PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

वीपीमाथि जगत नेपालको वृत्तचित्र 'राजद्रोही राजनेता' सार्वजनिक



पहिलोपोस्ट

वीपीमाथि जगत नेपालको वृत्तचित्र 'राजद्रोही राजनेता' सार्वजनिक

काठमाडौं : वीपी कोइरालाको जीवनीका घटनामा आधारित वृत्तचित्र ‘राजद्रोही राजनेता'को आज प्रदर्शनी गरिएको छ।

पत्रकार जगत नेपालको लेखनी तथा निर्देशनमा तयार भएको वृत्तचित्रले वीपी कोइरालाको मेलमिलापको नीतिमा केन्द्रित छ। नेपालका अनुसार ६ वर्ष लगाएर वृत्तचित्र तयार पारिएको हो। वीपी कोइरालाको राजनीतिक जीवनको एक कालखण्ड केन्द्रित भएकाले वृत्तचित्रले उनको निजी जीवन र साहित्यिक पाटोलाई छोएको छैन। वीपीसँगै लौह पुरुष गणेशमान सिंहका सन्दर्भलाई वृत्तचित्रले धेरै समेटेको छ।

वीपीको राजद्रोहको मुद्दा हेरेका तत्कालीन न्यायाधीश जनमान श्रेष्ठ र वीपीको उपचारमा संलग्न डाक्टर मृगेन्द्रराज पाण्डेले वृत्तचित्रलाई बलियो बनाएका छन्। तत्कालीन पञ्चायती प्रशासन र राजदरबार तथा राजा वीरेन्द्रका सन्दर्भमा उनीहरुले अनुभूति साटेका छन्। वृत्तचित्रमा समेटिएका कतिपय व्यक्तिको भने निधन भइसकेकाले उनीहरुका अभिव्यक्ति राजनीतिक दस्तावेजका रुपमा स्थापित हुने विश्वास लिइएको छ।

वृत्तचित्रले दरबारको सदासयता वीपीप्रति रहेको स्थापित गर्छ भने भारतका सबै राजनीतिक दलको नेपालप्रतिको एकैखाले दृष्टिकोण रहेको पनि पुष्टि गराएको छ। भारतको संस्थापन पक्षको चाहना विपरीत कसरी वीपीले मेलमिलापको नीति लिएर फर्किए, नेपालमा आउँदाका जोखिमको अवस्था र विरामीको अवस्थामा पनि मुलुककै चिन्तामा रहेका सन्दर्भहरु वृत्तचित्रमा अटाएका छन्।   

वीपीमाथि नेपालमा राजद्रोहका ८ वटा मुद्दा रहँदा रहँदै पनि नेपाल फर्किनु, नेपालमा उत्रिनासाथ जेल पर्नु र जनमतसंग्रहमा जान राजा वीरेन्द्र तयार हुनेसम्मका श्रृङ्खलाले त्यतिखेरको नेपालको राजनीतिक स्थितिलाई दृश्यमा उतारेको छ। 

अन्वेषण अभियान अन्तर्गत यो वृत्तचित्र तयार पारिएको र ऐतिहासिक विषयमा १२ वटा वृत्तचित्र निर्माणको प्रकृया अपनाइएको सुशील कोइराला ट्रस्टका सदस्य सचिव अतुल कोइरालाले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell