रसियाले युक्रेनमाथि आक्रमण गरेको आज २० दिन पुगेको छ। पूर्वी युक्रेनको दुई विद्रोही क्षेत्रलाई रसियाले ‘स्वतन्त्र राज्य’को मान्यता दिएसँगै सुरु भएको युद्ध जारी छ। लाखौं मानिस युक्रेनबाट पलायन हुँदा रसिया पनि राष्ट्रपति भ्लादमीर पुटिनको आलोचना बढ्दै गएको छ।
युक्रेनका धेरै क्षेत्रमा युद्ध जारी रहँदा दुई देशबिच वार्ता पनि भइरहेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेनस्कीले अहिले रसियासँग ‘यथार्थपरक छलफल’ भइरहेको बताएका छन्। उनले रसियामाथि विजयको लागि सबै नागरिकको साथ हुनुपर्ने बताएका छन्।
वार्तामा सहभागी युक्रेनी प्रतिनिधि मिखाइलो पोदलियाकले दुई देशबिच अन्तरविरोध रहे पनि सम्झौताको अवस्था रहेको बताएका छन्। रसियाले युक्रेनलाई नेटोको सदस्यता नलिन र दुई विद्रोही क्षेत्रलाई ‘स्वतन्त्र राज्य’को मान्यता दिन आग्रह गर्दै आएको छ।
युद्ध जारी रहेको अवस्थामा स्लोभेनिया, पोल्यान्ड र चेक रिपब्लिकका प्रधानमन्त्री युक्रेन पुगेका छन्। मंगलवार चेक रिपब्लिकका प्रधानमन्त्री पेट्रे फिएला, पोल्याण्डका प्रधानमन्त्री मतेउसुच मोराविकी र स्लोभेनियाका प्रधानमन्त्री जेनेज जान्सासहितको टोली युक्रेन पुगेको हो।
लामो र खतरनाक रेलको यात्रा गर्दै उनीहरु किभ पुगेका हुन्। उनीहरुले जेलेन्सकीसँग पछिल्लो अवस्थाबारे छलफल समेत गरेका छन्। रसियाले आक्रमण गरेपछि युरोपियन युनियनबाट युक्रेन पुग्ने उनीहरु पहिलो उच्च पदाधिकारीको टोली हो।