PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

लिनलाई ऋण छैन, मिलिहाले महँगो ब्याज ! तै पनि कसरी बढिरहेछ घरजग्गा कारोबार?



उन्नत सापकोटा

लिनलाई ऋण छैन, मिलिहाले महँगो ब्याज ! तै पनि कसरी बढिरहेछ घरजग्गा कारोबार?
बुढानीलकण्ठ चिसेनी हाइटको प्लटिङ। फाइल फोटो

काठमाडौं : बैंकले ऋण दिन कडाइ गरेका छन्। ब्याजदर यसरी बढेको छ कि ऋण लिन धेरै पटक सोच्नुपर्छ। तथ्याङ्कहरुले आर्थिक अवस्था खराब रहेको प्रष्ट संकेत गरिरहेको छ। तर, ठीक यस्तो अवस्थामा घरजग्गाको कारोबार भने बढेको छ। पुस र माघमा घटेको किनबेच फागुनमा भने ह्वात्तै बढेको हो। किनबेच बढेसँगै राजश्व संकलन पनि बढेको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको पछिल्लो तथ्यांक अनुसार फागुनमा लिखत पारित ह्वात्तै बढेको देखिन्छ। माघको तुलनामा फागुनमा लिखत पारित संख्या १४ हजार ५ सय २० ले बढेको हो।

पुसमा ७० हजार १ सय ६८ रहेको लिखत पारित माघमा घटेर ५९ हजार ५ सय १६ पुगेको थियो। यसका आधारमा घरजग्गा कारोबार मन्दीतिर धकेलिएको प्रक्षेपण हुन थालेको थियो। तर, ठीक विपरीत फागुनमा लिखत परित ७४ हजार ३६ पुगेको विभागले जनाएको छ।

अधिकांश मालपोत कार्यालयबाट हुने लिखत पारित पछिल्ला केही महिना लगातार घट्दै गएको थियो। पुसको तुलनामा माघमा घरजग्गाको लिखत पारित १० हजार ६ सय ५२ ले घटेको थियो।

भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाबाट मात्रै फागुनमा ३ हजार २ सय ८६ लिखत पारित भएको छ। माघमा यो संख्या २ हजार ८ सय ७ थियो। इनरुवा पछि मोरङको बेलबारी मालपोतमा २ हजार ८ सय ७२ लिखत पारित भएको छ। माघमा पनि बेलबारी नै इनरुवा पछि रहँदै २ हजार ५ सय ३६ लिखत पारित गरेको थियो।

फागुनमा जनकपुरधाम मालोपोत कार्यालयलाई पछि पार्दै झापाको भद्रपुर मालपोतले २ हजार ७ सय ७२ लिखत पारित गरेको विभागले जनाएको छ। जनकपुर चौथोमा रहँदै फागुनमा २ हजार ४ सय ९६ लिखत पारित गरेको छ।

बाँके नेपालगञ्जले २ हजार ४ सय ४९, लगनखेलले २ हजार १ सय ६७, भक्तपुरले २ हजार ३६, काभ्रेले १ हजार ९ सय ३०, कलंकीले १ हजार ८ सय ३२ लिखत पारित गरेका छन्। यस्तै, चितवनले १ हजार ७ सय ५८, मकवानपुरले १ हजार ७ सय २२, विराटनगरले १ हजार ५ सय ७८, दमकले १ हजार ४ सय ७५, राजविराजले १ हजार ४ सय ६४, तुलसीपुरले १ हजार ४ सय ३ लिखत पारित गरेको विभागले जनाएको छ।

ऋणमा सकस, किन्ने चाहिँ कसरी बढे?

जग्गाको भाउ थप बढ्छ भनेर खरिद गर्ने क्रम बढेर कारवार बृद्धि भएको हो। घरजग्गा किनबेचलाई सहकारी संस्थाहरुले पनि फाइनान्स गरेका छन्। यसले गर्दा पनि बढेको छ। कतिपय अवस्थामा अनौपचारिक माध्यममा रहेको पैसा जग्गामा लगानी हुँदा कारोबार बढेको हो।

प्लटिङ गर्नेहरु र ऋणमा जग्गा किनेकाहरुले नियामकीय कडाइका साथै ब्याज बृद्धिले जग्गा किनबेच हुँदैन भनेर केही रकम घटाएर भए पनि बिक्रीमा राखेका छन्। यसमा पैसा हुने जमात आकर्षित भएर पनि कारोबार बढेको हो।

६ अर्बभन्दा धेरै राजश्व

तरलता अभावसँगै घरजग्गाको अस्वाभाविक र अनियन्त्रित मूल्यका कारण माघमा सरकारले घरजग्गाबाट ५ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन गरेकोमा फागुनमा ६ अर्ब २६ करोड संकलन गरेको छ।

मंसिरमा घरजग्गा कारोबारबाट राज्यले ७ अर्ब ६ करोड ६५ लाख रुपैयाँ संकलन गरेकोमा पुसमा घटेर ६ अर्ब ७० करोड रुपैयाँमा थियो। माघमा फेरि घटेको राजश्वव फागुनमा भने उकालो लागेको हो।

फागुनमा पनि सबैभन्दा धेरै राजश्व लगनखेल मालपोत कार्यालयले उठाएको छ। माघको तुलनामा फागुनमा लगनखेलले उठाउने राजश्व भने केही घटेको छ। फागुनमा लगनखेल मालपोतले ५४ करोड २२ लाख रुपैयाँ उठाएको छ। माघमा लगनखेल मालपोतले ५४ करोड ३६ लाख रुपैयाँ उठाएको थियो।

लगनखेलपछि डिल्लीबजार मालपोतले बढी राजश्व संकलन गरेको छ। फागुनमा यस कार्यालयले ४५ करोड ३२ लाख रुपैयाँ उठाएको हो। डिल्लीबजारले माघमा ४३ करोड ८६ लाख रुपैयाँ राजश्व उठाएको थियो।

फागुनमा कलंकी मालपोतले ३९ करोड १६ लाख रुपैयाँ, भक्तपुरले ३८ करोड ६२ लाख रुपैयाँ, चाबहिलले ३८ करोड ३५ लाख रुपैयाँ, चितवनले १६ करोड २८ लाख रुपैयाँ, काभ्रेले १५ करोड ९६ लाख रुपैयाँ, साँखुले १५ करोड ७४ लाख रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ।

यस्तै, मनमैजुले १३ करोड २९ लाख रुपैयाँ, विराटनगरले १३ करोड, पर्साले १२ करोड ६८ लाख, कास्कीले १२ करोड ४५ लाख, टोखाले ११ करोड २९ लाख, नेपालगञ्जले ११ करोड रुपैयाँ र इनरुवा मालपोतले १० करोड बढी राजस्व उठाएको विभागले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell