युक्रेनमा सैन्य हस्तक्षेप सुरु गरेपछि रसियाले चीनसँग सैन्य सहयोगका लागि आग्रह गरेको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन्। सीएनएनले दुई अमेरिकी अधिकारीको हवाला दिँदै रसियासँग ड्रोनसहितका सैन्य सामाग्री र आर्थिक सहायता मागेको दाबी गरेको छ। यस्तो आग्रह रसियाले युरोपमाथि आक्रमण गर्न थालेपछि गरिएको एक अधिकारीले बताएका छन्। ती अधिकारीले चीनले प्रतिक्रिया दिए पनि कस्तो प्रतिक्रिया दिएको भन्ने नखुलाएकोसमेत सीएनएनले जनाएको छ।
यसलाई चिनियाँ अधिकारीले भने अस्वीकार गरेका छन्। सीएनएनले अमेरिका स्थित चिनियाँ दूतावासलाई यस विषयमा जानकारी माग्दा दूतावासका प्रवक्ताले यसलाई अस्वीकार गरेका छन्।
'मैले यस विषयमा सुनेको छैन,' प्रवक्ता लिउ फङयुले भनेका छन्। उनले युक्रेन मामिलामा चीनले युक्रेनको अवस्था चिन्ताजनक भएको बताइरहेको बताउँदै युक्रेनलाई मानवीय सहायता गरिरहेको उत्तर दिएका थिए।
'अहिलेको उच्च प्राथमिकता भनेको तनावपूर्ण अवस्थाको नियन्त्रण हो। अथवा यसलाई नियन्त्रण बाहिर जान नदिनु हो। चीनले तनाव नियन्त्रणका लागि आग्रह गर्दै आएको छ। र भयानक मानविय संकटलाई जोगाउन पहल गरिरहेको छ,' प्रवक्ता लिउले भनेका छन्।
ह्वाइट हाउसका रक्षा सल्लाहकार ज्याके शुलिभानले चिनियाँ समकक्षी याङ जेइचीसँग रोममा सोमवार भेट गर्नु अगाडि रसियाको आग्रहका बारेमा समाचार बाहिर आएको हो।
सोमवार इटलीको रोममा चीन र अमेरिकाका अधिकारीहरुबीच भेटवार्ता हुँदैछ। यो भेटलाई गत नोभेम्वरमा चिनियाँ राष्ट्रपति सि चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भर्चुअल संवादको निरन्तरताको रुपमा हेरिएको छ।
सोमवार मात्र ह्वाइट हाउसका रक्षा सल्लाहकार सुलिभानले सीएनएनको 'स्टेट अफ दी युनियन'का डाना बाशसँग चीनले रसियालाई सहयोग गर्ने कुरा 'चासो'को विषय भएको बताएका थिए।
'हामीले चीनले वास्तममै रसियालाई कुनै खालको सहयोग भौतिक वा आर्थिक सहयोग गर्छ की भनेर नजिकबाट हेरिरहेका छन्। यो हाम्रो चासो पनि हो। र हामीले बेइजिङसँग यस विषयमा संवाद गरेका छौं र हामीले रसिया माथिको आर्थिक नाकाबन्दीको भरपाइ हुने गरी गरिने सहयोग स्वीकार गर्न सक्दैनौं,' उनले भनेका छन्।