
काठमाडौं : राजस्व अनुसन्धान विभागले नौ करोड ७४ लाख ६९ हजार ९ सय रुपैयाँ माग दावीसहित दुई जना विरुद्ध मुद्दा दायर गरेको छ। जिल्ला अदालत काठमाडौंमा सोमवार दुई जनाविरुद्ध मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ।
मोरङ रतुवामाई नगरपालिका वडा नम्बर ७ बस्ने २८ वर्षीय पुस्कर श्रेष्ठ र २३ वर्षीया विनिता लिम्बुविरुद्ध मुद्दा दायर गरिएको हो। पुस्कर श्रेष्ठले मेगा बैंकबाट ८६ लाख ८३ हजार ४ सय २९ रुपैयाँ, सिटिजन्स बैंकबाट २ करोड ५१ लाख ७६ हजार ९९ रुपैयाँ, एनआईसी एशिया बाट १ करोड ८२ लाख ४९ हजार ८ सय ८९ रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकबाट २ करोड ३६ लाख ६२ हजार ५ सय ३९ रुपैयाँ समेत जम्मा गरेर ७ करोड ५७ लाख ७१ हजार ९ सय ५८ रुपैयाँ तथा बिनिता लिम्बुले एनआईसी एशिया बैंकबाट २ करोड १६ लाख ९८ हजार २४ रुपैयाँ समेत जम्मा ९ नौ करोड ७४ लाख ६९ हजार नौ रुपैयाँ नेपालमा अवैध मानिने क्रिप्टोमा कारोबार भएको देखिएको छ।
यसअघि राजश्व अनुसन्धान विभागले ३७ करोड बिगोसहित रुपमा कैलालीका दिनेश खड्का बिरुद्ध अदालतमा मुद्दा दायर गरेपछि क्रिप्टो कारोबार बाहिर आएको थियो। महानगरीय अपराध महाशाखाको टोलीले माघ ६ गते क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा ३ जनालाई नियन्त्रणमा लिएको थियो। त्यसपछि सरकारले क्रिप्टोलाई नियन्त्रण गर्ने अर्थ मन्त्रालयका सहसचिव भुपाल बरालको नेतृत्वमा समिति गठन गरेको थियो।
यस्तो गतिविधि गरेको पुष्टि भएमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९६ अनुसार दण्ड सजाय हुने छ। कसूर गर्ने व्यक्तिलाई उक्त कसूरसँग सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय र बिगो कायम गर्न नसकिने अवस्थामा कसूरको मात्रा हेरी बढीमा दश लाख रुपैयासम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।