काठमाडौं : १९९० साल अघिसम्म वसन्तपुर क्षेत्रमा अहिलेजस्तो खुला डबली थिएन। त्यहाँ श्रीखण्ड तरमुल महाबिहार अन्तर्गतका संरचना थिए। पाँचवटा कचा बहा:हरु थिए। चैत्य थियो। मन्दिर थियो। इनार पनि थियो। १९९० सालको भूकम्पपछि त्यहाँ रहेका घरहरु केही भत्किए, केही चर्किए। राणा शासकले भूकम्पले भत्किएका संरचना बनाउनुको सट्टा उक्त स्थानलाई खुल्ला छाड्ने निधो गरे। त्यहाँ बसोवास गर्दै आइरहेकालाई अन्यत्र सारियो। र, आधा भागमा बगैंचा र आधामा मैदान बनाइयो। त्यही मैदानमा घोडा राख्ना तबेला बनाइयो।
२०३१ सालमा वीरेन्द्रको राज्यभिषेकको अवसरलाई लक्षित गर्दै सोही क्षेत्रलाई पूर्ण रुपमा खुल्ला गरि डबली बनाइएको हो। पछिल्लो समय उक्त वसन्तपुर डबली सांस्कृतिक, व्यापारिक केन्द्र बन्यो। साथै बन्यो युवाहरुको ‘जक्सन’।
अझै पनि बहा: का संरचना त्यहाँ भेटिन्छन्। कुमारी घर नजिकै इनार अझै छ। झ्वछेँ जाने बाटोतिरबाट अझै डबलीमा चैत्यहरु देख्न सकिन्छ। दुईवटा कचा बहा:का अवशेष अझै डबलीमा भेटिन्छ। तर, कमैलाई मात्रै थाहा छ अहिले खुल्ला डबलीको इतिहास।
महानगरको ‘कंक्रिट मोह’
विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं दरबार क्षेत्रभित्रै रहेको उक्त डबलीमा अहिले काठमाडौं महानगरपालिकाले कंक्रिटको संरचना बनाइरहेको छ।
नौ तल्ले दरबारको ठीक अघिल्तिर महानगरपालिकाले आठवटा राष्ट्रिय झण्डा गाड्न भन्दै कंक्रिटको ढलान निर्माण गरिरहेको छ। पुरातात्विक दृष्टिकोणले पूर्णत् गतल हो यस्तो संरचना। महानगरले यस्तो संरचना निर्माणका लागि पुरातत्त्व विभागको समेत स्वीकृत पाएको छैन। काठमाडौंमा रहेका विश्व सम्पदा क्षेत्रलाई ‘खतराको सूची’मा राख्ने चेतावनीकै बिच महानगरले सम्पदा क्षेत्रमा नै कंक्रिट राखेर निर्माण थालेको हो।
दिउँसो विरोध हुने देखेर महानगरले रातारात कंक्रिटको ढलान गरेर छलीको बाटो लिँदै आएको छ। खुल्ला स्थानलाई संरक्षण गर्नुपर्ने महानगर आफैँले सांस्कृतिक कार्य हुँदै आएको डबलीमा स्थायी संरचना निर्माण गरेपछि स्थानीयले विरोध गरिरहेका छन्। उनीहरुले तत्काल निर्माण कार्य रोक्न आग्रह गरेका छन्। झण्डा राख्ने विषयमा आपत्ति नभए पनि अहिले निर्माणधीन क्षेत्र त्यसका लागि उपयुक्त नभएको स्थानीयको भनाई छ।
कंक्रिटको ढलानमुनि दविएको चैत्य
अहिले धेरैले कंक्रिटको संरचनाको मात्रै विरोध गरिरहेका छन्। तर, कमैलाई मात्रै थाहा होला अहिले जहाँ झण्डा राख्ने भनेर कंक्रिटको ढलान गरिएको छ, उत्खनन गर्ने हो भने त्यहाँ चैत्यको जग भेटिन्छ। त्यसैले पनि पुरातात्विक दृष्टिकोणले उक्त क्षेत्रमा कुनै पनि प्रकारको नयाँ संरचना बनाउनु जोखिमको विषय हो।
स्थानीय राजेन्द्रमान ब्रजाचार्य अहिले निर्माणस्थलमुनि उत्खनन् भए चैत्यको जग फेला पर्ने बताउँछन्। काठमाडौंका महाविहार र विहारको अध्ययन गरेका बज्राचार्यका अनुसार अहिले संरचना निर्माण भइरहेको स्थानमा बसुन्धरा कृति बिहार थियो। त्यहाँ वसुन्धरा देवता सहितका देवताहरु मूर्ति थिए।
‘अझै पनि खाल्डोमा वसुन्धरा सहित देवताका मूर्ति खाल्डोमा रहेको छ। त्यहाँ चिभा चैत्य पनि अझै छ,’ उनले भने, ‘चिभा चैत्य उत्खनन् गर्ने हो भने जहाँ झण्डा राख्नेन हो त्यस स्थानसम्म चैत्यको जग आउँछ।’
अहिले पनि डबलीमा देख्न् सकिने खाल्डो त्यसबेला दरबार क्षेत्रको ‘ग्राउन्ड लेभल’ थियो। पछि डबली बनाउँदा जमिनको सतह बढाइएको थियो। अहिले भने महानगरले डबलीको सतहभन्दा माथि कंक्रिटको ढलान गरेको हो।
बन्यो राजनीतिक मुद्दा
स्थानीय तहको निर्वाचन वैशाख ३० गतेका लागि तय भएको छ। विद्यासुन्दर शाक्य फेरि नेकपा एमालेबाट महानगर प्रमुख बन्ने दौडमा छन्। कार्यकालको अन्तिम समयमा आएर उनी भित्री शहर केन्द्रित भएका छन् चुनावी लक्ष्य सहित। गुठिघरदेखि सम्पदा पुनर्निर्माण भएका स्थलको उद्घाटनमा उनको व्यस्त देखिन्छ। तर, महानगरकै बजेटमा वसन्तपुरमा कंक्रिटको ढलानमाथि राष्ट्रिय झण्डा राख्नेम कार्य भएपछि उनीमाथि फेरि प्रश्न उठ्न थालेको छ।
रानीपोखरीमा कंक्रिटको संरचना निर्माण गर्ने, टुँडिखेल र खुलामञ्च अतिक्रमण लगायतका विषयमा आलोचन खेप्दै आएका शाक्यविरुद्ध अहिले नेपाली कांग्रेस आक्रामक रुपमा उत्रिएको छ।
आज बिहान काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले झण्डा राख्नु निर्माण भइरहेको स्थलको निरीक्षण गरिन्। उनले विश्व सम्पदा क्षेत्रमा कंक्रिटका संरचना बनाउन नहुने भन्दै निर्माण कार्य रोक्न पर्ने बताइन्।
‘सम्पदा क्षेत्रमा कंक्रिटले यस्तो संरचना बनाउन हुन्छ कि हुँदैन भनेर मेयरले विवेक पुर्याउन पर्ने हो। तर उहाँले पुर्याउनु भएन। मेयरले मनपरी गर्न हुँदैन। सबै जनासँग सल्लाह गरे उहाँलाई सजिलो हुन्छ। यो भत्काउनुपर्छ,’ उनले भनिन्।
खड्गीले झण्डा राख्ने मात्र विषय नभएको बताइन्। ‘राष्ट्र भावना जगाउनु राम्रो हो। तर सम्पदा क्षेत्रमा यसरी कंक्रिटको संरचना बनाउन पाइँदैन,’ उनको भनाई थियो।
नेपाली कांग्रेस काठमाडौं महानगर समितिले पनि सोमवार दिउँसो वसन्तपुरमा निर्माण भइरहेको संरचनाको विरोधमा प्रदर्शन गरेको थियो।
विरोध प्रदर्शनपछि महानगर समितिका उपसभापति एवं कला संस्कृति सम्पदा संरक्षण विभागका संयोजक सन्तकुमार महर्जनको नेतृत्वमा काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुखलाई निर्माण कार्य रोक्न पत्र बुझाइएको थियो।
कांग्रेस काठमाडौं महानगर समितिका सचिव सुसन वैद्यले काठमाडौं महानगर मेयरले नभइ ठेकेदार र माफियाले चलाइरहेको आरोप लगाएका छन्। उनले तत्काल कंक्रिटका संरचना निर्माण बन्द नगरिए कांग्रेसले प्रतिकार गर्ने बताए।
सम्पदा क्षेत्रमा के गर्नु हुन्छ र हुँदैन भन्ने विषय थाहा नपाउने मेयर काठमाडौंलाई नचाहिने उनले बताए।
‘महानगरपालिका मेयरले चलाएकै होइन। ठेकेदार र निर्माण व्यवसायले चलाएको हो। मेयर त काठमाडौं बुझेको र यहीँ हुर्केको मान्छे हो। संरक्षित क्षेत्रमा कंक्रिटको ढलान गर्न हुँदैन भनेर उहाँलाई थाहा नै नभएको होइन,’ सुसनले भने, ‘ठेकेदार र माफियाको इशारामा यो भयो।’
राष्ट्रिय झण्डाको सम्मान सबैले गर्ने भन्दै उनले विद्यासुन्दर भन्दा कम राष्ट्रवादी आफूहरु नभएको दावी गरे। ‘तर संरक्षित क्षेत्रमा ल्याएर झण्डा गाड्ने यो राष्ट्रवाद होइन। यो नक्कली राष्ट्रवाद हो। असली राष्ट्रवाद भनेको सम्पदाको संरक्षण नै हो,’ उनले भने।
के भन्छ महानगर?
यस विषयमा सम्पर्क गर्न खोज्दा मेयर विद्यासुन्दर शाक्य उपलब्ध भएनन्।
महानगरपालिका प्रवक्ता एवम् वडा १५ का वडाअध्यक्ष इश्वरमान डंगोलले भने यो विषय विवादित नभएको जवाफ दिए।
उनले झण्डा ठड्याउनका लागि कंक्रिटका संरचना आवश्यक भएकोले नै निर्माण गरिएको बताए।
‘बाहिरी रुप पुरातात्विक रुपमा नै बन्छ। कंक्रिट नै देखाएर अशोभनीय बनाउन खोजेको होइन। कंक्रिट नै प्रयोग गर्न हुन्न भन्ने गुनासो छ। तर, झण्डा अड्याउन कंक्रिट त बनाउनै पर्योन। भोलिपर्सि झण्डा राखिएको लठ्ठा ढल्यो भने गाह्रो हुन्छ। बलियोको लागि बनाइएको हो,’ उनले भने।
राष्ट्रिय झण्डा सबैको स्वाभिमान भएको भन्दै उनले त्यसको निर्माण गर्न कसैको स्वीकृति नचाहिने बताए। ‘झण्डा त हाम्रो शिर हो। राष्ट्रिय झल्काउन गरिएको काममा अन्यथा भन्नुपर्छ जस्तो लाग्दैन,’ उनको दावी छ।
उनले रानीपोखरी, स्वयम्भू लगायत पुरातात्विक, सम्पदा र महत्व स्थानमा महानगरले झण्डा राख्नप बजेट छुट्याएको र त्यही अनुसार वसन्तुपरमा पनि झण्डा राखिएको बताए।
संरक्षित सम्पदा क्षेत्रमा नै किन कंक्रिटको संरचना बनाएर झण्डा राख्ने त भन्ने प्रश्नमा उनले भने, ‘सबै नेपालीले सम्मान गर्नुपर्ने हो झण्डालाई। झण्डा राख्ने विषयमा आपत्ति जनाउनुपर्छ जस्तो लाग्दैन। यसले हाम्रो शिर उच्च राख्छ। त्यसले केही अप्ठ्यारो हुँदैन होला।’