PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

गद्दी बैठकमा ऐतिहासिक तस्विर प्रदर्शनी



पहिलोपोस्ट

गद्दी बैठकमा ऐतिहासिक तस्विर प्रदर्शनी

काठमाडौं : हनुमानढोका दरबार संग्रहालय विकास समितिले गद्दी बैठकको तल्लो तलामा नेपाल एकीकरणदेखि लोकतन्त्र स्थापनासम्मका तस्वीर प्रदर्शनी भइरहेको छ।

गद्दी बैठकसँगै फोटोग्राफरहरू दीर्घमान चित्रकार, गणेशमान चित्रकार र किरणमान चित्रकारले खिच्नुभएका १०० वर्षभन्दा पुराना तस्वीर पनि प्रदर्शनीमा राखिएका छन्।

यसअघि माघ दोस्रो साता सुरु गर्न लागिएको प्रदर्शनी कोरोना महामारीको तेस्रो लहर बढेपछि स्थगित गरिएको थियो। कोरोना महामारी कम भएपछि गत फागुन २७ गते शुक्रबारदेखि प्रदर्शनी सुरु गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए।

प्रदर्शनीमा नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले प्रयोग गरेका हातहतियारलगायत दस्तावेज एवं प्रजातन्त्र स्थापना, पुनःस्थापनाका विभिन्न घटनाक्रमका तस्वीरको प्रतिलिपि राखिएको छ। प्रदर्शनीले त्यसबेलाको अवस्था जान्न सहयोग गर्ने विश्वास गरिएको छ।

यो प्रदर्शनीसँगै गद्दी बैठक पनि सर्वसाधारणका लागि खुला गरिएको छ। संग्रहालय प्रवेशकै टिकटले विशेष प्रदर्शनी र गद्दी बैठकमा पनि जान दिइएको छ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि केही दिन गद्दी बैठक हल सर्वसाधारणका लागि खुला गरिएको थियो। भूकम्पसँगै बन्द रहेको गद्दी बैठक सात वर्षपछि सर्वसाधारणका लागि खुला गरिएको हो।

पृथ्वीवीरविक्रम शाह राजा हुँदासम्म विशिष्ट विदेशी पाहुनाको स्वागत एवं ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न गद्दी बैठक उपयोग गरिन्थ्यो। राजदरबार नारायणहिटी सरेपछि गद्दी बैठक इन्द्रजात्रामा राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायत विशिष्ट व्यक्ति आएर बस्ने स्थलका रूपमा उपयोग हुने थालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell