
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा ६० देखि ७० प्रतिशत सिट आफ्नो पार्टीले जित्ने दाबी गरेका छन्।
मंगलवार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघ (अनेमसंघ) को सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले स्थानीय तह निर्वाचनमा ६० देखि ७० प्रतिशत एमालेले जित्ने जिकिर गरेका हुन्।
'ढोडको लौरो टेक्नुपर्छ अनि मात्रै हामी हिँड्न सक्छौं भन्ने होइन। हामी हिँड्न सक्छौं। हामी अगाडी बढ्न सक्छौं। हामी चुनाव लड्न सक्छौं। हामी मज्जाले जित्न सक्छौं। त्यस अनुसारको तयारी गरौं। यति जित्नका लागि सबै हामीले मिलाउन सक्यौं भने त सर्वसम्मत् हुन्छ होइन र?,'ओलीले भने।
पाँच दलिय गठबन्धनले प्रतिगामी शक्तिको प्रतिनिधित्व गर्ने ओलीको आरोप छ। आफु जनताको फैसला मान्ने जनपक्षीय शक्ति भएको जिकिर गर्दै ओलीले भने,'ताजा जनादेशमा जाने कुरालाई प्रतिगामी भन्दै केही स्वार्थी तत्वहरु कम्युनिष्ट आन्दोलन ढाल्न, कमजोर पार्न, विभाजित गर्न र सिध्याउन लागे। उनीहरु पतित भए।'
कम्युनिष्ट पार्टी फुटाएर प्रतिक्रियावादीको सरकार बनाउन कम्युनिस्ट नेताहरु नै लागेको भन्दै ओलीले आक्रोश व्यक्त गरे।
भने,'कम्युनिष्ट सरकार ढाल्ने, प्रतिक्रियावादीहरु बोक्ने, प्रतिक्रियावादीको सरकार बनाउने, तिनका तलुवा चटुवा भएर, तिनका पछिपछि कुदेर यत्रायत्रा लोकपापका दुनाहरु बोकेर पापका दुनाहरु थाप्दै हिँडेका छन्। मलाई पनि अलिकति प्रसाद भनेर थाप्दै हिँडेका छन्।'