PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

प्रकाशको स्पष्टीकरण : माओवादीलाई परिवर्तनको जस दिएको छु, कुनै पनि राजनीतिक पूर्वाग्रह राखेको छैन



पहिलोपोस्ट

प्रकाशको स्पष्टीकरण : माओवादीलाई परिवर्तनको जस दिएको छु, कुनै पनि राजनीतिक पूर्वाग्रह राखेको छैन

काठमाडौं : गत शुक्रवार गायक प्रकाश सपुतले 'पिर' बोलको गीत सार्वजनिक गरे। गीतको भिडियोमा माओवादीको दशवर्षे जनयुद्ध र त्यसले भोग्नुपरेको परिणामलाई देखाइएको छ। गीत रिलिज भएसँगै चर्चामा आयो। साथै विवादित समेत बन्यो। 

गीतको भिडियोप्रति नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले रोष प्रकट गरे। गायक प्रकाश सपुतलाई म्युजिक भिडियो हटाउन माओवादीका भातृ संगठनले चेतावनी नै दिए। यद्यपि, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने  प्रकाश सपुतले गम्भीर सामाजिक विषयमा गीत निर्माण गर्ने भन्दै जनयुद्धलाई लिएर बहस चलिरहने र उत्तेजनामा आउन आवश्यक नभएको बताइसकेका छन्।

यसबिच प्रकाश सपुतले गीतबारे स्पष्टीकरण दिएका छन्। सपुतले फेसबुक मार्फत सबैको अपेक्षा अनुसारको सिर्जना गर्न सम्भव नहुने बताएका छन्। कसैको मन नबिझाइ सबैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने उनले बताएका छन्। साथै भिडियोमा राखिएका दृश्यहरुबाट कसैको आत्मसम्मानमा असर परेको खण्डमा उनले क्षमा मागेका छन्।

'पिर प्रतिको शुभेच्छाका लागि तपाईंहरु सबैलाई धेरै-धेरै धन्यवाद। सबैको अपेक्षा अनुसारको सिर्जना गर्न सम्भव नहुँदो रहेछ। सधैं कसैको मन नबिझाइ सबैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने रहेछ। त्यसैले मेरो नयाँ गीत: पिरका कारण केही दर्शकस्रोतालाई मर्का परेको मैले महशुस गरेको छु।'

उनले आफूले समाजमा देखेकै घटनालाई गीतको भिडियोमा उताएको बताएका छन्। गीतबाट कुनै पनि राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको उनले स्पष्ट पारेका छन्।

'६ वर्ष अगाडि करिब ४ वर्ष दोहोरी साँझमा काम गर्दा गाउने/बजाउने/पकाउने र पस्कने मध्यका थुप्रै सहकर्मीहरू पुर्व लडाकु थिए। उनीहरू चरम निराशावादी कुरा गर्थे। त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ। संयोगले अहिले निस्कियो। यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पष्ट पार्न चाहन्छु,' उनले भनेका छन्, 'प्रतीकात्मक रुपमा दृश्यहरू निर्माण गरेर बनाएको एउटा कमरेडको कथा हो पीर। यो बिचमा मैले यस्ता पात्रहरूको अवस्था, स्वभाव, सोचको अध्ययन गरें। केही पात्रहरूसँग भेटेर कुराकानी पनि गरें। केहि पात्रहरू पढें। आम मानिसका भोगाई र संवेदनाहरू बुने  र भिडियो बनाएँ। मेरो पेशा र पहिचान यहि हो।'

आफूले माओवादी युद्ध र आन्दोलनलाई कतै पनि गलत नअर्थाएको र बरु भएभरका परिवर्तनको जस दिइएको बताएका छन्।

'भिडियोलाई फेरि एकपटक अ़क्षरस हेर्ने हो भने व्यवस्था परिवर्तनमा माओवादी युद्ध र आन्दोलनलाई कहाँ निर पनि गलत अर्थ्याइएको छैन। बरु भएभरका परिवर्तनको जस दिइएको छ। भिडियोमा देखिएका पात्रहरु जस्तैको बलिदानीले पाएको यो नयाँ व्यवस्थामा  मैले यति धेरै फाइदा उठाएको छु भने उनीहरुको अवस्थाको गीत किन नगाउने भन्ने हो अब भिडियो नै हटाउँदा पो युद्ध/ आन्दोलन/ गणतन्त्र र स्वतन्त्रताको अपमान हुने हो कि?' उनले लेखेका छन्।

साथै उनलाई यसलाई कलाको दृष्टिकोणबाट हेर्न र सर्जकलाई निरूत्साहित गरेर दुविधामा नपार्न समेत अनुरोध गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell