काठमाडौं : आँखामा धुलो खुर्सानी छर्केर सुन तथा नगद लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दाङ सौडियार गाउँपालिका घर भएका २८ वर्षीय महेश विश्वकर्मा र घोराही उपमहानगरपालिका घर भएका २४ वर्षीय राजेन्द्र सिनलाई नियन्त्रणमा लिएको हो।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङको सहयोगमा पक्राउ गरिएको परिसरका एसपी दिनेश मैनालीले जानकारी दिए। अपराध संहिता ऐन, २०७४ को परिच्छेद-२० अन्तर्गत दफा २४४ को ‘डाँका गर्न नहुने’ कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ को म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
फागुन २५ गते साढे ८ बजेको समयमा चाबहिलस्थित ओम शाही टञ्च सेन्टर सुन पसल बन्द गरी फर्किएका थिए। उनको साथमा ४२ तोला सुन तथा बाह्र लाख रुपैयाँ थियो। चुच्चेपाटीस्थित नजिकै रहेको पार्किङ स्थल जाने क्रममा भारत घर भई चाबहिल बस्ने ३४ वर्षीय अमोल भोस्लेलाई स्कुटर रोकी समूह बनाई आएका उनीहरूले आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट गरी सुन तथा नगद राखिएको झोलासमेत लुटी फरार भएका थिए।
प्रहरीको अनुसन्धानमा उनीहरूले तीन दिनदेखि घटनास्थल नजिकै रहेको एक क्याफेमा बसेर रेकी गरी योजना समेत बनाएको खुलेको छ।