PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

विश्वकप लिग २: नेपाल र पपुवा न्युगिनी भिड्दै



पहिलोपोस्ट

विश्वकप लिग २: नेपाल र पपुवा न्युगिनी भिड्दै
फाइल फोटो

काठमाडौं: आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले आज पपुवा न्युगिनीको सामना गर्दैछ। यूएईस्थित शारजाह क्रिकेट मैदानमा आज दिउँसो सवा ११ बजे खेल सुरु हुनेछ।

लिग २ को ७ वटा टोलीमध्ये सबैभन्दा कमजोर प्रदर्शन गरिरहेको टोली हो पपुवा न्युगिनी। १३ खेलबाट एउटा पनि जित निकाल्न नसकेको पपुवा न्युगिनी तालिकाको पुछारमा छ भने ८ खेलबाट ८ अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ।

यी दुई टोलीबीचको पछिल्ला दुई खेललाई हेर्दा नेपाली टोली हावि भएको देखिन्छ। सन् २०२१ मा खेलेको दुई खेलमध्ये नेपालले सेप्टेम्बर ७ मा खेलेको खेलमा २ विकेटले र सेप्टेमम्बर १० मा खेलेको खेलमा १५१ रनले जित निकालेको थियो।

यद्यपि प्रतियोगितामा जानु अघि नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले यसअघीको नतिजा आफ्नो पक्षमा रहेको भए पनि पीएनजीलाई हल्कारुपमा नलिइने बताएका थिए।

'यो प्रतियोगितामा आएपछि सबै टिम बराबर छन्। पीएनजीले यो साइकलमा अहिलेसम्म खेल नजिते पनि हल्का रुपमा लिन सक्ने अवस्था छैन,' उनले भने, 'यो हामी सबैका लागि एउटा राम्रो चुनौती हुनेछ। तर अगाडिको खेलमा पहिलो बलबाटै सुरु गर्नुपर्नेछ। पहिलाको खेलमा सहजै पीएनजीलाई हराएका छौं। त्यसैले अहिले पनि हराउँछौं भन्ने अवस्था रहँदैन।'

नेपाली टोली श्रीलंकामा स्थानीय टिमहरुसँग चारवटा अभ्यास खेल खेलेर त्यतैबाट यूएई पुगेको थियो। श्रीलंकामा छँदा ३ जित र १ हार ब्यहोरेको नेपालको मूलत ब्याटिङमा कमजोरी देखिएको थियो।

कुन टिम कुन स्थानमा?

लिग २ मा सबै भन्दा कम खेल खेल्ने टोली नेपाल नै हो। सात टिममध्ये नेपालले मात्र ८ खेल खेल्दा शीर्ष स्थानको ओमनले सर्वाधिक २८ खेल खेलेको छ। ओमनले २८ खेलबाट ३६ अंक जोडेर शीर्षस्थानमा रहँदा दोस्रो स्थानमा १५ खेलबाट १८ अंक जोडेको यूएई छ। त्यस्तै १२ खेलबाट १६ अंक जोडेको स्कटल्याण्ड तेस्रो, १४ र १६ खेलबाट समान १४ अंक जोडेका नामिबिया र अमेरिका क्रमस चौथो र पाँचौं स्थानमा छ। त्यस्तै ८ खेलमा ४ जित र ४ बराबरी खेल्दै ८ अंक जोडेको नेपाल छैटौं स्थानमा रहँदा १३ खेलबाट अंकविहीन पपुवा न्युगिनी तालिकाको पुछारमा छ।

नेपालले आज पपुवा न्युगिनी, १८ मार्चमा यूएई, २१ मार्चमा यूएई र २२ मार्चमा पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell