काठमाडौं : वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले जनता समाजवादी पार्टी (जसपा)मा आफुमाथि दुर्व्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताएका छन्। सरावगीले आफुले जनता समाजवादी पार्टीलाई महानगरमा जिताएको भएपनि पार्टीभित्र दुर्व्यवहार हुने गरेकाले सो पार्टी परित्याग गरी एमाले प्रवेश गरेको बताएका हुन्।
विगतमा आफुले जसपा छाड्न दुई पटक राजीनामा दिएको भए पनि अध्यक्ष उपेन्द्र यादवले रोकेको पनि उनले बताए।
‘पूर्ण रुपमा यो महानगरपालिका र पुरै पर्सा जिल्ला जिताएर पनि जुन ढंगले मलाई पार्टीले मलाई राख्नुपर्थ्यो। किनभने म त राजनीतिक पृष्ठभूमिबाट आएको थिएन। म आर्थिक र सामाजिक पृष्ठभूमिबाट आएको व्यक्ति थिएँ,’ उनले भने, ‘जनताले मलाई माया गरेर त्यतिबेला मेयरमा चुनाव पनि जिताए। त्यसपछि पार्टीले जुन ढंगले मलाई ट्रिटमेन्ट गर्नुपर्थ्यो, जुन ढंगले मलाई राख्नुपर्थ्यो। नराख्न सकेको कारणले गर्दा दुई पटक मैले राजीनामा पनि दिए। राजीनामा दिदाँदिदै पनि अध्यक्ष उपेन्द्र यादवजीले त्यतिबेला मलाई रोक्ने प्रयास धेरै गर्नुभयो।’
राजीनामा दिएको रोकिए पछि पनि आफूमाथि दुर्व्यवहार र सामाजिक रुपमा मानमर्दन गर्ने क्रम जारी रहेको उनले बताए।
‘मैले अध्यक्षजीलाई पहिलापनि भनिसक्या थिए कि, म यो पार्टीमा बस्दिनँ यो ढंगले। र त्यो कारणले गर्दा मैले एउटा नयाँ पार्टी रोजेँ’ उनले भने।
सरावगीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रिय भावना र विकासप्रतिको चाहानाबाट प्रेरित भएका कारण एमाले रोजेको बताएका छन्। आफुसँग कांग्रेस प्रवेश गर्ने विकल्प हुँदाहुँदै पनि कांग्रेसमा जनप्रतिनिधि बन्ने अवस्था नभएकाले एमाले रोजेको उनले बताए।
सरावगी कांग्रेसको संस्थापन इतर पक्षसँग पार्टी प्रवेश गर्ने बारे छलफलमा थिए। तर, संस्थापन पक्षबाट निर्वाचित जिल्ला सभापति जनार्दन सिंहले सरावगीलाई कांग्रेसबाट टिकट नदिने अडान राखेको स्रोतको भनाई छ। कांग्रेस पर्साका अन्य प्रभावशाली नेता पनि सरावगीलाई कांग्रेसमा ल्याउने पक्षमा थिएनन्। शनिवार एमाले अध्यक्ष ओलीले उनलाई पार्टी प्रवेश गराएका थिए।
उनले एमालेमा कुनै पद पाउनका लागि शर्त गरेर नगएको दाबी गरेका छन्। पार्टीले आफ्नो काम र प्रस्तुती हेरेर जुन जिम्मेवारी दिए पनि जिम्मेवारी लिने उनले बताए।
‘उहाँहरुले मेयरमा भन्नुहुन्छ, मेयरमा जान्छु। अन्य कुनै पदमा भन्नुहुन्छ भने अन्य पदमा जान्छु। यसको लागि अहिलेदेखि नै मरिहत्ते गर्न मिल्दैन। पार्टीले छिट्टै यो विषयमा निर्णय गर्छ। पार्टीको आदेश अनुसार, पार्टीको टिकट अनुसार म अगाडी बढ्छु,’ उनले भने।