PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

थपिँदै साइबर ब्युरोमा उजुरी, पल प्रकरणपछि भटाभट समातिए युट्युबर



पहिलोपोस्ट

थपिँदै साइबर ब्युरोमा उजुरी, पल प्रकरणपछि भटाभट समातिए युट्युबर

काठमाडौं : फागुन २० गते अभिनेत्री रेखा थापाले युट्युबरविरुद्ध प्रहरीमा उजुरी दिइन्। थापाले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गर्दै आफूलाई युट्युबमार्फत् विभिन्न गालीगलौज आएको उल्लेख गरिन्। रेखा थापाकी दिदी तारा राणा उनका तर्फबाट उजुरी दिन पुगेकी थिइन्।  थापाले उजुरी दिएको दिएको केही दिनपछि ‘स्लेब नेपाल’ युट्युब च्यानल सञ्चालक राहुल थापा र शर्मिला वाइवा समातिए।

कलाकार पल शाह प्रकरणमा पीडितको गोपनीयता र एकतर्फी रूपमा विभिन्न व्यक्तिलाई गाली गलौज, उत्तेजना तथा अफवाह फैलाउन अरूलाई पनि प्रहरीले नियन्त्रणमा लियो। पल शाह लगायत गम्भीर प्रकृतिका अपराध प्रभावित पार्ने उद्देश्यले पीडितलाई नै मानमर्दन र चरित्र हत्या गरेको भन्दै 'नेपाल मिडिया' युट्युबका सञ्चालक पनि पक्राउ परे। जथाभावी भ्रम फैलाएको भन्दै ५३ वर्षीय हरि उदासी भन्ने हरि परियार र 'विशाल नेपाल' युटुवका २७ वर्षीय निशान चिलाउनेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

त्यस्तै, पल प्रकरणमा तनहुँ जिल्ला प्रहरी कार्यालय पुगेर एकतर्फी गम्भीर प्रकृतिका घटनामा नारा जुलुस गर्ने पुण्य गौतमलाई पनि भोटाहिटीमा रहेको साइवर ब्युरोमा बोलाएर सम्झाएको छ। साइबर ब्युरोले युट्युब तथा टिकटकमा गम्भीर प्रकृतिको अपराधमा अनुसन्धान नै प्रभावित पार्ने गरी उत्तेजना तथा अफवाह फैलाउने, पीडितको गोपनीयताको हक हनन् गर्दै फोटो तथा नामसमेत सार्वजनिक गर्ने गरेको उल्लेख गर्दै कारबाही गर्ने चेतावनी पनि दिइरहेको छ। नेपाल प्रहरी पनि साइवरसँग जोडिएका यस्ता घटनामा सक्रिय अनुसन्धानमा जुटेको छ। 

'गम्भीर प्रकृतिका घटना अनुसन्धानमा नै रहँदा आउने यस्ता गतिविधि हामीले निगरानी गरिरहेका छौँ। साइबर अपराध आकर्षित हुने घटनामा हामी कारबाही गर्छौँ,' नेपाल प्रहरीका प्रवक्ता विष्णुबहादुर केसीले भने।

साइवरका यस्ता गतिविधि गर्नेलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गत कारबाही गर्ने प्रहरीले चेतावनी दिएको छ। प्रत्येक वर्ष १ सय भन्दा बढी साइवर सम्बन्धी घटना अदालतसम्म पुग्ने गरेका छन्।

आर्थिक वर्ष २०७६/७७ मा १ सय १७ वटा मुद्दा दर्ता गरिएको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा ३ वटा र बाँकी १ सय १४ वटा काठमाडौं उपत्यकाका विभिन्न प्रहरी कार्यालयबाट उजुरी दर्ता भएको देखिएको छ। आर्थिक वर्ष २०७७/७८ मा १ सय ४ वटा मुद्दा दर्ता भएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी केसीले जानकारी दिए। जसमा एउटा प्रदेश नम्बर २ बाट र बाँकी काठमाडौं उपत्यकाबाट रहेका छन्।

चालु आर्थिक वर्षको माघ महिनासम्म प्रहरीले ६८ वटा मुद्दा दर्ता गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell