PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

पल शाहबाट पीडित भएजस्तै पछिल्लो सात महिनामा मात्रै ५ सय भन्दा धेरै किशोरीमाथि यस्तै अपराध !



सविन ढकाल

पल शाहबाट पीडित भएजस्तै पछिल्लो सात महिनामा मात्रै ५ सय भन्दा धेरै किशोरीमाथि यस्तै अपराध !

काठमाडौं : सहमतिमै पनि १८ वर्ष मुनिका बालिकासँग यौन सम्बन्धलाई कानुनले निषेध गरेको छ। कलाकार पल शाह पक्राउ परेपछि कानुनको यही प्रावधानलाई लिएर चर्को बहस जारी छ।

सहमतिमा भएको यौन सम्पर्कको आधारमा शाहलाई पक्राउ गर्नु गलत भन्नेहरु पनि छन्। यतिमात्र होइन, पीडित किशोरी विरुद्ध टिकटकदेखि फेसबुकसम्म भिडियो र टेक्स्टहरु समेत लगातार आइरहेको छ। सेलिब्रेटी छवी बनाएका शाहको कृत्यलाई कानुनले अपराध मान्छ। तर, उनका फ्यानहरु उनको कृत्यलाई अपराध मान्न तयार छैनन्। त्यसैले उनको बचाउमा तर्क/कुर्तक गरिरहेका छन्। कानुनी व्यवस्था नै 'गलत' भएसम्मको व्याख्या उनीहरुको छ।

कम उमेरका बालिकासँग जबर्जस्ती करणीको मुद्दामा तानिएका पल शाह पहिलो पुरुष होइनन्। प्रत्येक वर्ष हजारौं बालिका जबर्जस्ती करणीको सिकार भइरहेका छन्। बलात्कार मात्र होइन कतिपयको त हत्यासम्मै भएको छ अपराधको पोल खुल्ने डरमा। प्रहरी अनुसन्धानमा ललाई फकाई गरेर करणी गरिएको घटना पनि उत्तिकै पाइन्छ। पल शाहको अहिलेको केस लोभ र प्रेम जालमा पारेर भएको करणी सम्बन्धी हो।

चालु आर्थिक वर्षको माघ महिनासम्म ८ सय ५६ जनाको जवर्जस्ती करणी भएको तथ्याङ्क छ। जसमा सबैभन्दा धेरै ११ देखि १६ वर्ष उमेरका बालिका रहेका छन्। पल शाहबाट पीडित भनिएकी बालिकाको उमेर पनि ११ देखि १६ वर्ष उमेर समूहभित्रकी हुन्।

जुन दिन पल शाह प्रहरी कार्यालय तनहुँमा पुगेका थिए, त्यसै दिन मोरङ जिल्ला प्रहरीले झन्डै यस्तै प्रकरणमा एक अभियुक्तलाई सार्वजनिक गर्दै थियो बालिका बलात्कारको घटनामा। मोरङमा प्रलोभनमा पारेर करणीमात्र भएन, बालिकाको हत्या नै भएको थियो।

लेटाङ नगरपालिका वडा नम्बर ८ ज्यामिरेकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोपमा प्रहरीले त्यहीँका ६४ वर्षीय दीपक गिरीलाई सार्वजनिक गरेको थियो। कक्षा ६ मा पढ्ने बालिका फागुन ११ गते विद्यालयबाट नफर्किएपछि आफन्तले प्रहरीमा खबर गरेका थिए। त्यसपछि खोजी गर्दा दुई दिनपछि घरदेखि तीन किलोमिटर दक्षिण लेटाङ नगरपालिका वडा नम्बर ८ कै लाल हिरा सामुदायिक वनमा बालिकको शव ढुङ्गाले छोपेको अवस्थामा भेटिएको थियो। त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले अभियुक्त गिरीलाई नियन्त्रणमा लिएको हो।

यस घटनामा बालिकालाई प्रलोभनमा पारेर करणी गरिएको प्रहरीको दावी छ। पल शाह प्रकरण र यस घटनामा पीडित भएकी बालिकाको उमेर तीन वर्षले फरक देखिन्छ।

'१८ वर्षभन्दा कम उमेरकी बालिकाको उमेर जति भए पनि करणीको एउटै परिभाषामा हुन्छ। इच्छाविपरीत वा सहमति जे भए पनि त्यो जवर्जस्ती करणी नै हो,' वरिष्ठ अधिवक्ता लवकुमार मैनालीले भने, 'उमेर र व्यक्ति हेरेर करणीको परिभाषा फरक हुँदैन।' पल प्रकरणमा उनका पक्षधरहरु जबर्जस्ती करणीमा फरक व्याख्या चाहिरहेका छन्।

पल शाह दुई साता भइसक्यो हिरासतमा रहेको। उनी हिरासतमै हुँदा मोरङमा फेरि उस्तै घटना भयो। यस पटक बालिकाको उमेर निक्कै कम देखियो। डेढ वर्षकी बालिकाको बलात्कारपछि हत्या भयो। मोरङ सुन्दर हरैचा नगरपालिका वडा नम्बर ७ बस्ने २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई नियन्त्रणमा लियो।

फागुन २७ गते घरबाट खेल्दै गरेको अवस्थामा बालिका हराएकी थिइन्। साढे ६ बजेतिर मोरङ सुन्दरहरैचा नगरपालिका वडा नम्बर ७, गणेशपुरमा बनमारा, बयर घारीमा भेटिएकी थिइन्। शरीरमा चोट लागेको अवस्थामा बालिका भेटिएकी थिइन्। भोलिपल्ट उनको मृत्यु भएको थियो।

घरमा जाँदा बालिका छेउमा एक्लै खेल्दै गरेको उनले देखे। वरिपरि कोही पनि नभएको मौका छोपी नाबालकलाई बोकेर बनमारा झाडीमा पुर्‍याएको प्रहरी अनुसन्धानमा खुलेको छ। दुवैले करणी गरेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

प्रत्येक वर्ष हजारभन्दा धेरै बालिकामाथि जवर्जस्ती करणी

पछिल्लो समय देशभर जवर्जस्ती करणीको घटना बढ्दै गएको छ। चालु आर्थिक वर्षको माघ महिनासम्म ८ सय ५६ जनाको जवर्जस्ती करणी हुँदा ११ देखि १६ वर्षसम्म ५ सय ८ जना बालिकाको यसको सिकार भएको देखिन्छ। १० वर्ष मुनिका १ सय ५९ जना बालिकाको करणी भएको प्रहरीको तथ्याङ्कले देखाएको छ। त्यस्तै १ जना बालकको पनि करणी भएको छ। १७ देखि १८ भित्रको उमेरमा करणी हुनेको सङ्ख्या १ सय ८९ रहेको छ।

आर्थिक वर्ष २०७७/७८ मा १ हजार ६ सय ६५ जना बालिकाको जवर्जस्ती करणी भएको छ। जसमा ११ देखि १६ वर्ष उमेरभित्रका बालिकाको सङ्ख्या १ हजार १६ रहेको छ। त्यस्तै, १० वर्षमुनिका बालिकाको सङ्ख्या ३ सय ५ रहेको छ। १७ देखि १८ वर्षको उमेर समूहका ३ सय ४४ जना रहेका छन्। यो वर्ष एक जना १० वर्ष मुनिका बालकसमेत करणीमा परेको प्रहरीको तथ्याङ्कले देखाएको छ।

आर्थिक वर्ष २०७६/७७ मा १ हजार ३ सय ९३ जनाको करणी भएको देखिन्छ। जसमा १० देखि १६ वर्ष उमेर समूहका बालिका नै सबैभन्दा धेरै रहेका छन्। यो वर्ष यस समूहमा ८ सय १ जना रहेका छन्। १० वर्ष मुनिका बालिकाको सङ्ख्या २ सय ७३ रहेको छ। १७ देखि १८ वर्षका बालिकाको सङ्ख्या ३ सय १९ रहेको छ।

यसरी करणी गरेको अनुसन्धानमा पुष्टि भएमा उमेर समूह अनुसार सजाय भने फरक रहेको छ। दश वर्षीय भन्दा कम उमेरकी बालिका भए जन्म कैद सजाय हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell