PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

शालीनताको अभिनय गर्दागर्दै बदलिएकी सृष्टि : सौगातका कारण फिल्म पाएको भन्नु गलत



लक्ष्मी बलायर

शालीनताको अभिनय गर्दागर्दै बदलिएकी सृष्टि : सौगातका कारण फिल्म पाएको भन्नु गलत

काठमाडौं: शालीनता ‘इन्स्टलेसन आर्टिस्ट’ हुन्। आधुनिक समाजमा हुर्के पनि उनको जीवनशैली भने सरल छ। काठमाडौं शहर औधी मन पर्छ उनलाई। त्यसैले त विदेशिएकी उनलाई काठमाडौंको मायाले फर्काउँछ। यही शहरमा क्याफे र आर्ट ग्यालरी संचालन गरिरहेकी छिन् उनी। काठमाडौंका रुख, भित्ता, मन्दिर, होर्डिङ बोर्डहरूमा ‘ह्वाइट बटरफ्लाई’ टाँस्नु उनको सौख हो। आफू वरिपरिका कुरूप कुराहरूलाई राम्रो बनाउन सधैँ उनको प्रयास हुन्छ।

शालीनता फिल्म ‘चिसो एष्ट्रे’ की मुख्य पात्र हुन्। अभिनेत्री सृष्टि श्रेष्ठ फिल्ममा शालीनतको भूमिकामा देखिएकी छिन्।

केही वर्षअघि काठमाडौंका होर्डिङ बोर्ड होस् या मन्दिरको भित्ता। सडक किनारका रुखदेखि पुराना घरका भग्नावशेषसम्म सेता पुतलीहरू देखिन्थे। टाढाबाट झट्ट हेर्दा साँच्चिकै पुतली उडिरहेका बसिरहेका देखिन्थे। तर ती कागजबाट निर्मित पुतली थिए। जुन ‘ह्वाइट बटरफ्लाई’ अभियान थियो आर्टिस्ट र सामाजिक अभियन्ता मिलन राईको।

मिलनको ‘ह्वाइट बटरफ्लाई’ अभियानसँग नजिक छ शालीनता पात्र।

‘ह्वाइट बटरफ्लाईको कन्सेप्ट मिलन दाइले ल्याउनु भएको हो। उहाँकै ‘ह्वाइट बटरफ्लाई’ अभियानलाई शालीनता पात्रले प्रस्तुत गरेको छ। शालीनता मिलन राईको फिमेल भर्सन जस्तै हो,’ उनले भनिन्।

शालीनता पात्रको माध्यमबाट आफूमा निकै परिवर्तन आएको बताउँछिन् सृष्टि। सुन्दरताको परिभाषा उनले यही चलचित्र गर्दागर्दै थाहा पाइन्।

‘शालीनताबाट धेरै कुरा सिक्न पाएँ। मैले सुन्दरताको पुन परिभाषा थाहा पाएँ। हरेक कुरा सुन्दर हुँदो रहेछ भन्ने आत्मबोध भयो। जीवन र धारणा बदलियो। जीवनप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ।’

‘रियल’मा सृष्टि र ‘रिल’मा शालीनतामा निकै समानता छ। शालीनता नेपालमा खुसी खोज्दै काठमाडौं आइपुगेकी केटी हो। सृष्टि पनि १० वर्षअघि काठमाडौं आइन्। आफ्नो सपना पुरा गर्नकै लागि। जसकारण पनि उनलाई शालीनताको भूमिका आफ्नै जस्तै लाग्छ।

चिसो एस्ट्रेको टिमसँगको सहकार्य उनका लागि मार्गदर्शन बनेको छ। भन्छिन्, ‘हरेक फिल्ममा यत्तिको स्तरको मेहनेत गर्नुपर्छ भन्ने सिकेकी छु। किनकी फिल्मको लागि यतिको स्तरको टिमवर्क र रिसर्च हामीले दिनै पर्ने रहेछ। यस फिल्ममार्फत सिकेको कुरालाई अघि निरन्तर अघि बढाउने छु।’

 

++

दश वर्षअघि मिस नेपाल बन्न सृष्टि लण्डनबाट नेपाल आएकी थिइन्। सन् २०१२ की मिस नेपालकी विजेता घोषित भइन् उनी। मिस नेपाल बनेसँगै नाम कमाइन्। सुविधा सम्पन्न लण्डन शहरभन्दा अस्तव्यस्त काठमाडौं शहर प्यारो लाग्यो उनलाई। त्यसैले आफ्नो कर्मथलोका लागि नेपाल नै रोजिन्। मिस नेपाल भइसकेपछि मिस नेपालको टाइटलपछि उनका लागि अवसरका ढोकाहरू खुला भइदिए।

‘मैले बेलायतमा पढ्दा प्रोफमिङ आर्ट पढेकी थिएँ। तर अभिनेत्री बन्न होइन रमाइलोको लागि पढेकी थिएँ। मिस नेपाल भएपछि नै अभिनयप्रति रुचि जागेको हो। अभिनयमा आउन मिस नेपाल प्याल्टफर्म बनिदियो। अभिनय क्षेत्रमा आउन केही सजिलो भयो।’

फिल्म ‘गाजलु’ बाट उनले फिल्मी करियरको सुरुवात गरिन्। डेब्यू फिल्ममा अभिनेता अनमोल केसीसँग सहकार्य गरिन्। तर, पहिलो फिल्म सोचे झैं सफल भएन। फिल्मले सफलता नदिए पनि उनी निराश भइनन्। बरू सिकाईको रूपमा लिइन्। आफ्नो अभिनयलाई निखार्न कम्मर कसेर लागिन्। अभिनय प्रशिक्षण लिन कहिले थिएटर त कहिले मुम्बई पुगिन् उनी।

उनले ‘बाँध मायाले’, ‘पोइ पर्‍यो काले’, ‘जस्ट एनोदर लभ स्टोरी’ र ‘रोमियो एण्ड मुना’ जस्ता फिल्ममा देखिइन्। ती फिल्महरूले पनि ‌औसत व्यापार गरे। फिल्मले व्यवसायिक सफलता नपाए पनि सृष्टिको अभिनयको चर्चा भयो।

सृष्टि भन्छिन्, ‘फिल्मको व्यावसायिक सफलता/असफलताले मलाई खासै फरक पार्दैन। बरू मैले आफूले निभाउने पात्रबाट के सिके भन्ने कुराले अर्थ राख्दछ। मैले छनोट गरेर नै फिल्ममा अभिनय गर्छु। टिम र कथा मन परेर नै मैले काम गरेको हुन्छु। त्यसैले यस्ता कुरामा कहिले पनि पछुतो गर्दिनँ। अलिकति फिल्म निर्माताप्रति भने दु:ख लाग्छ।’

हाल उनको ‘चिसो एस्ट्रे’ सहित ६ वटा फिल्म रिलिजको पर्खाइमा छन्। चिसो एस्ट्रे भने चैत ४ देखि प्रदर्शन हुदैछ।

‘द सिक्रेट्स अफ राधा’ मा सृष्टि मुख्य भूमिकामा छिन्। अर्को वर्ष रिलिज  तय भएको उक्त फिल्म फिल्म महिला केन्द्रित फिल्म हो। पछिल्लो समय नेपालमा पनि महिला केन्द्रित फिल्महरू बढिरहेको उनले बताइन्।

‘भाग्य र मेहनेतले मैले राधामा काम गर्न पाए। यस फिल्मले महिला सशक्तीकरणको विषयवस्तु उठाएको छ। पछिल्लो समय महिला केन्द्रित फिल्महरू बन्ने क्रम बढ्दो छ। समानताको कुराहरू आइरहेका छन्।’

उनी फिल्मलाई समाजको बिम्ब मान्छिन्। फिल्मबाट पहिलेको समाज र दृष्टिकोण बुझ्न सकिने उनको बुझाइ छ।

‘हामीले फिल्मको माध्यमबाट नभेटेका पात्रहरूको भूमिका निभाउन पाउँछौँ। जसबाट जीवनका फरक फरक आयामहरू बुझ्न पाउँछौ। मेरो लागि धन भनेको यही हो। यस्तै कुराले मलाई यो क्षेत्रप्रति झन सम्मान बढेर आएको छ,’ उनले सुनाइन्।

‌+++

सृष्टि केही वर्षदेखि अभिनेता सौगात मल्लसँगको प्रेमसम्बन्धमा छिन्। सौगातकै कारण सृष्टिलाई फिल्मको लागि अफर बढेको गसिप छ फिल्मी बजारमा। तर सृष्टि भने यो कुरा अस्विकार गर्छिन्।

आफ्नै अभिनयका कारण फिल्मको अफरहरू आउने गरेको उनले बताइन्।

‘मैले खासै यस क्षेत्रको मान्छेहरू चिन्दिनँ। कुनै फिल्ममा उहाँकोबाट अफर आउँछ। तर सम्रगमा उहाँले नै गर्दा मैले फिल्म खेल्न पाइरहेको भने होइन। म मान्दिनँ। उहाँ पनि यस कुरामा सहमत हुनुहुन्नँ,’ सृष्टिले भनिन्, ‘उहाँसँग जोडिएकै कारण मेकरहरू मलाई फिल्ममा लिनुहुन्छ जस्तो लाग्दैन। मेरो पनि केही देखेर नै अफर गर्नुहुन्छ होला नि।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell