैन। त्यसैले हामी अधिकांश क्लब 'नो गेम, नो पे' को करार गर्नुपर्ने अवस्थामा छौं,' उनले भने, 'एन्फाकै कारण तोकेको समयमा लिग हुँदैन। हामीले बाहिर जस्तो डबल लिगको माग त गरिरहेका छौं। तर, राष्ट्रिय लिग गराउन पनि एन्फाको चासो देखिँदैन।'

यसो भन्दै गर्दा यो सिजनको लिग सुरु गर्नुअघि ललिपुरका चार क्लबहरु निर्धारित समयमा लिग सुरु नगर्न भन्दै पत्र लिएर एन्फा पुगेका थिए।

त्यस्तै न्युरोड टिम एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशी लामो सोचेर नेपाली खेलाडीलाई दुई वर्षसम्मको पनि करार दिएको तर्क गर्छन्। उनले आफूहरुले खेलाडीमा मार्कामा पार्न नखोजेको भए पनि विधिबाट सबैकुरा चल्नुपर्ने तर्क गरे।

अघिल्लो सिजनमा भने लिग नभएकोमध्य कोभिडको समयमा एनएसएल भएकाले अनुबन्धनको समस्या देखिएको थिएन। तर प्रश्न फेरि उठ्छ, वर्षभर तलब दिन नसक्ने भए वर्षभर रोकेर राख्न चाहिँ मिल्छ?

एन्फा कार्य समिति बैठकबाट आशा

निर्वाचनको मुखैमा फुटबलमा विवाद बढेको छ। थ्री स्टार क्लबका महासचिव शिल्पाकारले एन्फाको कार्यसमितिको बैठक चाँडै बस्न लागेको भएकाले यो विषयलाई उठाउनुपर्ने माग राखे।

'लिग चलिरहँदा एनएसएलको कुरा अघि ल्याउनु नै गलत थियो,' उनी भन्छन्, 'अन्य खेल र फुटबलमा फरक छ। फिफाको नियमअनुसार अनुबन्धन ट्रान्सफर मार्केटबाट मात्र गर्न मिल्छ। यसका लागि त्यसअघि खेलिरहेको क्लबबाट रिलिज लिनुपर्छ। तर यहाँ त औपचारिक रुपमा कुनै क्लबलाई जानकारीसमेत छैन।'

किन चार टिमलाई मात्र आपत्ति?

सुपरलिगले खेलाडी अनुबन्धन गर्दा सुरुका विज्ञप्तिहरुमा ८ टिमले हस्ताक्षर गरेका थिए। जसमा मछिन्द्र, न्युरोड टीम, सातदोबाटो युथ, मनाङ मर्स्याङदी, थ्री स्टार, संकटा, जावलाखेल युथ र फ्रेन्ड्स क्लब थिए। त्यस्तै अध्यक्षलाई अक्सन रोक्न पत्र पठाउँदा पनि ८ टिमको हस्ताक्षर थियो। जसमा रेलिगेसनमा परेका ब्रिगेड ब्वाइज क्लब र च्यासल युथबाहेक तीन विभागीय क्लब एपीएफ, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबको हस्ताक्षर थिएन। त्यस्तै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा नै अध्यक्ष रहेको हिमालयन शेर्पाको पनि हस्ताक्षर थिएन।

तर आइतवारको पत्रकार सम्मेलनमा ४ वटा क्लबलेमात्र विरोध जनाए। जसमा थ्री स्टार, एनआरटी, संकटा र मनाङ मर्स्याङदी मात्र बाँकी रहे। अझ उनीहरुले अन्य क्लबहरुले आफूलाई साथ दिँदै जाने विश्वास ब्यक्त गरेका थिए।

फुटबल नै बिग्रिदैछ भने क्लबहरुमा एकता हुनुपर्ने नि किन तपाइहरुको संख्या घटेर चार जनामात्र त? जवाफमा थ्री स्टारका महासचिव शिल्पाकारले भने: ती क्लबहरु (चारवटा) बोर्ड बैठक नभएका कारण उहाँहरु यहाँ उपस्थित हुन सक्नुभएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell