PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

साफ यू १८ मा नेपाल र भारत भिड्दै, प्रशिक्षक भन्छन् : घरेलु टोलीसँग खेल्न कठिन हुन्छ तर उत्कृष्ट प्रदर्शन गर्नेछौं



पहिलोपोस्ट

साफ यू १८ मा नेपाल र भारत भिड्दै, प्रशिक्षक भन्छन् : घरेलु टोलीसँग खेल्न कठिन हुन्छ तर उत्कृष्ट प्रदर्शन गर्नेछौं
साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको विदाइ। फाइल फोटो: एन्फा

काठमाडौं: साफ यू १८ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन्। भारतको जमसेदपुरस्थित टाटा कम्पेक्सको मैदानमा आज साँझ सवा ७ बजे नेपाल र भारत प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताअघि नेपाली टोलीका प्रशिक्षक दर्शन भक्तराजले सहभागी तीनवटै टिमबीच उत्तिकै प्रतिस्पर्धा हुने विश्वास व्यक्त गरे।

'बंगलादेश र भारत बलियो टिम भए पनि नेपाल पनि बलियो टोली हो। त्यसैले तीन टोलीमध्ये कुन उत्कृष्ट हो भन्न गाह्रो छ। घरेलु टोलीसँग खेल्न सधैं गाह्रो हुन्छ तर हामीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेछौं र परिस्थितिको मागअनुसार खेल्नेछौं,’ प्रशिक्षक भक्तराजले भने, ‘नेपाल राष्ट्रिय महिला लिगको छनोट चरणमा हुने उपमेयर कपबाट विभिन्न जिल्लाबाट खेलाडी छनोट गरिएको हो। गत डिसेम्बरमा बंगलादेशमा भएको साफ यू–१९ महिला च्याम्पियनसिपमा पनि ११ खेलाडी छन्। विगत २० दिनदेखि सँगै रहेकाले यस कार्यक्रमको तयारी निकै राम्रो भएको छ।'

नेपाली टोलीकी कप्तान प्रीति राईले पनि भारत जानुअघि तयारी राम्रो भएको बताएकी थिइन्।

'झण्डै एक महिनाको ट्रेनिङ गर्‍यौं। सुरुदेखि अहिलेसम्म आइपुग्दा टिममा धेरै परिवर्तन छ। टिममा धेरै सुधार भएको भन्ने लाग्छ,' राईको भनाई थियो, 'महिला लिग हुन गइरहेकोले हामी आआफ्नो क्लबबाट अभ्यास गरिरहेका थियौं। ट्रेनिङ बिचमा छुटेको अवस्था थिएन। त्यसैले ट्रेनिङमा आउँदा फिटनेस लगायतको समस्या भएन।'

प्रतियोगितामा नेपाल, भारत र बंगलादेश गरी तीन टोली सहभागी छन्।

नेपालले आज भारतसँग, १७ मार्चमा बंगलादेशसँग, २१ मार्चमा भारतसँग र २३ मार्चमा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।

'उमेर समूहमा बंगलादेश, भारतले राम्रो गरिरहेको छ। हामी हाम्रो बेस्ट दिन्छौं। हामी राम्रो खेल्ने प्रयास गर्छौं,' कप्तान राईले भनिन्, 'लक्ष्य टाइटल जित्ने हो। यसका लागि हामी सबैजनाले टिमवर्क गरेर एउटा राम्रो खेल देखाउने लक्ष्य हो।'

त्यस्तै नेपालको पहिलो प्रतिस्पर्धी भारतका प्रशिक्षक थोमस डेनब्रीले चार हप्तासम्म प्रतियोगिता हुने मैदानमै तयारी गरेको बताए। भारतीय टोलीका अधिकांश खेलाडी बंगलादेशमा भएको साफ यू १९ मा खेलेका खेलाडी छन् भने राष्ट्रिय टोलीमा अनुभव बटुलिसकेका खेलाडी पनि छन्।

'हामीलाई थाहा छ नेपाल राम्रो टोली हो। मलाई लाग्छ सबैजना घरेलु मैदानमा भारतलाई हराउन चाहन्छन्, हामीले साँच्चै कठिन खेलको लागि तयारी गर्नुपर्छ। हामी कसैसँग डराउने मुडमा छैनौं,' भारतीय टोलीका प्रशिक्षक डेनब्रीले भने, 'हामीलाई लाग्छ कि हामीसँग खेल ह्यान्डल गर्ने राम्रो मौका छ तर अझै पनि हामीले हाम्रो काम राम्रो तरिकाले गर्नुपर्दछ र टोली योजनालाई पछ्याउनु पर्छ। यदि हामीले त्यसो गर्‍यौं भने हामीसँग राम्रो नतिजा ल्याउने राम्रो मौका छ।'

नेपाली टोली:

सावित्री किसान (गोलकिपर), लीला जोशी (गोलकिपर), पूजा थापा (गोलकिपर), सबिना चौधरी, मञ्जुकुमारी खड्का, प्रतिक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या यस्माली मगर, दीपा शाही, हीमा रावत, सरस्वती हमाल, प्रीति राई, सुनकला राई, अञ्जली मचामासी, सारा बज्राचार्य, जेनिफर राणा, सरिश्मा थापा, सदिपा भोलन, कुसुम खतिवडा, अमिषा कार्की, मनमाया दमाई, गरिमा राई



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell