वीरगंज : २०७४ सालको स्थानीय तहको चुनावमा वीरगंजमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट वीरगंज महानगरपालिका प्रमुखमा लडेका राजेशमान सिंहले नेकपा एमाले छाड्ने संकेत गरेका छन्।
फेसबुकमा स्टाट्स लेख्दै उनले जनतासँग अगामी राजनीतिक यात्राको लागि सल्लाह समेत माग गरेका छन्।
गत फागुन ३ गते वीरगंजमा पत्रकार सम्मेलन गर्दै उनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेको घोषणा गरेका थिए। उनले वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा एमालेबाट वीरगंजको मेयरमा लड्ने अनुमान गरिएको थियो।
तर, जसपाबाट वीरगंजका मेयर बनेका विजयकुमार सरावगी नेकपा एमाले प्रवेश गरेपछि उनको सम्भावना कम भएको हो। त्यसैले उनले एमाले छाड्न सक्ने बताएका हुन्।
उनले सरावगीले महानगरमा भ्रष्टाचार गरेको आरोप समेत लगाएका छन्।
‘भ्रष्टाचारमा लिप्त मेयरसँग वातावरण कसरी बन्न सक्छ?,’ उनले भनेका छन्,‘अगामी यात्रामा कसरी अघि बढने वीरगंजवासीसँग राय सल्लाह मागेको छु।’
उनले बुधवार आफू निकट कार्यकर्ता भेला राखेका छन्। त्यसपछि नेकपा एमाले छाडने कि अरु पार्टीमा जाने बारेमा निर्णय लिने उनले बताए।
‘चरा वर्ष बेथितीको विरोध गरेंँ। उनीसँग एमालेमा बस्न सकिदैन। वीरगंजको मेयरमा जसपा र माओवादीबाट अफर आइरहेको छ। हेरौं अब कुन पार्टीमा जान्छु अहिले निर्णय गर्न सकेको छैन,’ उनले भने।